नेपालमा पहिलोपटक जलेवाले बच्चा कोरल्यो

जाजरकोट, १९ असार । नेपालमा जाडो समयमा बसाइँ सरी आउने हिँउदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा बच्चा जाजरकोट र रुकुमको सिमाना बग्ने भेरी नदीमा पत्ता लागेको छ ।

हिउँदयामको सुरुवातसँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न ताल, तलैया र ठूला नदीमा बसाइँ सरी आउने यस चराको प्रजनन नेपालमा पहिलोपटक जाजरकोट जिल्लाको रग्दा र रुकुम जिल्लाको गोतामकोट सीमामा बग्ने भेरी नदी किनारमा फेला परेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ र जिल्ला पशुसेवा कार्यालय, जाजरकोटका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहको टोलीले जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा दुर्लभ गिद्ध र चिरकालीजको बासस्थान अनुगमनका क्रममा जलेवाको बासस्थान फेला पारेको हो । समुद्र सतहबाट करिब एक हजार २५० मिटरमा अवस्थित उक्त स्थानमा जलेवाका आठ वटा गुँड भेटिएका छन् । नेपालमा भदौ मध्यदेखि चैतसम्ममा देखिने हिउँदे आगन्तुकका रुपमा चिनिएको यस पक्षीले नेपालमा सम्भवतः पहिलोपटक गुँड बनाई चल्ला कोरलेकोे नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमानबाबु प्रधानले बताउनुभयो ।

माछालाई प्रमुख आहार बनाउने जलेवा करिब ८० देखि १०० सेमीसम्मको हुन्छ । बढी कालो र खैरो हुने यो चराले समूहमा गुँड बनाउने गर्छ । विश्वमा पाइने ३३ प्रजातिका जलेवामध्ये नेपालमा दुई प्रजातिका जलेवा पाइन्छन् ।
खासगरी उत्तरी धु्रवमा हिमपातको सुरुवातसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपाल आउने जलेवाले उक्त क्षेत्रमा भने गुँड बनाई बच्चा कोरलिरहेको छ । उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने जलेवा ताल र ठूला नदीमा बस्ने नेपाल पक्षी संरक्षण सङ्घका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरी बताउनुहुन्छ ।

जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा लोपोन्मुख गिद्ध, विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पक्षी चिर कालिज, डाँफे, मुनाललगायतका विश्वमै दुर्लभ चराको बासस्थान भएकाले बर्डलाइफ इन्टरनेसनलको मापदण्डअनुसार चरा र जैविक विविधताका लागि महत्वपूर्ण क्षेत्र घोषणा गर्न लागिएको नेपाल पक्षी संरक्षण सङ्घकी वरिष्ठ संरक्षण अधिकृत इशाना थापा बताउनुहुन्छ । जाजरकोट नेपालको मध्य पहाडमा गँुड बनाई बस्ने चार प्रजातिका गिद्धमध्ये चारै प्रजातिका गिद्धहरु सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान भएको हालसम्मको अध्ययनमा एकमात्र जिल्ला भएको अनुसन्धानमा संलग्न नेपाल पक्षी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले बताउनुभयो ।

नेपालमा हालै यस चराले चल्ला कोरलेको पत्ता लाग्नुले पनि नेपालमा भौगोलिक विकटता र बासस्थानमा रहेको विविधिकरणका कारण चरासम्बन्धी अझै धेरै तथ्य पत्ता लाग्न नसकेको झल्काउँछ ।


Facebook Comment


No ads found for this position