भ्रमण वर्ष २०२० प्रभावित हुन सक्ने चिन्ता

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सुरु हुन मुस्किलले चार महिना बाँकी छ । १६ पुसदेखि थालनी हुने भ्रमण वर्षलाई केन्द्रित गरी देशभरमा सयवटा पर्यटकीय गन्तव्य तय भइसकेका छन् । तर, ती गन्तव्यसम्म पुग्ने पहुँचमार्ग (सडक) भने अभाव रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मुख्य २६ गन्तव्यमा पुग्न पहुँचमार्गको नै आवश्यक छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले १६ पुसअघि नै पहुँचमार्ग सम्पन्न हुनुपर्ने बताए । ‘वर्षभरि नै यातायात चल्ने सडकमार्ग निर्माण गर्न सकेको खण्डमा भ्रमण वर्षका लागि ठूलो योगदान पुग्छ,’ उनले भने । संघीय संसद्को विकास तथा प्रविधि समितिमा आयोजित ‘भ्रमण वर्ष २०२० का लागि निर्धारण गरिएका पर्यटकीय गन्तव्यस्थलसम्म पुग्ने सडकमार्गको अवस्था’बारे छलफलमा सचिव अधिकारीले सडक सञ्जालको पहुँच महत्वपूर्ण हुने बताएका हुन् ।

 उपत्यकावरिपरिका पहुँचमार्ग दयनीय
पर्यटन मन्त्रालयले काठमाडौं उपत्यका वरिपरिका नगरकोट, बौद्ध, दक्षिणकाली, ककनीलगायत स्थानमा जाने सडकको अवस्था पनि दयनीय रहेको बताएको छ । मुख्य सडक र काठमाडौं उपत्यका वरिपरिका सडकलाई आपत्कालीन रूपमा काम गरेर सुधार गर्नुपर्ने आवश्यकता रहेको सचिव केदारबहादुर अधिकारीले बताए । बैठकमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दक्षिणकाली जाने सडक दुई महिनाभित्र र नगरकोट जाने सडक ६ महिनाभित्र सुधार गरिसक्ने जानकारी दिए । ककनी सडक भने भारतीय सहयोगमा भारतीय निर्माण व्यवसायीले निर्माण गर्ने सम्झौता भए पनि प्रगति निराशाजनक भएकाले ठेक्का रद्द गरेर भए पनि कामलाई अघि बढाउने बताए ।

त्यस्तै, पर्यटन मन्त्रालयका अधिकारीहरूले काठमाडौंबाहिर जाने कलंकी–थानकोट सडक, पोखरा वरिपरिका सडक, मुस्ताङ जाने बेनी सडक, लुम्बिनी वरिपरिका सडक र पाथीभरासम्म पुग्ने सुकेटारदेखि फेदीसम्मको सडक सुधार तत्कालन थाल्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राष्ट्रिय राजमार्ग मन्त्रालय र सडक विभागको कार्यक्षेत्रअनुसार भएकाले भ्रमण वर्षभित्र तयार गरिसक्ने  जानकारी दिए । ‘संघीय सरकारले ककनी, नगरकोट, साँखु जाने सडकको उच्च प्राथमिकतामा राखेर काम गर्दै छ,’ उनले भने ।

बैठकमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्षमा पर्यटकको सबैभन्दा ठूलो सरोकार हवाई र सडक सुरक्षामा रहेको बताए । ‘यसकारण पनि हामीले सडक र हवाई सुरक्षामा उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता छ,’ उनले भने । बैठकमा सांसदहरूले भ्रमण वर्षबारे मन्त्रालयले स्पष्ट कार्ययोजना र तयार प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 पहुँचमार्ग तयारी थाल्न निर्देशन
संसद्को विकास समितिले भ्रमण वर्षलाई सफल बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न सरोकारवालालाई निर्देशन दिएको छ । ‘लक्षित गरिएका महŒवपूर्ण पर्यटकीय गन्तव्यलाई अझ आकर्षक र स्तरीय बनाउन भ्रमण वर्षअघि नै तयार गरिसक्नू,’ समितिको निर्देशनमा उल्लेख छ । सहज आवतजावतका लागि समन्वय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ‘समितिले दिएका निर्देशनलाई आगामी दिनमा निगरानी गरिरहनेछौँ,’ समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन् ।/जीवन बस्नेत


Facebook Comment


No ads found for this position