लुम्बिनीमा ‘चिनियाँ ’ बढ्दै ‘जापानी’ घट्दै

रुपन्देही-तेइस वर्षअघि अर्थात सन् १९९६ मा लुम्बिनी भ्रमणमा आउने कुल विदेशी पर्यटकको संख्याको ३७ प्रतिशत पर्यटक जापानबाट आएका थिए । त्यो वर्ष कुल २५ हजार ४ सय विदेशी पर्यटक लुम्बिनी आउँदा जापानी पर्यटकहरूको संख्या ९ हजार ४ सय ५ थियो । त्यो वर्ष मात्र होइन, लुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरूको संख्या अद्यावधिक गर्न थालेको १९९४ सालदेखि सन् १९९९ सम्म जापानी पर्यटकहरूले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाइरहेका थिए ।

तर, अवस्था अहिले ठ्याक्कै फरक छ । जापानी पर्यटक लुम्बिनी आउन निरन्तर घटिरहँदा चाइनिज पर्यटकहरू भने निरन्तर बढिरहेका छन् । सन् १९९४ देखि २००७ सम्म ६० हजार २ सय ४२ जापानी पर्यटक लुम्बिनी आउँदा सोही अबधिमा जम्मा ९ हजार ६ सय ३० चाइनिजहरू लुम्बिनी आएका थिए ।

१९९४ मा ६ हजार ५ सय ८ जापानी लुम्बिनी आउँदा चाइनिजहरू जम्मा ४ सय २६ जना लुम्बिनी पुगेका थिए । तर, सन् १९९९ बाट ओरालो लागेको जापानी पर्यटकको संख्या अहिलेसम्म सुधार हुन सकेको छैन ।
बिगत एक दशकभन्दा लामो समयदेखि लुम्बिनी आउने चाइनिज पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ भने जापानीहरूको संख्या घट्दै गइरहेको छ ।
जापानी पर्यटक आवागमन लुम्बिनीमा मात्रै होइन नेपालमै पनि घटेको छ । चाइनिजहरू नेपाल आउनेक्रम बढेसँगै लुम्बिनी आउने क्रम पनि बढेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

सन् १९९० को दशकमा नेपालबाट जापानका लागि तत्कालीन शाही नेपाल वायुसेवा निगमको सिधै उडान थियो र त्यसैले पनि जापानका पर्यटक सन् २००० सम्ममा लुम्बिनीमा आउने बढी थिए । त्यसपछि जापानमा उडान बन्द, माओवादी जनयुद्धको प्रभाव र जापानी दूतावासले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह गर्दै इन्टरनेटमा सूचना जारी गर्नु जस्ता कारणले जापानी पर्यटक आगमन घटन थालेको हो । अहिलेसम्म घटिरहेको छ ।

तत्कालीन समयमा जापानी पर्यटकलाई लक्षित गरी जापानको होक्के क्लबले लुम्बिनीमा सञ्चालनमा ल्याएको होक्के होटलमा सन् १९९६ मा एक वर्षभरि ५ हजार जापानिज बास बसेको होटलका तत्कालीन महाप्रबन्धक सुभाष शर्मा स्मरण गर्छन् ।
तर, अहिले अवस्था त्यस्तो रहेन, जापानीहरूको खर्च गर्ने क्षमता घट्दै जानु, आर्थिक अवस्था केही कमजोर, जापानमा सिधै उडान नहुनु, तत्कालीन द्वन्द्वकालको समयको नकारात्मक सन्देशलगायतले गर्दा जापानी पर्यटक घट्दै गएका हुन् ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकमा अहिले जापानीको स्थान चाइनिजले लिएको र बढीभन्दा बढी पर्यटक लुम्बिनी घुम्न आउन इच्छुक रहेको पाइएको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का वरिष्ठ उपाध्यक्ष अच्युत गुरागार्ईं बताउँछन् ।
जापानी पर्यटक घट्दै जाँदा अहिले लुम्बिनीमा चाइनिजहरू भने बढिरहेका छन् ।

अहिले ठ्याक्कै उल्टो जस्तो भएको छ ,सन् २०११ देखि लुम्बिनी आउने चाइनिज पर्यटक धेरै बढेका छन् । सन् २०११ मा ८ हजार ९ सय ६१, २०१२ मा ८ हजार ५ सय ९८, २०१३ मा १३ हजार ५ सय ६१, २०१४ मा २० हजार ७ सय १८, २०१५ मा १२ हजार १ सय ६१, २०१६ मा १६ हजार ३ सय २९, २०१७ मा १५ हजार ७ सय ७०, २०१८ मा १८ हजार ४ सय ६० र चालू वर्षको ७ महिनामा १२ हजार ८७ चाइनिज लुम्बिनी पुगेका छन् । जापानीहरू सन् २०१५ मा १४ सय २७, २०१६ मा १४ सय ८०, २०१७ मा १४ सय १३, २०१८ मा १४ सय ७४ र चालू वर्षको ७ महिनामा १२ सय ३६ जापानी लुम्बिनी पुगेको लुम्बिनी विकास कोष सूचना शाखाका सुब्बा दिलीप कुलुंगले बताए ।


पछिल्लो समय चिनियाहरूको घुमघाम गर्ने संस्कृति बढ्दै जानु, उनीहरूको क्रय क्षमता जापानीहरूको तुलनामा बढ्नु, विश्वमै धेरै बुद्धिष्ट धर्म मान्ने जनताहरू भएको देश, चीनको आर्थिक वृद्धिदर बढ्दै जानु, चीनको विभिन्न सहरसँग नेपालमा हवाई सम्पर्क र नियमित उडान हुनुजस्ता कारणले चिनियाँ पर्यटकहरू लुम्बिनीमा मात्रै नभई देशमै बढिरहेका छन् ।
जापानमा सिधै हवाई सम्पर्क नहुनु, उनीहरूको क्रय शक्तिी खस्कनु, माओवादी द्वन्द्वको छाप अझै रहनु जस्ता कारणले जापानी पर्यटकहरू नबढेका हुन् ।

जापानी समाजसेवी तथा लुम्बिनीस्थित होटल कासाईका अध्यक्ष तोसुको कासाई पनि जापानसँग सिधै हवाई सम्पर्क स्थापित भए जापानी पर्यटक बढने बताउँछन् । जापानी पर्यटकलाई लक्षित गरी उनले लुम्बिनीमा ३ तारे होटल सञ्चालन गरे पनि उनको होटलमा जापानीभन्दा बढी अन्य देशका पर्यटक बास बस्न आउँछन् । लुम्बिनीमा कासाई र होक्के होटल जापानी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । निकट भविष्यमा नेपाल एयरलाइन्सले जापानमा हवाई उडान सुरु गरेपछि भने जापानी पर्यटक बढ्ने अपेक्षा रहेको नाट्टा प्रदेश ५ का अध्यक्ष सागर अधिकारीले बताए ।मनोरञ्जन शर्मा/काराेबार


Facebook Comment


No ads found for this position