प्रहरीको जागिर तीन महिनामा दुई सयको राजीनामा, सिपाहीदेखि एसएसपीसम्म

रमेश धमला

२७ असार, काठमाडौं । सेवा-सुविधा र रवाफको हिसाबले प्रहरीको जागीर नेपालमा आकर्षक नै मानिन्छ । तर, हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरुले विभिन्न कारण देखाएर जागिर छोड्ने गरेका छन् ।

nepal policeगत वैशाखयता २ सय ७ जना प्रहरीले सेवाबाट राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । एक एसएसपी, एक डिएसपी र एक इन्स्पेक्टरसहित ८ सइ, ६४ असइ, ५९ हवल्दार र ७० जवानले २०७३ सालमा राजीनामा दिएका हुन् । यसअघि ०७२ सालमा ३ जना डिएसपीसहित १ हजार २ सय ५१ जनाले प्रहरी सेवाबाट राजीनामा दिएका थिए ।

‘अन्याय’मा परेका एसएसपी हिँडे

एक महिनाअघि एसएसपी सुवोध घिमिरेले पदबाट राजीनामा दिएका थिए । अपराध अनुसन्धान, आतंकवाद र अन्तरदेशीय अपराधका बारेमा दख्खल राख्ने उनी पछिल्लो समय अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

घिमिरे डिआइजी नवराज सिलवालका ब्याजी हुन् । तर एसपीबाट एसएसपी बनाउँदा नै उनलाई पछि पारियो । करिब ३ वर्षअघि मात्रै एसएसपीमा बढुवा भएका घिमिरेको सेवाअवधि २ वर्षभन्दा कम थियो । उनले अचानक राजीनामा दिएपछि प्रहरी वृत्तमा अनेक चर्चा भयो ।

एसएसपी घिमिरे एक कुशल चित्रकारसमेत हुन् । उनले प्रहरीमा बाँकी दुई वर्ष विताउँदा पनि खासै उपलब्धी हुने नदेखेर आफ्नो चित्रकलालाई प्राथमिकतामा राखेका छन् । ‘चित्रकला सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन समेत निम्ता आइरहेको छ,’ उनले भने, ‘अब फ्रान्समा हुने एक प्रतियोगितामा सहभागि हुन जान्छु ।’

तर घिमिरेले जागिर छोड्नुका विभिन्न कारण देखाए पनि विगतमा संगठनले उनीमाथि गरेको ‘अन्याय’ नै मुख्य कारण भएको विश्वास गर्छन् उनका ब्याजीहरु । घिमिरेकै ब्याजका एक डिआइजीको बुझाईमा अबको दुई वर्षमा डिआइजी बन्न पनि मुस्किल हुने देखेपछि उनले जागिर छाडेको हुन सक्छ ।

त्यसो त करिब २ वर्ष अगाडि पनि एक एसएसपीले प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उनी थिए एसएसपी घनानन्द भट्ट ।

दुई वर्ष अगाडि डिआइजी बढुवामा एसएसपी भट्ट अगाडि थिए । तर संगठनमा आफूभन्दा ‘जुनियर’लाई बढुवा गराएपछि उनले प्रहरी सेवामा बसिरहन आवश्यक ठानेनन् र आफ्नो २७ वर्षे सेवाबाट विश्राम लिए ।

डिभी-पिआरधारी कोही निस्किए, कोही सेवामै

नेपाल प्रहरीको जागिर छाड्नेमा अवसरबाट वञ्चित भएकाहरु मात्रै छैनन् । कतिपय अधिकृतहरुले डिभी पिआरको छानबिन हुने डरका कारण पनि प्रहरी सेवा छाडेका छन् ।

डिएसपी जगदिशचन्द्र पोखरेल २ वर्ष अगाडि नै श्रीमतीलाई डिभी परेपछि जागीर छोडेर अमेरिका पुगे । डिएसपी दिवेश उदास र इन्सपेक्टर दिपक भण्डारीले पनि अमेरिकाको लागि प्रहरी सेवालाई तिलाञ्जली दिए ।

