आर्थिक समृद्धिको माध्यम पर्यटन: भट्ट अध्यक्ष, गैरआवासीय नेपाली संघ

भवन भट्ट अध्यक्ष, गैरआवासीय नेपाली संघ

 

आर्थिक समृद्धिको माध्यम पर्यटन
नेपाली अर्थतन्त्रका विविध खम्बामध्ये सबैभन्दा छिटो मुलुकलाई समृद्ध बनाउन सक्ने उद्योग पर्यटन हो । हामी एक विकासशील मुलुकका रूपमा धेरै पक्षमा एक साथ काम गर्नुपर्नेछ । एकातर्फ पूर्वाधारको कमी छ, जनताको जीवनस्तर माथि उठाउनु छ । यसमा टेवा पुर्‍याउने माध्यम आर्थिक वृद्धि हो । अर्कोतर्फ नेपाल सरकारले अहिले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नाराका साथ काम गरिरहेको छ ।

सन् २००३ देखि गैरआवासीय नेपालीहरू संगठित रूपमा मुलुकको समृद्धिका लागि सक्रिय भएका छौँ । नेपाल आर्थिक विकास र समृद्धिका लागि ठूलो सम्भावना बोकेको मुलुक हो । तर, अपेक्षित विकास हुन सकेको छैन । त्यसकारण पर्यटनको विकासबाटै तीव्र आर्थिक विकास गर्न सम्भव छ भन्ने हाम्रो मान्यता छ ।

अतिथि देवो भवः

संघले लामो समयदेखि अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनमा योगदान गरिरहेको छ । एनआरएनएले चलाएको ‘एडिबी’ (अतिथि देवो भवः) नेपाली पर्यटनका लागि एक ल्यान्डमार्क थियो । संसारमा आफ्नो देशलाई कसरी परिचित बनाउने भन्ने सन्दर्भमा यो नारालाई छनोट गरिएको हो । मलेसियाले आफूलाई ‘ट्र“ली एसिया’ भनेर चिनाउँछ, ताइवानले ‘कलर अफ एक्स्पेरियन्स’ भन्दै आफ्नो परिचय दिन्छ । भारतले ‘इन्क्रिडेवल इन्डिया’ भनेर पर्यटन प्रवर्द्धन गर्छ ।

त्यसैगरी भुटानले संसारका सबैभन्दा खुसी जनताका रूपमा पर्यटनको प्रवर्द्धन थाल्यो । आज भुटानले कम्तीमा २ सय डलर प्रतिदिन खर्च गर्ने पर्यटकलाई उसको देशमा पर्यटकका रूपमा भित्र्याउँछ । नेपालमा पर्यटक आकर्षित गर्ने मुख्य माध्यम आतिथ्य नै हो । सोही कारण हामीले पनि पर्यटनको चिनारीका लागि अतिथि देवो भवः प्रयोग ग-यौँ । सन् २०२० को सफलताका लागि पनि यो नारा उपयुक्त हुनेछ ।

नमस्ते अभियान 
गैरआवासीय नेपाली संघको सक्रियतामा पर्यटक आकर्षित गर्न केवल अभियान मात्र सञ्चालन गरिएको छैन, सीमित स्रोतसाधनका बाबजुद अनेक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । नेपालमा पर्यटकले सबैभन्दा पहिले दर्शन गर्ने विमानस्थलमा एकमहिने सरसफाइ अभियानदेखि अर्को महत्वपूर्ण कार्यक्रम नमस्ते अभियान हो । नमस्ते नेपालमा गरिने अभिवादन, संसारमा नेपाल चिनाउने सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । एनआरएनको ८० मुलुकमा सञ्जाल विस्तार भइसकेको छ । हाम्रो सानो प्रयासले पनि नेपालमा ठूलो प्रभाव पर्छ ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गरेको छ । सरकारको यो अभियानलाई सफल बनाउन सन् २०१९ देखि नै प्रवद्र्धन थाल्नुपर्छ । त्यसकारण सन् २०१९ लाई हामीले प्रवद्र्धन वर्षका रूपमा मनाउन थालेका हौँ ।

