पाँचतारे हायात होटल बन्द

२ असार, काठमाडौं । हायात होटलका कर्मचारीहरु सेवा–सुविधा कटौतीको विरोधमा केही दिनदेखि आन्दोलनमा छन् । तर, कर्मचारीहरुको माग सम्वोधन गर्नुको साटो व्यवस्थापनले होटल नै बन्द भएको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको छ ।

तारागाउँ रिजेन्सीका कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन् । गत जेठ ३० गतेदेखि ‘गैरकानुनी’ हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम–कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको उनको पत्रमा उल्लेख छ ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को ३(१) विपरित कर्मचारीहरुले आन्दोलन गरेको कम्पनी सचिव कर्णले बताएका छन् । हायात रिजेन्सीसँग आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न मागहरु राखी अन्य कर्मचारीहरुलाई पनि जर्बजस्ती साथमा लिएको उनको दावी छ ।

सोमबार नै पत्रचार गरिएको भए पनि नेपाल स्टक एक्सचेञ्जले यसको सेयर कारोबार रोक्का गरेको छैन । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले होटल बन्द भएको जानकारी प्राप्त भए पनि सेयर कारोबार भने रोक्का नभएको जानकारी दिए ।

भोलि मंगलबार पनि कारोबार रोक्का गर्ने भन्ने निर्णय नेप्सेले नगरेको उनले बताए । होटल कहिलेसम्म बन्द हुने हो र खुल्ने सम्भावना के छ भन्ने विषयमा मंगलबार अध्ययन गरेर आवश्यक निर्णय लिइने प्रवक्ता पराजुलीको भनाइ छ ।

होटलको सेयर सोमबार ३२१ रुपैयाँमा कारोबार भएको छ । ३१९ रुपैयाँ प्रतिकित्ताबाट शुरु भएको कारोबार एकपटक ३१६ मा झरेको थियो भने ३२२ सम्म पुगेको थियो । उतारचढावका बीच तारागाँउको सेयर मूल्य २ रुपैयाँ अर्थात ०.६३ प्रतिशतले बढेर ३२१ रुपैयाँमा बन्द भएको छ ।


Facebook Comment


No ads found for this position