डिभी-पिआर भएका केही अधिकृतहरुले नैतिकताको आधारमा प्रहरी सेवा छाडे पनि केही उच्च अधिकृतहरु अहिले पनि संगठनभित्रै रहेको प्रधान कार्यालयका एक डिआइजी बताउँछन् ।

प्रहरी स्रोतका अनुसार अमेरिकाको पिआर छ भन्ने चर्चा हुँदाहुँदै एसएसपी शिव लामिछानेमाथि कुनै छानविन भएन । उनले आफ्नो जागिर अवधि पूरा गरेर करिब एक महिनाअघि मात्रै अवकाश पाएका छन् ।

अहिले प्रहरीका दुई डिआइजी र दुई एआइजी डिभी र पिआर बोकेरै जागिर खाइरहेको प्रहरी स्रोत बताउँछ । तर उनीहरुमाथि न संगठनले छानविन गरेको छ न गृह मन्त्रालयले नै । श्रीमान वा श्रीमतीमध्ये कसैको पनि डिभी-पिआर छ भने प्रहरी संगठनमा बस्न नपाउने नियम छ । तर अरुका बारेमा अनुसन्धान गर्ने प्रहरीले आफ्नै संगठनभित्र छानविन गर्न सकेको छैन ।

नक्कली प्रमाणपत्रधारीको छानविन भएन

करिब १४ वर्षदेखि नेपाल प्रहरीको अस्पतालमा कार्यरत एसएसपी डा. महेशमान प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि दिनअघि मात्रै भ्रष्टाचार विरुद्धको मुद्दा दायर गरेको छ । ०५९ सालमा डिएसपीबाट प्रहरी अस्पतालमा प्रवेश गरेका प्रधानले आफ्नो प्रमाणपत्रमा जन्म मिति सच्याएको अख्तियारको आरोप छ । प्रहरी सेवामा प्रवेशको लागि पेश गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याएको भेटिएको भन्दै अख्तियारले विशेष अदालतमा प्रधानविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यसो त करिब ३ वर्ष अगाडि तत्कालिन डिआइजी शारदा भट्ट रञ्जितले पनि नक्कली प्रमाणपत्रमा छानविन हुने भएपछि जागिरबाटै राजीनामा दिएका थिए । प्रधान र रञ्जित बाहेक नक्कली प्रमाणपत्रको भरमा जागिर खाने केही अधिकृतहरुले जागिर छाडेका छन् ।

नक्कली प्रमाणपत्रधारी डाक्टरदेखि पाइलटसम्मलाई कार्वाहीको दायरामा ल्याएको प्रहरीले आफ्नै संगठनभित्र भने छानविन गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

आइजीपी उपेन्द्रकान्त अर्यालले दुई दिनअघि मात्रै प्रहरीभित्र पनि नक्कली प्रमाणपत्रधारीहरु भएको स्वीकार गरेका थिए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आइजीपी अर्यालले प्रहरीभित्र नक्कली प्रमाणपत्रधारी भएको र उनीहरुमाथि छानविन गर्ने बताए । तर त्यो छानविन कहिलेबाट सुरु हुन्छ ? संगठनभित्रै प्रश्न उब्जेको छ ।

किन छाड्छन् जागिर ?

कतिपयले प्रहरी सेवामा भन्दा बाहिर राम्रो अवसर पाएका कारण सेवा छाड्ने गरेको प्रहरी प्रवक्ता डिआइजी माधव जोशी बताउँछन् । केहीले समयमा आफ्नो बृत्ति विकास नभएका कारण पनि राजीनामा दिने गरेको उनको बुझाइ छ ।

‘कतिपय हाकिमहरु आफ्ना कर्मचारीको सही मूल्यांकन गरिदिँदैनन् । कतिले व्यक्तिगत रिसिवी राख्छन् त्यसले काम गर्ने प्रहरीमा निराशा ल्याउन सक्छ र जागिरै छाडेर जाने गरेका छन् । विगतमा जागिरको लागि प्रहरीमा सेवामा आउनेहरु धेरै थिए अहिले आकर्षणका कारण आउँछन् तर उनीहरुलाई टिकाउन मूल्यांकन पद्दतीमा परिवर्त गर्न जरुरी देखिन्छ,’ डिआइजी जोशीले भने ।


Facebook Comment


No ads found for this position