इलामका पर्यटकीय क्षेत्रमा सेप्टेम्बर १५ सम्म पर्यटकलाई प्रतिबन्ध

इलाम, १६ असार । भारतीय सीमा क्षेत्रमा रहेको सिंहलीला नेसनल पार्कले रेडपान्डाको प्रजनन समय भएको भन्दै इलामको सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि प्रतिबन्ध लगाएको छ ।
पर्यटकको हो–हल्लाले रेडपान्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै पर्यटक आउजाउमा प्रतिबन्ध लगाएको हो । पार्कले जुन १५ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाएको हो । इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको जौबारीका होटल व्यवसायी पेम्वा शेर्पाले बताउनुभयो ।
ilam_districtकञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आवतजावत गर्दै आएका थिए । नेसनल पार्कले तीन महिनासम्मका लागि पदमार्गमा प्रतिबन्ध लगाएपछि ट्रेकिङमा हिँडेका पर्यटक समस्यामा परेका छन् ।
दुर्लभ रेडपान्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएकाले मानवीय क्रियाकलापमा प्रतिबन्ध लगाएको नेसनल पार्कले जनाएको छ । पार्कले सूचना टाँस गरी तुम्लिङ–फालोट क्षेत्रको ४२ किमीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ । पर्यटकको हल्लाले वन्यजन्तुको प्रजनन र यौन क्रियाकलापमा बाधा पुग्ने भएकाले तीन महिनासम्म आवतजावत बन्द गर्ने गरेको सीमा क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् ।

भौतिक पूर्वाधारको अभावमा सीमावर्ती पर्यटकीयस्थलमा भारतको सिंहलीला नेसनल पार्क हँुदै सयौँ पर्यटक आउने गरेका थिए । नेसनल पार्कले प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवागमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।

कञ्चनजङ्घा, सगरमाथालगायतका हिमश्रिङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी हिमाली जीवनशैलीलगायतको अवलोकन गर्न सकिने सीमावर्ती नेपाली पर्यटकीय क्षेत्रमा विकासको अभावमा पार्कको प्रतिबन्ध खेप्न पहिलेदेखि नै बाध्य भएका छन् । पार्कको सिको गर्दै इलामको जमुनास्थित चोयाटार सामुदायिक वनले समेत रेडपान्डाको प्रजनन समयमा पर्यटकलाई प्रतिबन्ध लगाउन थालेको छ ।


Facebook Comment


No ads found for this position