यी हुन्ः दसैँमा घुम्न सकिने मुख्य गन्तव्यहरू

शरद ऋतुको आरम्भसँगै मौसम पनि रमणीय बन्छ । गर्मी सकिन्छ, वर्षाको हिलोमैलो पनि सकिन्छ र चिसो आइसकेको हुँदैन । यही समयमा चाडपर्वको पनि आगमन हुन्छ । अझ लामो बिदा हुने दसैँ त मुखमै हुन्छ । यो मौसमले घुमघामका लागि उत्प्रेरित गरिरहेको हुन्छ । यो समयलाई धेरैले देशदर्शनका रूपमा पनि लिन्छन् ।

दसैँ बिदामा तपाईं पनि घुम्ने योजनामा हुनुहुन्छ ? देशभित्रका केही यस्ता गन्तव्य छन्, जसले दसैँ बिदामा मनोरञ्जन थप्छ । आन्तरिक पर्यटकका लागि घुम्न उपयुक्त मौसम दसैँतिहार छेककै हो । यो वेला आफ्नो बजेट र समयअनुसार गन्तव्य पनि छान्न सकिन्छ । त्यसका लागि केही पर्यटन व्यवसायीले प्याकेज पनि बनाएका छन् । यो दसैँमा घुम्न सकिने मुख्य गन्तव्य यी हुन्ः

पोखरा
पोखरा सदाबहार पर्यटकीय गन्तव्य हो । बाह्रैमहिना होटेल तथा आतिथ्य सेवा उपलब्ध हुने भएकाले पनि यो गन्तव्यले पर्यटक आकर्षित गरिरहेको छ । दसैँ बिदामा सपरिवार त्यो पनि आफ्नै सवारीमा जान चाहनेहरूका लागि पोखरा उपयुक्त गन्तव्य हो । यहाँ प्रतिस्पर्धी मूल्यमा पाहुनाले सेवा प्राप्त गर्छन् । सस्तो–महँगो होटेलहरू उपलब्ध भएकाले पनि पोखरा सबै प्रकारका पाहुनाको सेवाका लागि तयार हुन्छ । पर्यटकले आफ्नो क्षमताअनुसार खर्च गर्न सक्छन् । पोखराका तालतलैया, आसपासका धम्पुस, पुनहिल पुगेर प्रकृतिको समीपमा रमाउनेहरूलाई यो दसैँ
स्मरणीय हुनेछ ।

चितवन/बर्दिया
जंगल सफारी, वन्यजन्तु अवलोकन र नदीजन्य पर्यटकीय गतिविधिमा रमाउने हो भने चितवन र बर्दिया उपयुक्त गन्तव्य हुन् । खासगरी होटेल, रिसोर्ट तथा होमस्टेसम्मको सुविधा रहेका यी गन्तव्यमा पाहुनालाई सेवा दिन तत्पर रहन्छन् । चितवन र बर्दियामा पनि आफ्नो क्षमताअनुसार खर्च गर्न सकिन्छ । बिस्तारै तराईको गर्मी कम हुने मौसम भएकाले मज्जाले रमाउन सकिन्छ । हात्ती सफारी, जिप सफारी, स्थानीय मौलिक सांस्कृतिक नाचगान र परिकारमा रमाउनेहरूका लागि यी गन्तव्य उपयुक्त छन् ।

जोमसोम/लोमान्थाङ
मुस्ताङ दसैँ बिदामा घुम्न निकै उपयुक्त गन्तव्य हो । मुस्ताङको जोमसोम बजार, धार्मिक गन्तव्य मुक्तिनाथ मन्दिरको दर्शन गर्दा निकै रोमाञ्चक यात्रा हुन्छ । जोमसोम बजारवरपरको पठार क्षेत्र, थाकालीको मौलिक संस्कृति, खानपानले पनि निकै आकर्षण बढाएको छ ।

निलगिरि, धौलागिरि हिमालको दृश्यसँगै कालीगण्डकीको सुन्दरता देख्न पाइन्छ, यो यात्रामा । त्यसैगरी, स्याउँ गाउँ झनै सुन्दर देखिन्छ । जोमसोम र मुक्तिनाथबीचमा पर्ने कागबेनी झन् आकर्षक लाग्छ । हिमाली जीवन, आकर्षक पठार, हिमालसँगको साक्षात्कार, हजारौँ वर्षअघिको नेपालको ऐतिहासिकता, पुरातात्विक संरचना अनि चीनको तिब्बतझै लाग्ने भू–बनोट । अर्थात्, नेपालको मरुभूमि पनि हो, मुस्ताङ ।

