भ्रमण वर्ष : पर्यटक आउलान्, तर….

काठमाडौं । २० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने भन्दै सरकारले ‘भ्रमण वर्ष सन् २०२०’ को निकै प्रचारप्रसार गरिरहेको छ । तर, पर्यटकको नेपाल बसाइ सुविधाजनक र स्मरणीय बनाउनेतर्फ भने खासै काम भएको छैन । आउनुस्, सडक पूर्वाधारको कुरा गरौं ।

अहिले काठमाडौंसहित देशका धेरै सडकमार्गको दुर्गति छ । यस्तो सडकमा यात्रा गर्दा विदेशी पर्यटकलाई मस्ती होला कि सास्ती ? अनि उनीहरूले नेपालको बारेमा कस्तो सन्देश लैजालान् ? यो पक्ष भने सरकारले नजरअन्दाज गरेको छ ।

सरकारले भ्रमण वर्षलाई लिएर होटलको व्यवस्थापन र सुधारमा चासो देखाए पनि सडक पूर्वाधारमा भने आँखा चिम्लेको छ । होटल एशोसियसनका पूर्वअध्यक्ष अमरमान शाक्यको भनाइमा पर्यटकको लागि होटल राम्रा भएर मात्रै पुग्दैन, हवाई र सडक यातायात पनि सुविधाजनक हुनु उत्तिकै महत्वपूर्ण छ । पूर्वाधारहरूको यस्तै हविगत र धूलोमैलोमा सुधार नआउने हो भने आएका पर्यटक पनि बिच्किने उनी बताउँछन् ।

‘धूलोमा रुमल्लिनुपर्दा र हिलोमा लट्पटिनुपर्दा रमाइदिने पर्यटक कति होलान् ?’ शाक्य भन्छन्, ‘एयरपोर्टहरू तोकिएकै समममा बनाएर सञ्चालन गर्नुपर्छ र सडक विस्तारको काम पनि छिटो सकाउनुपर्छ । अनि मात्र भ्रमण वर्षले सार्थकता पाउन सक्छ ।’

पर्यटन व्यवसायी सुमन पाण्डे पनि ११ लाख पर्यटकको संख्यालाई २० लाखमा पुर्‍याउन सानोतिनो परिवर्तनले काम नगर्ने बताउँछन् ।

‘केरुङको सडक प्रयोग गरेर चीनबाट पर्यटक आउनसक्ने अवस्था बन्नुपर्छ,’ उनी भन्छन्, ‘भारतका मुख्य शहरबाट आउने रेल्वेलाइनलाई नेपालको बोर्डरसम्म लिंक गर्नुपर्छ । बंगलादेशबाट भारत हुँदै बंगाली पर्यटकलाई सहज रूपमा काँकडभिट्टाबाट छिर्नसक्ने वातावरण बनाउनुपर्छ । पर्यटकीय गन्तव्यसम्म आइपुग्ने हाम्रा सडकहरू चुस्त अवस्थामा राख्नुपर्छ ।’

काठमाडौंकै सडकमा सास्ती

अहिले त्रिभुवन विमानस्थलमा ओर्लिएका यात्रु बस्ने होटलसम्म पुग्ने धेरै सडकहरू पनि खाल्डामय छन् । नेपाल प्रवेश गर्नासाथै सडकको दूरावस्था देखेका पर्यटकले आफ्नो बसाइ अवधि लम्ब्याउनेमा आशंका छ ।

धेरै पर्यटकीय स्थलसम्म पुग्ने सडकहरूको अवस्था झन् बिजोक छ । काठमाडौंबाहिरका पर्यटकीय स्थलका कुरा छाडौं, विश्वसम्पदा सूचीमा रहेको बौद्ध पुग्ने सडकले नै यो समस्याको बयान गर्छ ।

हुन त पछिल्लो महिना सरकारले काठमाडौंका सडकका खाल्डा पुर्ने कामलाई तीव्रता दिएको छ । तर कतिपय पर्यटकीय स्थलसम्म पुग्ने सडकको अवस्था भने जीर्ण नै छाडिएको छ ।