सबै देशमा तीन फेस्टिभल 
प्रवद्र्धन वर्षलाई सफल बनाउन हामी ८० वटै देशमा सक्रिय रूपमा लाग्दै छौँ । त्यसक्रममा ती सबै देशमा हामी महत्ववपूर्ण तीनवटा इभेन्टलाई प्राथमिकताका साथ मनाउँदै छौँ । त्यसमध्ये एउटा ‘बुद्ध नेपाल’ अभियान हो । सगरमाथा दिवसको अवसर पारेर ‘एभरेस्ट नेपाल’ मनाउने निर्णय भएको छ ।

यसबाहेक ‘नेपाल फेस्टिभल’ नाममा सम्भव भएसम्म सबै सहर, नभए हरेक देशमा प्रत्येक वर्ष यी कार्यक्रम सञ्चालन हुनेछन् । यी कार्यक्रमले संसारमा नेपाल चिनाउनेछन् । विगतमा एनआरएनएमार्फत ‘एक साथी घर पठाऔँ’ भन्ने अभियान चलाइएको थियो । यो नेपाल पर्यटन बोर्डको कार्यक्रम थियो । यसमा पनि हामीले सहयोग गरेका थियौँ ।

प्रभाव मूल्यांकन र तथ्यांक 
विगतमा एनआरएनएमार्फत सञ्चालित अभियानले कति प्रभाव पा¥यो भन्नेबारे यकिन तथ्यांक कसैसँग पनि छैन । विगतको यही अनुभवबाट पाठ सिक्दै अब हामी एनआरएनएको पहलमा कति पर्यटक नेपाल पुगे, त्यसको तथ्यांक राख्दै छौँ । यसका लागि हामीले एउटा ‘ब्याच’ बनाएका छौँ ।

यो ब्याच हामीले हरेक मुलुकको गैरआवासीय नेपाली संघलाई न्यूनतम मूल्यमा बिक्री गर्छौं । त्यो ब्याच जुन साथीले पर्यटक नेपाल पठाउँदै हुनुहुन्छ, उहाँले पर्यटकलाई दिएर पठाउनुहुनेछ । यो ब्याच ‘सुरक्षित पर्यटन’का लागि पनि प्रभावकारी माध्यम बन्नेछ । अर्कोतर्फ एनआरएनएको प्रयासमा कति पर्यटक नेपाल आए भन्नेबारे तथ्यांकसमेत प्राप्त हुनेछ ।

सुरक्षित पर्यटनको अवधारणा 
पर्यटक भौतिक, मानसिक तथा हरेक दृष्टिकोणबाट अर्को मुलुकमा जाँदा सुरक्षित हुनुपर्छ । नचिनेको देशमा जाँदा अपुग हुने सूचनाको अभावबाट पनि पर्यटक प्रभावित हुनु हुँदैन । हामी आफैँ एक गाउँबाट अर्को गाउँमा पुग्दा अलमल परिरहेका हुन्छौँ, नयाँ भाषा, नयाँ परिवेश, नौलो नियमकानुन भएको स्थानमा पुग्दा पर्यटक अलमल हुनु स्वाभाविक हो । हामीले वितरण गर्ने ब्याच सुरक्षित पर्यटनको अवधारणा कार्यान्वयनमा पनि सहयोगी साबित हुनेछ ।

