जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पर्ने छाडे

६ असार, काठमाडौं । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ ।

सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए । ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो’, उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ ।’ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए ।

विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन् । ‘हिउँले सबैतिर सेताम्मे देखिन्थ्यो । आजभोलि त खै हिमालमा समेत हिउँ छैन ? ’ अपर पिसाङका याङ्डुङ गुरुङले भने, ‘६० वर्ष यही गाउँमा बिताइयो, कहिल्यै यस्तो भएको देखेको थिइनँ । आजभोलि किन यस्तो भएको होला ? ’ अाजको अन्नपूर्णमा समाचार छ ।

पहिले आठ फिटसम्म हिउँ पर्ने गरेको जानकारी गराउँदै खाङ्सारका कुमेर गुरुङ अचेल मुस्किलले एक फिट हिउँ पनि नपर्ने गरेको बताउँछन् । मनाङका गंगापूर्ण हिमाल, लमजुङ हिमाल, पिसाङपिकलगायत हिमालका आधाभन्दा बढी भाग कालो पहाडमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ । यसका कारण हिमशृंखला पग्लिएर हिमनदी बढ्न थालेका छन् ।

मनाङका हिमनदी पग्लने क्रम र जलवायु परिवर्तनका अन्य असर कुन गतिमा र कसरी भइरहेको छ भन्ने तथ्यांक हालसम्म आउन सकेको छैन । तर त्यहाँ बर्सौंदेखि बस्दै आएका स्थानीयले भने जलवायुको परिवर्तन प्रत्यक्ष रूपमा भोग्दै आएका छन् ।


Facebook Comment


No ads found for this position