मकवानपुरमा बेहोश भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु

काठमाडौं : मंगलबार बिहान मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोश भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होवेन्द्र बोगटीले जानकारी दिए।

मकवानपुरको उत्तरी थाहा नगरपालिका-४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए। उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए। ‘आठै जनालाई अस्पतालले मृत घोषणा गरेको छ, अब अरु कानूनी प्रक्रिया र अनुसन्धानको काम हुन्छ’, मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिं राठौरले भने।

मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय  बैशनव र  ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। मृत्यु हुनेमा २ पुरुष, २ महिला, २ बालिका र २ बालक रहेका छन्।

भारत केरलाबाट उनीहरु सहित १५ जना सोमबार राती करिब ९ बजेको समयमा पोखराबाट दामन घुम्न बा ३ क ३६८८ नम्बरको बससमा आइपुगेका थिए।  दामनस्थित पानोरोमा रिसोर्टमा ४ वटा रुम बुकिङ गरेकोमा  ८ जना  १ वटा रुममा हिटर बाली सुतेको थिए। मंगलबार बिहान साढे ९ बजेसम्म ढोका नखुलेपछि होटलका कर्मचारीले हेर्दा ८ जना बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी सिमभन्ज्याङ र इलाका प्रहरी कार्यालय पालुङका प्रहरीले उनीहरुको उद्धार गरी काठमाण्डौंस्थित हेम्स अस्पताल पठाएका थिए। अस्पतालले मंगलबार दिउँसो १२ बजेको समयमा आठै जनालाई मृतक घोषणा गरेको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए।

दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको कारण अक्सिजनको अभावमा उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने मकवानपुर प्रहरीको प्रारम्भिक अनुमान छ । १५ जनाको समूहमा दामन पालुङ घुम्न आएका भारतीय नागरिकमध्ये एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए।


Facebook Comment


No ads found for this position