मार्फाकाे सुन्दरता (फाेटाे फिचर)

मार्फा गाउँ ।

 

मुस्ताङको मार्फा गाउँ (२,६८० मिटर) भन्नासाथ स्याउ उत्पादनका लागि प्रख्यात छ । तर, थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक वास्तुकला देख्न पाइने यो ठाउँ पर्यटकीय गन्तव्य पनि हो।

शब्द /तस्विर :भरतबन्धु थापा

बाह्य पर्यटकमाझ प्रिय अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्री तथा मुस्ताङ घुम्न जानेहरू मुक्तिनाथ, कागबेनीसँगै थकाली समुदायको यो गाउँमा रमाउँछन् ।

वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती मार्फाको विशेषता हो, चौडा छत भएका गुजमुज्ज घरहरू ।

मरुभूमि जस्तै पाखाको बीचमा रहेको बस्तीलाई स्याउको घना बगैंचाले सजाएको छ । गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ ।

आन्तरिक पर्यटकको रोजाइमा पर्ने मुक्तिनाथ जाने बाटोमै पर्छ, मार्फा । तर, यहाँ त्यति धेरै पर्यटक पुग्दैनन् । मुक्तिनाथ जाने सडक गाउँभन्दा केही तलै रहेकाले यस्तो भएको मुस्ताङका पर्यटन व्यवसायी सुरज गुरुङ बताउँछन् । मार्फामा उत्पादित स्याउको स्वाद देशभित्र मात्र सीमित छैन । यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ब्राण्डी र वाइन विदेशमा प्रख्यात छ ।

मार्फा गाउँ र गुम्बा ।

कसरी पुग्ने ?
पोखराबाट मार्फा जान बसमा १० घण्टा लाग्छ । विमानमा जाँदा पोखराबाट जोमसोम विमानस्थल र त्यहाँबाट सवारी साधनमा २० मिनेटमा मार्फा पुगिन्छ । यहाँ पर्यटकका लागि सुविधायुक्त होटल र रेस्टुरेन्ट छन् । मार्फाबाट करीब डेढ घण्टाको ‘ड्राइभ’ मा कागबेनी पुगिन्छ भने कागबेनीबाट मुक्तिनाथ जान एक घण्टा लाग्छ ।

जति आन्तरिक पर्यटक मार्फामा पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन्

मणिराज लामिछाने
प्रमुख, नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश)

मार्फालाई सडक संजालले छोएलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि  भएको हो । तर, जति आन्तरिक पर्यटक मार्फामा पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन् ।

यसको प्रमुख कारण पोखरा–मुक्तिनाथको सडक मार्फा गाउँभन्दा केही तल भएर जाने भएकाले हो ।  सामान्यतया गन्तव्यभन्दा अन्यत्र के छ भनेर पूर्व जानकारी नलिएर गन्तव्यस्थल जाने आन्तरिक पर्यटकको बाहुल्य रहेकाले पनि मार्फा आन्तरिक पर्यटकका लागि ओझेलमा परेको हो । तर, बाह्य पर्यटकका लागि भने मार्फा निकै प्रख्यात छ ।

मुक्तिनाथ जाने पर्यटक मार्फा बसेर जाँदा राम्रो हुन्छ । किनभने कहिलेकाहीँ मुक्तिनाथमा अत्यधिक आन्तरिक तथा भारतीय पर्यटकले भरिभराउ हुँदा बास बस्न समेत मुस्किल हुन्छ यसको वैकल्पिक उपाय मार्फा हुन सक्छ ।यसैगरी जोमसोममा कहिलेकाहीँ मौसम प्रतिकूल हुँदा मार्फा घुम्न पनि सकिन्छ । आन्तरिक पर्यटक सामान्यतया सुनेका गन्तव्यहरूमा जाने गर्दछन् ।

यसकारण पनि मार्फा अलि ओझेलमा परेको हो । मार्फा वाइनको ब्रान्डीमा विश्वभर प्रख्यात भए पनि नेपालमा त्यति प्रख्यात छैन ।

यही कुरालाई मध्यनजर गर्दै पोखरादेखि माथिल्लो मुस्ताडसम्म पुग्दा कहाकहाँ कस्ताखालका पर्यटकीय स्थल छन् भन्ने जानकारी दिन विभिन्न स्थानमा सूचनामूलक बोर्डलाई अझ ब्यापक रूपमा राख्ने सोच बनाएका छाै‌ं

 

मार्फा जाँदा बाटोको दृश्य ।
मार्फा जाँदा म्याग्दीको गलेश्वर मन्दिर ।
मार्फा जाँदा बाटोमा रुप्से झरना
मार्फा जाने सडक।

 

मार्फा जाँदा बाटोमा झोलुंगे पुल।


Facebook Comment


No ads found for this position