ब्रिटिस आर्मीको जागिर छाडेर निर्मलको कीर्तिमान

नवीन पोखरेल, घनश्याम खड्का
काठमाडौँ — ब्रिटिस आर्मीको जागिर, करिब ७ करोड रुपैयाँ बराबरको पेन्सन । यो सब माया मारेर हिमाल चढ्न तम्सनु चानचुने निर्णय थिएन । धेरैले यसलाई दुस्साहस ठाने, पागलपन भने । त्यही पागलपन अहिले विश्व कीर्तिमान बनेको छ ।

म्याग्दीका निर्मल पुर्जालाई यति बेला बधाईको ओइरो छ । उनले ८ हजार मिटर अग्ला सबै १४ हिमाल आरोहण गरेका हुन्, त्यो पनि जम्मा ६ महिना ६ दिनमा । उनको यो सफलता विश्वले नियालिरहेको छ । उनले चौधौं हिमालका रूपमा मंगलबार बिहान ८ बजेर ५८ मिनेट (स्थानीय समय) मा चीनको सिसापाङमा आरोहण गरेका हुन् । यो ८ हजार २७ मिटर अग्लो छ ।

सुरुमा उनले सात महिनाभित्र आरोहण पूरा गर्ने ठानेका थिए । योजना सुनाउँदा धेरैले पत्याएनन् । सहयोग अपेक्षा गरिएका संघसंस्था र व्यक्तिहरू तर्किए । तर उनी हच्किएनन् । २३ दिनअघि नै लक्ष्य पूरा गरिदिए । ‘आफ्नो मिसन पूरा गरेर औधी खुसी छु,’ निर्मलले बुधबार केरुङ नाका पार गर्दै कान्तिपुरसँग खुसी साटे, ‘मैले प्रकृतिसहित विश्वभरबाट साथसहयोग पाएँ, उहाँहरूप्रति धन्य छु ।’ उनले आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताए ।

निर्मलले दक्षिण कोरियाका किम च्याङ होको कीर्तिमान तोडेका हुन्, जुन उनले ७ वर्ष १० महिना ६ दिन लगाएर बनाएका थिए ।

सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्ध भएकैले यो सम्भव भएको निर्मलको बुझाइ छ ।

आरोहणअघि अनुमति पाउन, खर्च जुटाउन र राजनीतिक कारणले पनि केही मुस्किल भएको उनले सम्झिए । चीनले सिसापाङ्मा हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकारको विशेष पहलपछि मात्र निर्मलले आरोहण अनुमति पाएका हुन् । अभियान सुरु गर्दा उनले कम्तीमा १० करोड ५० लाख रुपैयाँ लाग्ने बताएका थिए । यो खर्च कहाँबाट जुटाए त ? अहिले खुल्न चाहेनन् ।

‘म गाइड गर्न पर्सि आमादब्लम जाँदै छु । अब पैसा पनि कमाउनुपर्‍यो नि ?,’ निर्मलले हँस्यौली पारामा सुनाए । ११ नोभेम्बरमा दिवंगत सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्न आमादब्लम चढ्ने उनको योजना छ । त्यसपछि १७ तारिखमा बेलायत फर्कंदै छन् । त्यहाँ पुगेर किताब लेख्ने र वृत्तचित्र बनाउने सोचेका छन् ।

निर्मलको आरोहण अभियान घाइते सैनिक भेट्रान र नेपालका पिछडिएका बालबालिकाको सहयोगमा काम गर्ने ब्रिटिस मिलिट्री तथा नेपाली च्यारिटीको सहयोगार्थ केन्द्रित छ । जलवायु परिवर्तन र विश्व तापमान वृद्धिबारे जनचेतना जगाउने उद्देश्य पनि छ ।

