यी हुन् घुम्नका लागि चितवनका राम्रा गन्तब्यहरु

सुधिर भण्डारी

पर्यटकीय क्षेत्रका रुपमा अघि बढेको चितवन घुम्न जाने सोच बनाउनुभएको छ भने यहाँ धेरै ठाउँ सुन्दर र आकर्षक छन्। काठमाडौंबाट मुग्लिन हुँदै जाँदा १ सय ६५ किलोमिटर सडक दुरीको यात्रापछि चितवन पुगिन्छ। राजधानीबाट धेरै टाडा नरहेकाले यहाँको कोलाहल, धुलो, धुँवाबाट केही समयको लागि मुक्त हुन चितवन एउटा राम्रो गन्तव्य हो। धेरैलाई चितवनमा सौराहाबाहेक अन्य क्षेत्र थाहा नहुन सक्छ।

सौराहा मात्रै नभई मेघौली, सिराई चुली, उपरदाङगढी, लामो झरना पनि यहाँका घुम्नलायक स्थानहरु हुन्। यद्यपी ति क्षेत्र पुग्न सहज सडक नहुँदा पछाडि परेको चितवन पर्यटन पत्रकार मञ्चका अध्यक्ष सुर्यप्रकाश खरेल बताउँछन्।
पछिल्लो समय चितवनमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भए पनि अपेक्षाकृत रुपमा वाह्य पर्यकको संख्या बढ्न नसकेको आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्स (भरतपुर)का म्यानेजिङ डाइरेक्टर उद्धवकुमार कोइरालाले बताए।
उनले भने ‘अहिले चितवनको पर्यटन सिजनेवल मात्रै छ, तर केही पूर्वाधारको विकास गर्न सके, बाह्रैमास यहाँ धेरै संख्यामा पर्यटक भित्र्याउन सकिन्छ।’हाल नारायणढ–मुग्लिन सडकखण्डको दुरावस्थार चितवनभित्रै पनि मुख्य पर्यटकीय स्थलमा पुग्ने सडकहरुको स्थिति राम्रो नभएका कारण यहाँ बढी पर्यटक ल्याउन नसकिएको कोइरालाले बताए।
यी हुन् चितवनका मुख्य पर्यटकीय गन्तब्यहरु
सौराहा
यहाँको प्रमुख पर्यटकीय गन्तब्य हो राष्ट्रिय निकुन्ज प्रमुखद्धारको रुपमा रहेको सौराहा। महेन्द्र राजमार्गबाट करिब ७ किलोमिटर भित्र अवस्थित सौराहा चितवन जाने पर्यटकको लागि मुख्य गन्तव्य बन्ने गरेको छ।  यहाँ पर्यटकको लागि सस्तोदेखि महँगो र गुणस्तरीय होटलहरु उपलब्ध छन्। सौराहमा १ रातको सस्तोमा ८ सय देखि महँगोमा ८ हजार सम्मका कोठा उपलव्ध रहेको होटल व्यवसायीहरु बताउँछन्।
भुकम्पपछि केही सुस्ताएको सौराहा अहिले क्रमिक रुपमा उकासिँदै गएको सौराहास्थित चितवन भिलेज रिसोर्टका सञ्चालक राजेन्द्र भण्डारीले जानकारी दिए।‘पोहोर साल भूकम्पपछि पर्यटक नगन्य मात्रामा आए, अहिले विस्तारै संख्या बढ्दो क्रममा छ’ उनले भने ‘यही अनुपातमा पर्यटकको संख्या बढ्ने हो भने अबको २ वर्षमा चितवनले राम्रो फड्को मार्छ।’हालै सम्पन्न महोत्सवले पनि पर्यटकलाई आकर्षित गर्न ठूलो मद्दत पुग्यो। यहाँका होमस्टेमा बस्दा थारु, दराइ समुदायको संस्कृति तथा रहनसहनको अनुभव लिन सकिन्छ। थारु साँस्कृतिक नाच, भिलेज वाक, बोटिङ तथा राप्ती नदीको किनारबाट निकै सुन्दर सुर्यास्तको पनि मज्जा लिन सकिन्छ।
हात्तीको प्रजनन केन्द्र पनि रहेकाले अध्ययन गर्न चाहनेलाई पनि यो क्षेत्र महत्वपूर्ण रहेको छ। विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाले पनि पर्यटकको ध्यान तान्ने गरेको छ। पर्यटकहरुले पैदल (जंगल वाक), जिप सफारी र हात्ती सफारीबाट  निकुञ्जका जनावरहरु, चरा चुरुङ्गी, जंगली बनस्पतीको अवलोकन गर्दछन्।
जिप सफारीको माध्यमबाट निकुञ्ज अवलोकन गर्न जाने नेपाली र सार्क राष्ट्रका पर्यटकहरुले १६ सय तथा अन्य देशका पर्यटकहरुले १८ सय दस्तुर तिर्नुपर्ने हुन्छ। त्यस्तै हात्ती सफारीबाट अवलोकन गर्न चाहने नेपाली पर्यटकले १४ सय, सार्क राष्ट्रका पर्यटकले १८ सय र अन्य देशका पर्यटकले २५ सय शुल्क तिर्नुपर्ने हुन्छ।
जंगल वाकको लागि नेपाली पर्यटकले १ हजार र विदेसी पर्यटकले १६ सय तिर्नुपर्छ। यस बाहेक निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकलाई १ सय १५, सार्क राष्ट्रका पर्यटकलाई ८ सय ५० र अन्य देशका पर्यटकलाई १६ सय ९५ दस्तुर तोकिएको छ।
