जापान सरकारले नेपाल पर्यटन वर्ष–२०२० सफल बनाउन सघाउने

टोकियो- नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन जापानले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यही जनवरी ७ तारिखमा नेपाली राजदूतावास जापानले आयोजना गरेको नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री नोरिहितो नाकायामाले नेपाल भ्रमण वर्ष सफल बनाउन जापानले सहयोग गर्ने जानकारी गराउनुभएको छ ।
उपमन्त्री नाकायामाले नेपाल भ्रमण बर्षको शुभकामना दिँदै जापान र नेपालबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापनादेखि नै मैत्री सम्बन्ध प्रगाढ रहेको सो अवसरमा स्मरण गरे ।

जापानमा रहेको नेपाली राजदूतावासँग सहकार्य गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउन जापानले सहयोग गर्ने जापान सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत प्रतिबद्धतासमेत जनाएको छ ।
जापानस्थित नेपाली राजदूतावास, गैरआवासिय नेपाली संघ जापानलगायत संघ–संस्थाको सहकार्यमा नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक उद्घाटन कार्यक्रम राजधानी टोकियोमा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै जापानका लागि नेपाली महामहिम राजदूत प्रतिभा राणाले भ्रमण वर्ष सफल बनाउन सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको सो अवसरमा बताए ।
राजदूत राणाले नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिकसहित भाषिक रूपमा समेत विविधतापूर्ण रहेको बताए । करिब एक सयको संख्यामा विभिन्न क्षेत्रसँग सम्बन्धित जापानीहरूको उपस्थिति रहेको कार्यक्रममा राजदूत राणाले विश्व सम्पदा सूचीमा रहेको सर्वोच्च शिखर सगरमाथादेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनी, स्वयम्भूनाथ जस्ता क्षेत्रहरूको भ्रमण गरेर प्राकृतिक आनन्द लिन सकिने जानकारी गराए ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले नेपाल र जापानको नागरिक स्तरमा समेत सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्षमा पर्यटन कूटनीतिका रूपमा समेत जापानीहरूको नेपाल भ्रमणको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताए ।
एनआरएनए भिजिट नेपाल–२०२० का विश्व संयोजकसमेत रहनुभएका भट्टले प्राकृतिक रूपमा सुन्दर नेपाल गौतमबुद्ध जन्मस्थल, सर्वोच्च शिखर सगरमाथालगायत असंख्य सम्पदाहरूको अवलोकन गर्न जापानीहरू नेपाल भ्रमणमा जाने विश्वास व्यक्त गरे ।
भट्टले नेपाल भ्रमण गरेका र नेपालबारे जानकार एकजना जापानी नागरिकले कम्तीमा तीनजना जापानीलाई बुझाएर नेपाल भ्रमणमा पठाउन सकेमात्र पनी नेपालको लागि त्यो ठूलो सहयोग हुने बताउँदै सहभागी जापानीहरूलाई यसमा सहयोग गर्न अनुरोध गरे ।
नेपाली मौलीक लोकनृत्यहरू समेत प्रस्तुत गरिएको कार्यक्रममा नेसनल जियोग्राफिका जापानी फोटोग्राफर युमिको इतावाले नेपालमा खिच्नुभएको बनस्पती, चराचुरुंगी, प्राकृतिक सम्पदाहरूको तस्बिरसहित जानकारी गराइएको थियो ।
नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले पर्यटन वर्षलाई मध्यनजर गरेर दुईदेशबीचको सम्बन्ध थप प्रगाढ बनाउन छिट्टै जापान सरकारका तर्फबाट उच्च स्तरको भ्रमणको लागि पहल भइरहेको जानकारी दिए ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीसहित पदाधिकारीहरू एवं एनआरएनए आईसीसीमा रहनुभएका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसैगरि जापानमा रहेका नेपाली बुद्धिजीवी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू गरेर २ सयको संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो ।
नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन कार्यक्रमलाई जापानको खानागावा अन्तर्राष्ट्रिय फाउन्डेसनमा कार्यरत जिज्ञानकुमार थापा र राजदूतावासकी कर्मचारी सावायानागी माकीले अंग्रेजी र जापानी भाषामा सञ्चालन गरे ।


Facebook Comment


No ads found for this position