 

मरुभूमिजस्तै भए पनि मनमोहक दृश्यले यात्रुलाई बाँधी राख्छ । मौरीका चाकाझैँ गुजुमुज्ज घर, आदिमकालको गढी र किल्लाको झझल्को पाइन्छ । उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो हो ।

अन्नपूर्ण, धौलागिरि हिमाल निकै आकर्षक र आफूभन्दा होचाजस्तो देखिन्छन् लोमान्थाङबाट । जोमसोमबाट मास्तिर लागेपछि कागबेनीदेखि नै आकर्षक पठारबीचमा स–साना बस्ती देखिन्छन् । लोमान्थाङ कुनै वेला स्वतन्त्र राज्य थियो भने तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग । काठमाडौंबाट गाडीमा पोखरा र पोखराबाट जोमसोम पुग्न सकिन्छ । मुस्ताङमा खान बस्नको सुबिस्तासहित राम्रा होटेलहरू छन् ।

त्यस्तै, मुस्ताङबाट लोमान्थाङ पनि पुग्न सकिन्छ । लोमान्थाङ पुग्न जोमसोमबाट छुसाङसम्म दुई घन्टा र त्यहाँबाट चैलेसम्म करिब ४५ मिनेट हिँड्नुपर्छ । मुस्ताङगेट पार गरेपछि लोमान्थाङ जाने जिप पाइन्छ, बिहान ८ बजे । समर, साङ्बोचे, घमी, गिलिङ, चराङ हुँदै लोमान्थाङ ४ बजेतिर पुगिन्छ ।

अन्नपूर्ण पदयात्रा
लोकप्रिय पदयात्रा मार्गमध्ये अन्नपूर्ण एक हो । सामान्यतया अन्नपूर्ण पदयात्रा सर्किट पूरा गर्न तीन साता लाग्छ । तर, अहिले यातायातको सुविधा भएकाले पदमार्गमा पाँच रात/६ दिनसम्मको छोटो र रमाइलो पदयात्रा सम्भव बनेको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट सुरु हुने यो पदयात्रा मनाङका विभिन्न स्थान बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङसम्म पुग्ने गर्छ । त्यहाँबाट मुक्तिनाथ, जोमसोम हुँदै बेनी झर्ने या घोरेपानी हुँदै पोखरा झरेर पनि यो पदयात्रा पूरा गर्न सकिन्छ । सामान्यतया प्रतिव्यक्ति २०–२५ हजार रुपैयाँको जोहो गरेर समूहमा निस्कने हो भने रोमाञ्चक यात्राको अनुभव लिन सकिन्छ ।


खप्तड
धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य भएको स्थान घुम्न रुचाउने नेपालीका लागि आकर्षक गन्तव्य हो, खप्तड ।

चिसो मौसमा हिउँले ढाकिन्छ भने वैशाख–जेठमा विभिन्न प्रजातिका फूलहरू फुल्छन् । विशाल फाँटहरू निकै आकर्षक छन् । खप्तडबाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा र केदारढुंगाजस्ता धार्मिक स्थलले खप्तड क्षेत्रको आकर्षण बढाएको छ । खप्तड क्षेत्रमा ठूला–साना गरी २२ वटा आकर्षक पाटन छन् ।

 

काठमाडौदेखि धनगढी ६ सय ५० किमि गाडी यात्रा वा काठमाडौंबाट धनगढीसम्म हवाईयात्राबाट पुग्न सकिन्छ । धनगढीबाट डोटीको सिलगढीसम्म बसमा आठ घन्टा लाग्छ । त्यहाँबाट बगलेगसम्म जिप रिजर्भ गरेर पनि लान सकिन्छ । पैदल यात्राको पहिलो दिन झिगराना, दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ । यो यात्रा निकै टाढा र सहासिक तथा समय पनि बढी लाग्ने भएकोले खर्चको जोहो गरेर जानु उपयुक्त हुन्छ ।

रारा ताल
चारैतिर सल्लाघारी । बीचमा निलो कञ्चन र स्निग्ध ताल । त्यही तालमा पौडी खेलिरहेका हुन्छन् चंखेली र काञ्जिरोवा हिमाल । अनि दिनमै तीन/चारपटक रंग बदल्ने पानी । तालको छालसँगै पर्यटकको मन रोमाञ्चित हुन्छ, सुन्दरताले । यो रहरको गन्तव्य पनि हो । समुद्री सतबाट दुई हजार नौ सय ९० मिटरमा रहेको रारा तालमा स्नो ट्राउट माछा पाइन्छ, जुन संसारमा अन्यत्र पाइँदैन ।

