धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम हो : स्वर्गद्वारी

भरतबन्धु थापा

धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम हो, प्यूठानको स्वर्गद्वारी । पुराण अनुसार पाँचपाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानिंदै स्वर्गद्वारी नाम रहन गएको हो जिल्ला सदरमुकाम खलंगा बजारबाट स्वर्गद्वारी मन्दिर करीब २६ किलोमिटर पश्चिममा पर्छ ।एक शताब्दी भन्दा अघिदेखि निरन्तर बलिरहेको मानिने धुनी स्वर्गद्वारीको प्रमुख आकर्षण हो ।

विक्रम संवत् १९५२ मा महाप्रभु नारायण गौतमले स्वर्गद्वारीमा आश्रम स्थापना गर्दै विश्व शान्तिको कामना सहित अखण्ड महायज्ञ आयोजना गरेको समयदेखि नै उक्त धुनी बलिरहेको मानिन्छ ।

स्वर्गद्वारी तीर्थाटनका क्रममा उक्त ऐतिहासिक धुनीका साथै गुफा र पाण्डवहरू स्वर्ग गएको बाटोको दर्शन गर्नाले पुण्य प्राप्त हुने र स्वर्गको ढोका खुल्ने धार्मिक विश्वास छ । यहाँ हरेक वर्षको वैशाख पूर्णिमामा मेला लाग्छ ।

 

स्वर्गद्वारी आश्रममा पालिएका गाई

 

प्रसाद लिदै भक्तजन

मन्दिर परिसरमा सयौंको संख्यामा गाईपालन समेत गरिएको छ । स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले मन्दिरमा निश्चित समयमा आउने भक्तजनलाई खाना र बासको प्रबन्ध मिलाउने गर्छ ।

यो मन्दिर भारतीय तीर्थालुका लागि पनि आस्थाको केन्द्र हो । भारतबाट हरेक वर्ष एक लाखभन्दा बढी भक्तजन आउने गरेको आश्रम व्यवस्थापन समितिले जनाएको छ ।

स्वर्गद्वारी जाने तीर्थालु प्रकृतिको मोहनीमा पनि डुब्न पाउँछन् । यहाँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु लगायत हिमाल हेर्न सकिन्छ ।

कसरी पुग्ने ?
काठमाडौंबाट रोल्पा जाने बस चढेर प्यूठानको भिङ्ग्रीमा ओर्लने, भिङ्ग्रीबाट तीन घण्टाको पैदल यात्रापछि स्वर्गद्वारी मन्दिर पुगिन्छ ।

निजी सवारी साधन स्वर्गद्वारीसम्मै लैजान सकिन्छ । दाङको घोराहीबाट पनि स्वर्गद्वारीसम्म बस चल्छन् ।

मन्दिर दर्शन गरेर फर्कंदै भारतीय तीर्थालु

 

मन्दिर प्रवेश स्थल 


Facebook Comment


No ads found for this position