चीन र नेपालबीच पर्यटक भित्र्याउन सम्झौता

काठमाडौं । चीनको सिचुवान प्रान्त र नेपालबीच पर्यटक आदानप्रदान गर्न मंगलबार पोखरामा द्विपक्षीय सम्झौता भएको छ । चिसुवान र नेपालका तीन/तीन ट्राभल एजेन्सीले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

सिचुवान प्रान्तको पर्यटन विकास आयोगले प्रवद्र्धनात्मक कार्यक्रम लिएर पोखरा आएका बखत सम्झौता भएको हो । ‘सिचुवान, पान्डाभन्दा धेरै’ नाम दिइएको प्रवद्र्धनात्मक कार्यक्रममा सिचुवान प्रान्तका प्रतिनिधि, पर्यटन व्यवसायी, एयरलाइन्स कम्पनी र सञ्चार माध्यमका प्रतिनिधिको सहभागिता थियो । पान्डाहरूको सहरका रूपमा चिनिने सिचुवान प्रान्तले पोखरामा पहिलोपटक प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले महाभूकम्पले धराशायी भएको पर्यटन उद्योगलाई सहयोग पुग्ने गरी चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको बताए । ‘भूकम्प गएको वर्ष ६० हजार चिनियाँले नेपाल भ्रमण गरे,’ उनले भने, ‘२०१६ मा बढेर ९० हजार पुगेको छ ।’
सिचुवानका सहायक गभर्नर ज्हु खेजिनले सिचुवान र नेपाल नजिकै भएकाले पर्यटक आदानप्रदान गर्न कठिनाइ नहुने बताए । ‘म साढे दुई घण्टामै नेपाल आइपुगें,’ उनले भने, ‘यति नजिक हुँदा पर्यटक आदानप्रदान गर्न सजिलो हुन्छ ।’ उनले नेपालका पर्यटकलाई सिचुवान आउन आग्रह गर्दै सिचुवानका धेरैभन्दा धेरै नागरिकलाई नेपाल जान आहान गर्ने जनाए । कार्यक्रममा सिचुवानका तर्फबाट पर्यटन विकास आयोगका प्रतिनिधि मिआओ युयानले त्यहाँको भूगोल, संस्कृति, रहनसहन, मुख्य पर्यटकीय क्षेत्र, पूर्वाधारबारेमा व्याख्या गरेका थिए । नेपालका तर्फबाट भने नेपाल पर्यटन बोर्डका मिडिया प्रतिनिधि शरद प्रधानले प्रस्तुति राखेका थिए ।


Facebook Comment


No ads found for this position