प्रदेश–३ ले पर्यटन विकासको लागि झण्डै तीन अर्ब रुपैयाँ खर्च गर्ने योजना

हेटौंडा-प्रदेश–३ सरकारले चालू आर्थिक वर्ष २०७६-७७ मा पर्यटन विकासको लागि झण्डै तीन अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । भ्रमण वर्ष–२०२० लाई लक्षित गरी प्रचारप्रसारको कार्यक्रमका साथ पर्यटन पूर्वाधार निर्माणमा पनि पर्याप्त बजेट विनियोजन गरिएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ८७ करोड ९५ हजार रुपैयाँको योजना निर्माण गरी काम अघि बढाएको छ । बजेट बिनियोजन गरी अब कार्यान्वयन प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष पर्यटनको क्षेत्रमा छुट्याइएको झण्डै ६३ प्रतिशत बजेट फ्रिज भएपछि मन्त्रालयले यसवर्षदेखि चाँडै नै आयोजना कार्यान्वयनको काम थाल्न लागिएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिए ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि मात्र १ अर्ब १ करोड ५३ लाख ९५ हजार छुट्याएको छ भने स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमको लागि ५९ करोड ७५ लाख रुपैयाँ बिनियोजन गरेको छ । मन्त्रालयका योजना अधिकृत पाठककाअनुसार मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका एउटा-एउटा पर्यटकीय गन्तव्य निर्माण गर्ने, प्राचीन गढीहरुको पुननिर्माण गर्ने योजना बनाएको छ ।
त्यस्तैगरी रसुवा र सिन्धुपाल्चोकको सिमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माणको लागि ३ करोड, जुगल र गौरीशंकर हिमालको परिपथ निर्माणको लागि पचास लाख छुट्याएको छ । १० स्थानमा हिल स्टेशन अन्तर्गत भ्युटावर, बगैँचा, विश्रामघर तथा मनोरञ्जन घर निर्माणको लागि दश करोड रुपैयाँ विनियोजन गरेको छ । शैलुङ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि एक करोड पचास लाख, हेटौंडामा सिटी भ्यु टावर निर्माणको लागि दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणको लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।
होमस्टे सञ्चालन गर्न चाहनेलाई सीप विकासको तालिम प्रदान गर्न मात्र ३५ लाख छुट्याइएको छ । लोकमार्गको किनाराको होटलमा अतिथि सत्कार र सरसफाईको लागि २० लाख, भिजिट नेपाल २०२०, प्रदेश पर्यटन दशक २०२० देखि २०३० को प्रवद्र्वनात्मक कार्यक्रमको लागि १० लाख र पर्यटन प्रवद्र्वनलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रचारप्रसारको लागि ३५ लाख र सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न २० लाख गरी एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुट्याएको हो ।
पाठककाअनुसार स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमअन्तर्गत मन्त्रालयले स्थानीय स्तरमा साना पार्क, पिकनिक स्पोर्ट, ताल र पर्यटकीय पदमार्गलगायतका योजना बनाएको छ । यस्तै प्रदेशमा रहेको ६६ वटा निर्वाचन क्षेत्रमा महोत्सव सञ्चालन गर्न पाँचलाखको दरले तीन करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।
मन्त्रालयले हेटौंडाको सहिद स्मारकको भौतिक पूर्वाधार विकासको लागि एक करोड, हेटौंडा–९ मा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधामको विकासको लागि ३० लाख रुपैयाँ र बीपी सङ्ग्रालयको भौतिक सुधारको लागि एक करोड पचास लाख विनियोजन गरेको छ ।
संघीय सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य अनुसार भिजिट नेपाल २०२० सञ्चालनमा ल्याएको छ । सोही उद्देश्य पूरा गर्न तीनै तहका सरकारले विभिन्न योजना बनाएर काम गरिरहेका छन् ।केशव समर्पण


Facebook Comment


No ads found for this position