कञ्चनजंघा क्षेत्र भ्रमण गर्ने पर्यटक बढे

 सीताराम गुरागाईं  ताप्लेजुङ : विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८५८६ मिटर) क्षेत्रको भ्रमणका लागि पर्यटक आउन थालेका छन् । पर्यटकीय सिजन सुरु भएसँगै विदेशीहरू कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि आउन थालेका हुन् । पर्यटक आउन थालेसँगै कञ्चनजंघा पदमार्गमा पर्ने दोभान, मित्लुङ, सिवा, छिरुवा, घुन्सालगायत क्षेत्रमा चहलपहल बढेको छ । अरुबेला बन्द हुने सो क्षेत्रका होटलहरू पनि खुल्न थालेका छन् ।

यो सिजनमा हालसम्म विदेशी पर्यटकको तीनवटा टोली कञ्चजंघा आधार शिविरतर्फ प्रस्थान गरेको कञ्चजंघा संरक्षण क्षेत्रको घुन्सास्थित कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताए । चार जना अस्ट्रेलियन र दुई जनाको रसियन टोलीलाई भदौ २६ गते र दुई जनाको जर्मनी टोलीलाई बुधबार घुन्सामा स्वागत गरिएको शेर्पाले बताए । ‘अरु दुई जना स्विट्जरल्यान्डका नगरिक भने घुन्सासम्म मात्र आएका छन् । उनीहरू घुन्सा आधारभूत विद्यालयमा स्वयम्सेवक शिक्षकका रूपमा आएका हुन् । यहीँबाट फर्कन्छन्’, उनले भने । प्रत्येक सिजनमा आउने पाहुनालाई घुन्सावासीले स्वागत गरेर पठाउने गरेका छन् ।

शेर्पाका अनुसार कञ्चनजंघाको पाङपेमा आधार शिविर गएका उनीहरू फेरि घुन्सा फर्किएर छिरुवा हुँदै सदरमुकाम फुङलिङ फर्कन्छन् । काठमाडौंबाट झापाको चन्द्रगढीसम्म हवाईजहाजमा र त्यहाँबाट फुङलिङसम्म आएका उनीहरू फुङलिङबाट पैदलमार्ग भएर गएका हुन् । उनीहरू पूरै क्षेत्र भ्रमणका लागि आएको घुन्साका होटल व्यवसायी डन्डु शेर्पाले बताए । कञ्चनजंघा क्षेत्रको पूरा भ्रमण गर्न १८ देखि २१ दिन लाग्छ । पाङपेमा बेस क्याम्प गए २१ र नगए १८ दिन लाग्छ । जिल्लाको एकमात्र सुकेटार विमानस्थल सुचारु हुन नसक्दा विदेशीहरू सडकमार्गबाटै आउन बाध्य छन् । मौसम खराबीका कारण गत असारयता हवाई सेवा बन्द छ । मौसममा सुधार आए उडान सञ्चालन गर्न सकिने विमानस्थल प्रमुख विकास राईले बताए ।

पर्यटक आउन थालेसँगै कञ्चनजंघा पदमार्गमा पर्ने दोभान, मित्लुङ, सिवा, छिरुवा, घुन्सालगायत क्षेत्रमा चहलपहल बढेको छ ।

कञ्चनजंघा क्षेत्रमा गतसाल जस्तो पहिरोले बाटो बिगारेको छैन । तर घुन्सादेखि खम्बाछेनको बिचमा रहेको घुन्सा खोलाको पुल पनि बगाएका कारण केही समस्या छ । त्यहाँ अस्थायी फड्के थापेर हिड्ने बाटो निकालेको पर्यटन सहायक शेर्पाले बताए । तीन हजार एक सय मिटर उचाइमा रहेको घुन्साबाट चार हजार दुई सय मिटर उचाइको खम्बाछेनसम्म अतुलनीय प्राकिृतिक हिमाली सौन्दर्यको दृश्यावलोक गर्न सकिन्छ । त्यहाँबाट पाङपेमा आधार शिविर माथिल्लो हिमाली क्षेत्र भएकाले वि श्राम गर्दै जानुपर्ने उनले बताए । भ्रमणको अन्तिम बिन्दु पाङपे ५२ सय मिटर उचाइमा छ ।

ताप्लेजुङ सदरमुकाममा पछिल्ला वर्षमा सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको छ । फुङलिङबाहेक मित्लुङ, सिँवा, छिरुवा, लेलेप, घुन्सालगायत स्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी स्थानीयले होटल सञ्चालन गरेका छन् । ३१ सय मिटर उचाइको घुन्सा, ४२ सय मिटरको खम्बाछेनमा समेत तातोपानी, न्यानो कपडालगायत व्यवस्था छ ।

खम्बाछेनमा रहेको पुल बाढीले बगाएको महिना दिनभन्दा बढी भइसकेको छ । पुल निर्माणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र जिल्ला समन्वय समितिमा अनुरोध गरे पनि पुल बनाउन सहयोग नपाएको डन्डुले गुनासो गरे । यहाँ आउने पर्यटकबाट उठेको रोयल्टीबापतको रकम विभागले सोही क्षेत्रमा खर्च गर्ने गरी जिससमा पठाउने गरेको भए पनि अन्तै खर्च हुने गरेको छ । उक्त रकम कञ्चनजंघा क्षेत्रकै विकास र प्रचारप्रसारमा खर्चिनुपर्नेमा लेलेपका पाशाङ शेर्पाले जोड दिए ।

गत वर्षको तथ्यांकअनुसार कञ्चनजंघा क्षेत्रमा चारदेखि पाँच सयको संख्यामा विदेशी पर्यटक आउँछन् । ती सँगसँगै गाइड र पोर्टर हुन्छन् । विगत वर्षमा चैत र वैशाखमा आरोहण गर्ने र असोज र कात्तिकमा भ्रमण गर्नेको संख्या उल्लेख्य थियो । तर दुई वर्षदेखि हिमाल आरोहण भने हुन सकेको छैन । यसपटक आरोहण गर्न आएको तीन जना महिलाको टोली चुचुरोमा नपुगी फर्किएको थियो ।


Facebook Comment


No ads found for this position