यस्तो छ पाथीभरा देवीको महिमा (फाेटाे/भिडियाे)

 भरतबन्धु थापा

पाथीभरा देवीको मन्दिर ताप्लेजुङस्थित विशिष्ट महत्व बोकेको धार्मिक गन्तव्य हो । समुद्री सतहबाट ३,७९४ मिटरको उँचाइमा रहेको पाथीभरा माताको दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

बाह्रै मास चिसो हावापानी हुने यो पहाडी थुम्को अन्न भरिएको पाथी जस्तै देखिने भएकाले पाथीभरा नाम राखिएको हो । पाथीभरा देवीलाई लिम्बू समुदायले ‘मुक्कुमलुङ युमा’ नामले पुकार्छन् ।

हेलिकप्टरबाट देखिएको पाथीभरा मन्दिर रहेको थुम्को र कञ्चनजंघा हिमाल ।

पाथीभरामा भेडा, बोका, पाठीको बलि दिन देशका विभिन्न भेगका साथै भारत र भूटानबाट समेत दर्शनार्थी आउँछन् । किंवदन्ती अनुसार देवीको इच्छा अनुसार परापूर्वकालदेखि नै मन्दिरमा बलि दिन थालिएको हो । मनोकांक्षा पूरा भएपछि बत्ती बाल्न आउने भक्तजन पनि उत्तिकै हुन्छन् ।

पाथीभरा क्षेत्र हिमाली दृश्यावलोकनका लागि पनि उपयुक्त छ । मन्दिर क्षेत्रबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालका साथै साउथ कञ्चनजंघा, यालुङखाङ, मकालु, कुम्भकर्ण लगायतका हिमाल देख्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म दैनिक रात्रि बस चल्छ । करीब २० घण्टाको यात्रापछि फुङलिङ पुगिन्छ । हवाई यात्राबाट जाने हो भने काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नेपाल वायुसेवाको उडान हुन्छ । फुङलिङ र सुकेटारबाट जीप मार्फत करीब दुई घण्टामा तल्लो फेदी र त्यहाँबाट सीधै उकालो करीब पाँच घण्टा हिंडेपछि पाथीभरा मन्दिर आउँछ ।

मन्दिर परिसरमा तीर्थालुलाई बासको सुविधा छैन । मन्दिरदेखि साढे एक घण्टाको दूरीमा रहेको फेदी र देउरालीमा भने खाने र बास बस्ने होटल, लज उपलब्ध छन्

पाथीभरा मन्दिरमा भक्तजनले आफ्नो मनोकांक्षा पूरा होस् भनेर र पूरा भएपछि चढाएका घण्ट र त्रिशूल ।
पाथीभरा देवी ।

पाथीभरा मन्दिर परिसर ।

भक्तजनहरु पाथीभरा मन्दिरमा बत्ती बाल्ने तयारी गर्दै ।


Facebook Comment


No ads found for this position