लाप्राकको सुन्दरता (फोटो फिचर)

 प्रबिन कोइराला

लाप्राक (गोरखा)- उत्तरी गोरखाको लाप्राक प्राकृतिकरुपमा जति सुन्दर छ, त्योभन्दा अझ बढी सरल लाग्छन्- यहाँका मान्छे। हाँसिला र मिजासिला स्वभावका लाप्राकबासी स्वदेशी तथा विदेशी पाहुनालाई मिठो मुस्कानले स्वागत गर्न कन्जुस गर्दैनन्। भूगोलले विकट भए पनि यहाँका मनिसहरुको व्यवहार निकै विकसित अनुभव हुन्छ।

गोरखाको उत्तरी गाउँ लाप्राक समुन्द्र सतहभन्दा २१ सय ५० मिटरको उचाइमा अवस्थित छ। २०७२ वैशाख १२ को महाभूकम्पले यहाँको भौतिक संरचना ध्वस्त पार्यो। गाउँका ६ सय ११ घर सबै ध्वस्त भए। २० जनाले ज्यान गुमाए। सयौं घाइते भए। तर यत्रो विपत्पछि पनि यहाँका मानिसहरुको अनुहारमा मुस्कान ताजा छ।

बुद्ध र गणेश हिमालको काखमा अवस्थित लाप्राकलाई छिनमै बादलले छोप्ने र छिनमै खुल्ने चक्र एउटा प्राकृतिक लुकामारी झैँ लाग्छ। बादल फाटेपछि सेतो हिमाल आँखै अगाडि आइपुछ। बिहानी घामको पहिलो किरण हिमालमा पर्दा देखिने दृश्य आफैँमा एउटा सुन्दर आर्ट जस्तो भान हुन्छ।

गोरखा सदरमुकामदेखि तीन घन्टा गाडी यात्रामा पुगिने लाप्राकमा यतिबेला पुनःनिर्माणको काम भइरहेको छ। गैरआवासीय नेपाली संघको लगानीमा गुम्सीपाखामा विकसित गर्न लागिएको एकीकृत नमूना बस्ती निर्माणमा स्थानीय आफैँले पनि काम गरिरहेका दृश्य देखिन्छन्।

‘आगामी अक्टोबरभित्र बस्ती बसाउने गरी काम गरिरहेका छौं’, संघ उपाध्यक्ष कुमार पन्त भन्छन्। एकीकृत वस्ती निर्माणका लागि अध्यक्ष शेष घले तथा श्रीमती जमुना गुरुङ दुई महिनादेखि लाप्राक केन्द्रित भएरै काम गरिरहेका छन्।साभार नागरीक





















Facebook Comment


No ads found for this position