मेघौली
सौराहापछि मेघौली विस्तारै पर्यटकको नजरमा पर्न थालेको ठाँउ हो। यहाँ पनि सुविधा सम्पन्न होटलहरु छन्। भरतपुर चौबीसकोठीबाट करिब ३५ किलोमिटर भित्र रहेको मेघौली पर्यटकको लागि ‘भर्जिन एरिया’ भएको चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनाली बताउँछन्।‘चितवन आउने पर्यटकमध्ये निकै कम मात्रै मेघौली जान्छन् तर पर्यटकीय दृष्टिकोणले मेघौलीले पनि राम्रो सम्भावना बोकेको छ’ उनले भने। यहाँको गोही प्रजनन केन्द्र नै मुख्य आकर्षक रहेको मैनालीले जानकारी दिए।
यहाँबाट पनि हात्ती सफारी, जिप सफारी र जङ्गल वाक गरेर चितवन राष्ट्रिय निकुञ्ज घुम्न सकिन्छ। याँहाको शुल्क पति सौराहमा तोकिए जति नै रहेको मेघौली पर्यटन व्यवसायी रामहरी कुँवरले जानकारी दिए। मैघौर्लीमा पनि थारु होमस्टे छ जहाँ आदीबासी थारुको जीवन शैलीको अनुभव लिन सकिन्छ।
सिराइचुली
सिराइचुली चितवनको सबैभन्दा उच्च भाग हो। यो समुन्द्र सतहबाट करिब १ हजार ९ सय ४२ मिटरको उचाइमा अवस्थित छ। यो चितवनको पहाडी भू–भागमा पर्दछ। यहाँबाट निकै उत्कृष्ट सूर्योदय देख्न सकिन्छ। चितवन पर्यटन विकास समितिका अध्यक्ष मैनालीका अनुसार आकास खुलेको समयमा यहाँबाट भरतपुर र नारायणगढ शहर देख्न सकिन्छ।
 सिराइचुली पुग्न धादिङको हुदिखोला र चितवनको शक्तिखोरबाट ट्रेकिङ जान सकिन्छ। हुदिखोलाबाट जाँदा ५–६ घण्टा ट्रेकिङ गरेपछि सिराइ चुलीको फेदीमा पुग्न सकिन्छ। त्यहाँ चेपाङ र गिरीपुरी जातिको जीवनशैलीको अध्ययन गर्न सकिन्छ।
 भोलिपल्ट बिहान फेदीबाट ४ बजे हिँडेर सिराइचुली पुगेपछि ५ः३० को सूर्याेदय देख्न सकिन्छ। यहाँबाट देखिने दृष्य दार्जिलिङबाट देखिने सूर्याेदयभन्दा कम नरहेको चितवन पर्यटन पत्रकार मञ्चका अध्यक्ष खरेल दावी गर्छन्।यहाँको अर्को विशेषता भनेको सिजनमा निकै राम्रा लालिगुँरास फूलेका दृष्यहरु अवलोकन गर्न सकिन्छ। पर्यटकिय दृष्टिकोणले यो ठाउँको निकै सम्भावना रहे पनि सवारी साधनमा घुम्न चाहनेलाई सडकको राम्रो व्यवस्था नहुँदा ट्रेकिङकै बाध्यता छ।
 उपरदाङगढी
उपरदाङगढी चितवनको ऐतिहासिक स्थल हो। यो चितवनको पहिलेको सदरमुकाम पनि हो। यो गढी अंग्रेजहरुसँगको युद्धको समयमा बहादुर शाहका नाति देब भन्जन शाहले बनाएको स्थल हो।
युद्धका बेला अंग्रेजलाई जित्न यो उच्च स्थान भएकाले यो गढी ऐतिहासिक थलोको रुपमा परिचित छ। खरेलका अनुसार पुरातात्विक पर्यटनको दृष्टिकोणले यो ठाउँले निकै सम्भावना बोकेको छ।यहाँबाट निकै राम्रो सुर्यास्त देखिन्छ। यहाँ जानको लागि चितवनको शक्तिखोरबाट डेढ घण्टा पैदल हिँड्नुपर्छ। उपरदाङगढीमा चेपाङ र मगर जातिका होमस्टेहरु छन्। मगर सँस्कृति, रितिरिवाज, भेषभुषा झल्कनेगरी यहाँ पाहुनाहरुलाई राम्रो स्वागत गरिन्छ।
लामो झरना
मुग्लिनबाट ५ किलोमिटर दुरीमा पर्ने जलविरे भन्ने ठाउँमा अवस्थित लामो झरना पनि पर्यटकको आकर्षक बन्ने गरेको छ। यहाँको यो सबैभन्दा लामो झरना हो। पहिले यसको खासै वास्ता नगरिए पनि अहिले भने पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ।यहाँ आउने आन्तरिक पर्यटकको संख्या पर्याप्त रहे पनि अन्तर्राष्ट्रिय पर्यटक अझै पहल नभएजस्तो देखिन्छ। यद्यपी पछिल्लो समय यसको विकासका लागि लामो झरना पर्यटन विकास समिति नै बनाइएको छ। यहाँ बिशेषत गर्मी मौसममा पर्यटकहरुको भीड लाग्ने गर्दछ। पर्यटकहरु झरनाको पानीमा रुझेर मनोरञ्जन लिने गर्दछन्।


Facebook Comment


No ads found for this position