काठमाडौं आएका पर्यटकको मुख्य रोजाइमा पर्ने भक्तपुरको नगरकोट पुग्ने सडक ७ वर्षदेखि धुलाम्य छ । यो सडक एक झार पानी पर्नासाथ हिलोमा डुब्छ । पर्यटकले यस्तो सडकमार्गमा यात्रा गर्नुपर्ने अवस्थालाई भ्रमण वर्ष सुरु हुन अगावै अन्त्य गर्नुपर्ने व्यवसायीको माग छ । तर, वर्षौंदेखि अल्झाएर राखिएका सडक भ्रमण वर्षअघि नै निर्माण भइसक्नेमा स्थानीय, पर्यटन व्यवसायीमात्रै होइन, सरकार आफैं विश्वस्त छैन ।

पर्यटकीय महत्त्वको टोखा, साँखु, गोदावरी, दक्षिणकालीलगायतका क्षेत्रमा पुग्ने सडकको हालत पनि उस्तै छ । संघीय सरकारले सहरका मुख्य सडकहरू टल्काउन प्रयास गरिरहे पनि भित्री सडकहरूको खाल्डामा स्थानीय सरकारहरूको ध्यान पुगेको छैन ।

सहरमा मुख्य पर्यटकीयक्षेत्र आसपासमा सहरी सडकहरू जीर्ण भइसक्दा पनि मर्मत गरिएको छैन । जसका कारण पर्यटकीय क्षेत्रमा प्रदूषण फैलिएको अवस्था छ । पशुपतिनाथ, स्वयम्भू, पाटन, वसन्तपुरलगायतका क्षेत्रका भित्री सडकहरूको सुधारमा स्थानीय तहले खासै चासो दिएका छैनन् ।

जामको समस्या उस्तै

सडकको खाल्डाखुल्डी मात्रै होइन, जामको समस्या पनि भयावह नै छ । काठमाडौंमा बढ्दो सवारी चापले कति समस्या हुन्छ भन्ने त सागको उद्घाटन र समापनका दिनमा जोरविजोर प्रणाली लगाउनु परेको तथ्यले नै पुष्टि गर्छ । अहिले काठमाडौंमा उत्रिएका पर्यटकले गर्ने ठूलो गुनासो यही सवारी जाम पनि बनेको छ ।

तोकिएको समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा पर्यटकहरूलाई सास्ती मात्रै परेको छैन, उनीहरूलाई समय व्यवस्थापन गर्न पनि उत्तिकै कठिन हुने गरेको छ ।

काठमाडौंका मुख्य सडकका चोकमा लाग्ने जामले पर्यटकहरू वाक्क–दिक्क हुने गरेका छन् । यसलाई न्यूनीकरण गर्न पनि सरकारले कुनै योजना बनाएको छैन ।
ठमेल बसेका पर्यटकलाई भक्तपुर पुगेर फर्किन ६/७ घण्टा लाग्ने अवस्था रहेको बताउँछन् व्यवसायी । कोटेश्वरक्षेत्रको सवारी व्यवस्थापनका लागि सरकारले भरपर्दो व्यवस्थाहरू गर्न नसक्दा त्यसको मारमा पर्यटकहरू पनि पर्दै आएका छन् ।

पर्यटन वर्षमा पर्यटक बाक्लो रूपमा भित्र्याउने भनिए पनि सडक पूर्वाधार तयार राख्ने र सवारीको व्यवस्थापन गर्ने कुरामा सरकार चुकेको छ । सार्वजनिक सवारीमा भ्रमण वर्षको स्टिकर टाँस्न सुरु गरेको सरकारले सेवा सुधारका लागि गतिलो पहलकदमी पनि लिन सकेको छैन ।

नाकामा सडकको दूरावस्था

काठमाडौंमा मात्रै होइन, समस्या नेपाल भित्रिने नाका र त्यहाँबाट काठमाडौंसम्म आउने राजमार्गहरूमा पनि छ । अहिले भ्रमण वर्षको पूर्वासन्ध्यामा नेपालको प्रवेशद्वार भनिने वीरगञ्जको मुख्य सडकको हालत नै जीर्ण छ । प्रवेशद्वारनजिकै खुला डम्पिङसाइट त छँदैछ, त्यसमाथि मितेरी पुलदेखिकै सडकको हालत खराब छ ।

धुलाम्य सडकमा यात्रुलाई सास फेर्न कठिन हुन्छ, पानी परेर हिलो भएमा भुइँमा खुट्टा राख्न गाह्रो पर्छ । समस्या वीरगञ्जमा मात्रै छैन, नेपालको भारतसँग जोडिएका धेरै नाकाहरूको अवस्था यस्तै छ ।

