यी हुन् सुर्खेतका पर्यटकीय गन्तव्य

सुखेर्त कर्णाली प्रदेशकाे राजधानी हाे । सुर्खेतकाे बुलबुले ताल, काँक्रेविहार र देउतीबज्यैको दर्शन प्रमुख पर्यटकीय केन्द्र हुन् । कर्णाली प्रदेशको राजनधानी भएसँगै   कर्णाली प्रदेशका पर्यटकीय स्थलहरू जाने  पर्यटको संख्यामा पनि बढेको छ । कर्णालीका थुप्रै पर्यटकीयस्थलमध्येको सुर्खेत पनि एक हो । प्रदेश सरकारले यो वर्षलाई कर्णाली रारा भ्रमण वर्ष घोषणा गरेकाले पनि यहाँ पर्यटक आउने क्रम बढेको हो । सुर्खेतबाट खगेन्द्र भट्टराईको रिपोर्टः

देउती बज्यै
गंगामाला देउती बज्यैको मन्दिर यहाँको चर्चित धार्मिक केन्द्र हो । देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।
बुलबुले ताल
बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । सुर्खेत प्रदेश राजधानी घोषित भएपछि बुलबुले तालमा आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएकाले तालको नाम बुलबुले राखिएको बूढापाकाहरू बताउँछन् । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्तिपार्क, पिकनिकस्थलसहित तालमा एउटा डुंगा पनि सञ्चालनमा रहेको छ । तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ ।

काँक्रेविहार
काँक्रेविहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ । १३औँ शताब्दीमा काँक्रेविहारको निर्माणको अनुमान छ । तर, यसको आधिकारिक तथ्य भने भेटिएको छैन । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गरेको किंवदन्ती छ । काँक्रेविहारको भग्नावशेष हेर्दा उत्कृष्ट शिल्पकारी कालिगडले विभिन्न आकारमा रहेका ढुंगामा विभिन्न प्रकारका बुट्टाहरू कुँदेको देखिन्छ । जंगलभरि यस्ता बुट्टाहरू कुँदिएका ढुंगा भेटिन्छन् । बुद्धको मूर्ति पाइनु र नामको पछाडि विहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धित मानिएको छ ।

कसरी पुग्ने सुर्खेत ?
काठमाडौंबाट सुर्खेत आउन हवाईमार्ग र स्थलमार्ग दुवै सुविधा छ । दिनमा एकपटक काठमाडौंबाट सुर्खेत हवाई उडान हुन्छ । स्थलमार्गमा पनि विभिन्न यातायात कम्पनीका सुविधासम्पन्न गाडी सञ्चालनमा छन् । काठमाडांैबाट सुर्खेत पुग्न गाडीमा १४ घन्टा लाग्छ । एक घन्टा १० मिनेटको हवाई यात्रापछि काठमाडौंबाट सुर्खेत पुगिन्छ । गाडीमा १२ सयदेखि दुई हजार रुपैयाँमा सुर्खेत पुगिन्छ भने हवाईजहाजमा ७ हजार ६ सय देखि ११ हजारसम्म भाडा लाग्छ ।


Facebook Comment


No ads found for this position