‘प्रोजेक्ट पोसिबल १४:७’ नाम दिइएको उनको महत्त्वाकांक्षी योजना गत मार्च अन्तिम साताबाट सुरु भएको थियो । ब्रिटिस आर्मीमा अझै १० वर्ष कार्यावधि रहेका ३५ वर्षीय निर्मलको पूर्ण पेन्सन आउन ६ वर्ष मात्र बाँकी थियो । ‘मैले ५ लाख पाउन्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुँ,’ उनले आरोहणअघि कान्तिपुरसँग भनेका थिए, ‘आर्मीमा मेरो राम्रो तलब–सुविधा (मासिक ६ लाख रुपैयाँ) थियो । तर, नेपाल, नेपाली र सम्पूर्ण मानव जातिको प्रतिष्ठा उचो बनाउन प्रोजेक्ट पोसिबलको महत्त्वाकांक्षी योजना बनाएँ ।’

आरोहण तयारीका लागि निर्मलले घर रिमोर्गेज गरेर करिब ७५ लाख रुपैयाँ आफ्नै खाताबाट जोहो गरेका थिए । यसअघि पनि घर रिमोर्गेज र आफ्नो कमाइबाट गरी करिब एक लाख पाउन्ड खर्च गरिसकेको उनले बताए ।

सन् २००३ मा ब्रिगेड अफ गोर्खाज प्रवेश गरेका उनी सन् २००९ देखि ‘यूके स्पेसल फोर्सेस’ को अंग बने । ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा छानिने पहिलो गोर्खा हुन् उनी ।

सन् २०१२ देखि आरोहण थालेका उनले यसअघि तीनपटक सगरमाथा चढे । ८ हजार मिटरमाथिका ४ वटा र ४ महादेशका अग्ला हिमाल चढेर अनुभव बटुले ।

निर्मल सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सेवारत ब्रिटिस गोर्खा पनि हुन् । यसअघि पनि आरोहणमा उनका नाममा थुप्रै कीर्तिमान छन् । सगरमाथादेखि लोत्से आरोहण जम्मा दस घण्टा १५ मिनेटमै पूरा गरे, जुन त्यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु (८ हजार मिटर अग्ला) चढे । १७ दिनमा सगरमाथा दुईपटक, लोत्से र मकालु चढ्ने व्यक्ति पनि उनै हुन् । उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर सिकिस्त अवस्थामा पुगेका एक भारतीय आरोहीलाई बचाएका थिए । ‘जी २०० ई गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरूलाई सगरमाथा लैजान निर्मलको प्रमुख भूमिका थियो । यी उपलब्धि र साहसकै कारण उनले यसै वर्ष ब्रिटिस आर्मीमा एमबीईजस्तो अवार्ड पाउन सफल भए ।

को हुन् निर्मल पुर्जा ?

निर्मलको जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गाउँ हो । उनी नन्दबहादुर र पूर्णकुमारी पुर्जाका पाँच सन्तानमध्ये कान्छा हुन् । उनी दुई वर्षका छँदा भारतीय सेनाका लाहुरे बाबुले चितवनको रत्ननगरमा बसाइँ सारे । निर्मलले नारायणघाटस्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

जेठा दाजु गंगा र साइँला कमल पनि बेलायती सेनाका लाहुरे हुन् । माइला जीत भने पुर्ख्यौली थलो दानाको ज्ञानप्रकाश माविमा शिक्षक छन । दिदी अनिता अस्ट्रेलियामा डाक्टर छिन् । निर्मलकी पत्नी सूची बेलायतमै बसोबास गर्छिन् । उनी भने सेवानिवृत्त भएपछि आमाबाबुसँग चितवनको रत्ननगरमै बस्दै आएका छन् ।

आमा पूर्णकुमारी र माइली भाउजू कुलमाया निर्मललाई लिन बुधबार बिहान सिसापाङ्मा हिमालको बेसक्याम्पमै पुगेका थिए । ‘बेलायती सेनामा सबैभन्दा बढी तलब खाने गोर्खामध्येका भाइको जागिर छोडेर हिमाल चढ्ने निर्णयले हामी अक्मकिएका थियौं तर उसले विश्व रेकर्ड तोडेको खबरले औधी खुसी छौं,’ चितवनबाट कार्यस्थल फर्कंदै गरेका माइला दाजु जितले भने । ‘भाइलाई लिन आमा उहीं तिब्बतै पुग्नु भा’छ । आज नेपाल फर्कने कार्यक्रम छ,’ उनले भने ।


Facebook Comment


No ads found for this position