मालबाहक सवारीको बाक्लो आवागमन हुने यी नाकामा यात्रु पनि आवतजावत गर्छन् भन्ने कुरा बिर्सिएको छ, सरकारले । त्यसैले नेपालतर्फका सडकहरूको अवस्था धुलाम्य मात्रै छैन, फोहोर पनि छ ।
यसैगरी चीनसँगको मुख्य नाका रसुवागढीको हालत पनि उस्तै छ । सडकको अवस्थाका कारण सडकमार्ग भएर पर्यटकलाई नेपाल आउन कठिन हुन्छ ।

चीनतर्फको सडक राम्रो भए पनि नेपालतर्फ लाग्नासाथै सडकको कन्तबिजोक छ । त्यहाँबाट काठमाडौंसम्म आउन पर्ने कठिनाइकै कारण तिब्बतबाट आउने पर्यटकले पनि हवाईमार्ग नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।

तातोपानी नाकाबाट काठमाडौं आउने सडकको कथा पनि उस्तै छ । विभिन्न ठाउँमा मर्मतको काम त चलिरहेको छ । तर, यात्रुलाई यो अरनिको राजमार्गमा पनि कम्ता सास्ती छैन ।

काठमाडौं भित्रिने नाकाहरूका सडकको पनि हालत खराब छ । मुख्य नाका नागढुंगामा जामको समस्या परिरहन्छ । बल्ल–बल्ल विस्तारको काम सकिन लाग्दा कलंकी–नागढुंगा सडक फेरि बिग्रिन सुरु भइसकेको छ । धूलो उड्ने समस्या केही कम भए पनि निमिट्यान्न भएको छैन ।

देशका मुख्य राजमार्गका विभिन्न खण्डमा पनि खाल्डा भेटिन्छन् । जसले यात्रा कष्ठपूर्ण त बन्छ नै सयम पनि बढी लाग्छ ।

सरकार भन्छः काम भइरहेको छ

सडक विभाग भने सडकमा देखिएका खाल्डा धेरैजसो पुर्ने काम सकिएको दाबी गर्छ । आफ्नो क्षेत्राधिकारभित्रको सडकको नियमित मर्मतसम्भारमा तीव्रता दिएको बताउँछन् विभागमा महानिर्देशक केशवकुमार शर्मा । उनले काठमाडौंमा वर्षौंदेखि रोकिएको सडक विस्तारको कामले पनि गति लिएको दाबी गरे ।

‘चाबहिल–साँखु सडकमा पनि छिट्टै कालोपत्रे गर्ने योजना छ, कलंकी–नागढुंगा लगभग काम सकिने अवस्थामा पुगको छ, गोदावरीतर्फ पनि काम भइरहेको छ,’ उनले भने, ‘सबैतिर काम भइरहेका छन् । सकेसम्म छिटो समस्या भएका सडकलाई पुनर्जीवन दिँदैछौं ।’

विभागका उपमहानिर्देशक शिवहरि सापकोटा पनि यो वर्ष सडक मर्मतका लागि विगतका वर्षमा जस्तो बजेट अभाव नरहेको बताउँछन् । काठमाडौंमा मुख्य सडकहरूको नियमितसँगै आवधिक (पेरियोडिक) मर्मतको काम पनि सुरु गरिएको उनको भनाइ छ ।

‘प्रत्येक ५–५ वर्षमा गर्नुपर्ने सडकहरूको आवधिक मर्मत समयमै गर्न नसक्दा सानो वर्षातमा पनि खाल्डा परिहाल्ने समस्या थियो, अहिले हामीले काठमाडौंमा मुख्य सडकमा अस्फाल्ट थपेरै मर्मत गरिरहेका छौं,’ उनले भने, ‘सधैं टालटुलकै काम चलाएका थियौं भने अहिले सडकलाई भित्रैबाट बलियो बनाउने गरी काम गरेका छौं ।’
तर, कतिपय स्थानमा स्थानीय बासिन्दाको अवरोधको सामना गर्नु परिररहेको विभाग बताउँछ । पर्यटन वर्षलाई भन्दा बढी जनताको सुविधालाई नै ध्यानमा राखेर काम गरिएको विभागको भनाइ छ ।साभार अनलाइनखबर


Facebook Comment


No ads found for this position