थाई फोटोग्राफरको आँखामा नेपाल

काठमाडौं । घुमफिरको योजना बुन्नेहरुले थाइल्यान्डलाई घुम्नैपर्ने देशको सूचीमा राख्ने गर्छन् । तर, थाई फोटोग्राफरहरु भने उल्टै नेपालप्रति लोभिने गर्छन् । उनीहरु बेलाबेला यहाँ आएर हिमाली क्षेत्र, सम्पदा स्थल र जीवनशैलीको मनमोहक झलक तस्बिरमा समेट्ने गर्छन् ।

यस्तै ६ जना थाई फोटोग्राफरले नेपालका विभिन्न स्थानमा खिचेका तस्बिरहरु शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखिएका छन् । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारदेखि गरिने ‘फोटो नेपाल’ प्रदर्शनीमा यी तस्बिरहरु मे महिनाका आकर्षण बनेका हुन् । थाई फोटोग्राफरको आँखामा देखिएका नेपालको कोलाज पर्यटन बोर्ड भृकुटीमण्डपमा वैशाख २२ देखि २७ सम्म हेर्न सकिनेछ ।
प्रदर्शनीमा समेटिएका वरिष्ठ थाई फोटोग्राफर पुन्नावित सुवात्तानानुन नेपालमा तस्बिर खिच्न नियमित रुपमा आउने गरेका छन् । उनले सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा काठमाडौंका सम्पदा स्थलमा खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले फोटो नेपाल देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियान रहेको बताए । ‘संसारभरि रहेका फोटोग्राफरहरुले नेपालमा खिचेका फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने अभियान हो’, उनले भने । यो अभियान २०१६ को फेब्रुअरीमा टोनी हागनले खिचेका फोटो प्रदर्शनीबाट सुरु भएको थियो ।



















 


Facebook Comment


No ads found for this position