हुन त नेपालमा हुने ठगी, पर्यटकलाई हुने सास्तीभन्दा फ्रान्स, स्पेनलगायत युरोपका देशमा बढी हुन्छ । तर, त्यहाँ धेरै पर्यटक पुगिरहेका छन् । यसको मतलब हामीले नेपाल सुरक्षित छ भनेर स्थापित गराउन पनि अझै धेरै काम गर्नु छ । हामी एउटा मापदण्ड बनाउँदै छौँ । त्यसमा ट्याक्सी कम्पनी, होटेल, ट्राभललगायत नेपालमा रहने सरोकारवालालाई यस मापदण्डमा समावेश गर्छौं । त्यस कम्पनीमा हामी एउटा लोगो टाँस्छौँ । पर्यटकले जब आफ्नो साथमा रहेको ब्याच र लोगोको तुलना गर्दा मिल्छ, त्यहाँ उसले सेवा लिँदा सुरक्षित भइन्छ, ठगी हुँदैन भन्ने ग्यारेन्टी दिलाउँछौँ । यसरी सुरक्षित पर्यटनका लागि पनि हामी काम गर्दै छौँ ।

आतिथ्यको देश 
गैरआवासीय नेपालीले पठाएको पर्यटकसँग हुने ब्याच लगाएर जुन पर्यटक नेपाल आउँछन्, उनीहरूलाई मुसुक्क हाँसेर ‘नमस्ते’ गरिदिऔँ । हामीले सोचेको अवधारणा पनि यही हो । जब हामी मावली, ससुराली जान्छौँ, तब खुसी हुन्छौँ किन ? किनकि त्यहाँ हामीलाई विशेष आतिथ्य मिल्छ । भान्जाभान्जी, ज्वाइँसाहेब भन्दै अतिरिक्त महत्व दिइन्छ । यसको मतलब जहाँ सम्मान मिल्छ, मानिस त्यहाँ जाँदा खुसी हुन्छ । ऊ पटक–पटक जान लालायित पनि हुन्छ ।

यही मान्यताका साथ यो मुलुकलाई आतिथ्यको देशका रूपमा चिनाउने हाम्रो लक्ष्य हो । एकातर्फ नेपालमा खाना, बस्न, यातायात, पसलहरूमा सुरक्षित महसुस गर्ने र नेपालमा जहाँ भेटे पनि सबैले सम्मान गर्ने, नमस्ते गर्ने जुन आतिथ्य प्राप्त गर्छ, त्यसपछि कुनै पनि पर्यटक नेपालबाट प्रभावित नभई स्वदेश फर्किनेछैन । पर्यटनमा भनिन्छ– एउटा मान्छेलाई प्रभावित पार्न सक्नुको मतलब कम्तीमा १५ जनालाई प्रभावित पार्न सक्नु हो ।

प्रेषक र प्रापकबीच समन्वय 

हामी सन् २०१९ लाई प्रवद्र्धन वर्षका रूपमा घोषणा गर्नुको मतलब आज गरेको प्रवद्र्धनात्मक अभियानको नतिजा केहीपछि आउन सक्छ । आज सञ्चालन गर्ने कार्यक्रमको प्रभाव अर्को वर्ष अझ सकारात्मक देखिनेछ भन्ने नै हो । यसका लागि विदेशबाट पर्यटक पठाउने हामी गैरआवासीय नेपाली र यहाँ प्राप्त गर्ने सरोकारवाला निकायबीच समन्वय हुनुपर्छ । नेपालभित्र सबैले पर्यटकलाई न्यानो आतिथ्य प्रदान गरौँ । विदेशमा हामी आफ्नै खर्चमा सक्रिय हुन्छौँ ।

अस्ट्रेलियाका मुख्य सहरमा नेपाल फेस्टिभल हुन्छ । जापानमा हामी अब तिजमा ‘रेड फेस्टिभल’ नाममा खास कार्यक्रम सञ्चालन गर्दै छौँ । जब महिला दिदीबहिनी रातो साडीमा सजिएर सडकमा देखिनेछन्, त्यसले मिडियादेखि धेरैको ध्यान आकर्षित गर्नेछ । यसरी सबैको संयुक्त प्रयासमा अगाडि बढ्ने हो भने सन् २०२० मा राखिएको २० लाख पर्यटक प्रतिवर्ष भिœयाउने लक्ष्य अवश्य पूरा हुनेछ ।


Facebook Comment


No ads found for this position