 

तालको वास्तविक दृश्यचाहिँ चार हजार मिटरमाथिको मुर्माटप लेकबाट देखिन्छ । यो देशकै ठूलो ताल पनि हो । गत वर्ष करिब ६० हजार आन्तरिक पर्यटक पुगेको तथ्यांक छ, रारामा । नेपालगञ्ज र सुर्खेतको वीरेन्द्रनगरबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । र, ताल्चाबाट करिब तीन घन्टा पैदल यात्रापछि रारा पुग्न सकिन्छ ।

सुर्खेतदेखि दुईदिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब तीन घन्टा पैदल यात्रामा रारा पुगिन्छ । निजी फोर ह्विल गाडी छ भने त्यसमै हुइँकिँदा पनि हुन्छ । खानेबस्नेलगायत औसतमा दैनिक दुई हजार खर्च लाग्छ । नेपालगञ्जबाट ताल्चा विमानस्थलसम्मको यात्रा करिब चार हजार भए पुग्छ । हवाई यात्रा यकिन हुँदैन । त्यसैले खर्च बढी बोक्दा राम्रो हुन्छ । अहिले पर्यटन व्यवसायीले प्याकेज पनि तयार गरेका छन् ।

भेडेटार/इलाम
पूर्वी नेपालका दुई घुम्नैपर्ने गन्तव्य हुन्, इलाम र भेडेटार । धरान र धनकुटा आसपासका क्षेत्रबाट भेडेटार सजिलै पुग्न सकिन्छ । पूर्वी नेपालको तराई भेगबाट निकै नजिकै इलामजस्तो सुन्दर र शीतल स्थान हुनु आफैँमा अलौकिक संयोग हो । यी दुई गन्तव्यमा पनि पाहुनाले खाने बस्ने स्थानको चिन्ता गर्नुपर्दैन । आतिथ्य सेवाको राम्रो सुविधा रहेको यहाँ सार्वजनिक यातायातका माध्यमबाट सजिलै पुग्न सकिन्छ । सहरी कोलाहलबाट केही दिन भए पनि छुटकारा पाउने सोच बनाइरहनुभएको छ भने भेडेटार र इलामलाई दसैँ बिदाको यात्रा सूचीमा समेट्दा हुन्छ ।


लुम्बिनी/पाल्पा
शान्तिसँग दसैँ बिदा मनाउने अर्को आकर्षक गन्तव्य हो लुम्बिनी । लुम्बिनी अवलोकन गरी पाल्पासम्मको सुन्दरतामा रमाउन सकिन्छ । देशको जुनसुकै कुनाबाट आए पनि लुम्बिनी अवलोकन गरेर भैरहवा वा बुटवलमा वास बसी अर्को दिन पहाडी जिल्ला पाल्पातर्फ लाग्न सकिन्छ । यी दुवै गन्तव्यमा पनि होटेल र आतिथ्य सेवाको राम्रो व्यवस्था छ ।

 

लुम्बिनीको छिटफुट पसिना आउने गर्मी छल्दै पाल्पाको चिसोमा रमाउन सकिन्छ । आफ्नै सवारी लिएर निस्कँदा पनि हुन्छ, यातायातको राम्रो सुविधा भएकाले सार्वजनिक गाडीमा पनि कठिनाइ भोग्नुपर्दैैन । पाल्पाको श्रीनगर, रानीमहल तथा तानसेनले पर्यटकलाई मोहित बनाउँछ ।

कालिञ्चोक
राजधानीबाट नजिक आकर्षक गन्तव्यमा रमाउन चाहनेका लागि कालिञ्चोक उपयुक्त स्थान हो । सामान्यतया एक रात दुई दिनमा कालिञ्चोक दर्शन गरी काठमाडौं फर्कन सकिन्छ । देशका अन्य भेगबाट आउँदै हुनुहुन्छ भने पनि यातायातको सुविधा पुगिसकेको कालिञ्चोकमा असुविधा छैन । कालिञ्चोक निस्कनुअघि दोलखा भीमसेनको पनि दर्शन गर्न सकिन्छ । यस वर्ष भने सडक विस्तारका कारण दोलखासम्म मोटरसाइकलमा हुइँकिनु जोखिमपूर्ण छ ।

लाङटाङ
रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल (७ हजार २ सय ४५ मिटर) र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो ।

काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ ।

 


Facebook Comment


No ads found for this position