रंगीबिरंगी फूलले राराको सौन्दर्य (फाेटाे फिचर)

कर्णाली प्रदेशको मात्र नभई देशकै प्रमुख पर्यटकीय स्थल रारा किनारमा प्राकृतिक रुपमा फुलेका अनेक रंगीबिरंगी फूलले राराको सौन्दर्यमा झनै रमणीयता थपिएको छ ।

रारा तालवरिपरि प्राकृतिक रुपमा फूलेका फूल कुनै बगैंचामा लगाइएका फूल जस्तै देखिन्छन् । जसले राराको सुन्दरतालाई झनै लोभलाग्दो बनाएको छ । यहाँ पुग्दा लाग्छ याे कुनै अलाैकिक फूलबारी हाे कि !

५० बढी प्रजातिका फूलहरू फुल्ने यहाँ वैशाखदेखि शुरु भई भदौको दोस्रो सातासम्म फुल्दै रारालाई सिंगार्ने गर्दछन् । शायद यही साैन्दर्यलाई कवि भावनामा ‘रारा कि अप्सरा’ काे रुपमा मविवि शाहले कविता गुथेका हाेलान् ।

यसबेला रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक रंगीचंगी फूलको रङ र बास्नामा लठ्ठ पर्दै प्रकृतिको सौन्दर्यमा हराउने गरेका छन् ।

रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले पनि रारा पुग्ने जो कोही यतिबेलाको राराको सुन्दरतामा लठ्ठ नपरेको र मनैदेखि ‘आहा !’ नभन्ने कोही नभएको बताउँछन् ।

राराको सुन्दरतालाई नियाल्न सहज होस् भनेर ताल क्षेत्रका विभिन्न स्थानमा ३ वटा भ्यूटावर समेत निर्माण गरिएको उनको भनाइ छ । आगामी दिनमा थप टावर बनाइने उनले बताए ।

रारालाई सधैं सफा र स्वच्छ राख्न नेपाली सेनाले रारा सरसफाइलाई नियमित बनाएको छ । ताल क्षेत्र वरिपरि महीनामा नियमित २ पटक नेपाली सेनाले सरसफाइ गर्दै आएको श्रीदल गुल्म राराका गुल्मपती सेनानी रवि केसीले बताए ।

ताल सरसफाइ नियमित गर्नाले ताल आसपासमा यो वर्ष फूलहरू अझै राम्रो फुलेको उनको भनाइ छ ।

ताल सरसफाइ अन्तर्गत यो वर्ष रारामा श्रीदल गुल्मले २ वटा चारकोठे सार्वजनिक शौचालय र रारा राष्ट्रिय निकुञ्जले ३ वटा शौचालयको निर्माण गरेको छ । शब्द/ तस्वीरः अच्युतराज भण्डारी


Facebook Comment


No ads found for this position