विराटनगरमा बोटानिकल गार्डेन निर्माण सुरु

पथरी (मोरङ), १६ असार । विद्यार्थीलाई वनस्पतिको अध्ययन अनुसन्धानमा सहज होस् भन्ने उद्देश्यले विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति उद्यान अर्थात् वोटानिकल गार्डेन निर्माण सुरु गरिएको छ ।

विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका क्याम्पसप्रमुख डा मनोज राउतका अनुसार क्याम्पसका प्रध्यापक सङ्घको अगुवाइमा गार्डेन स्थापना हुन लागेको हो । प्राध्यापक सङ्घले विराटनगरलाइ पर्यटकीय अवलोकनका लागि गार्डेनसहित पिकनिक स्पट र चिल्डे«न पार्कसमेत सँगसँगै निर्माण सुरु भएको जनाएको छ ।

क्याम्पसको चार बिघा जग्गामध्ये पहिलो चरणमा एक बिघा सात कट्ठा जग्गामा बगैँचा स्थापना गर्न लागिएको हो । गार्डेन निर्माणका लागि वन विभागले एक करोड ६० लाख रुपैयाँ दिने निर्णय गरे तापनि पहिलो चरणमा १० लाख रुपैयाँ उपलब्ध गराएको जनाइएको छ । अहिले टेन्डर प्रक्रिया सुरु गरी घेराबेरा गर्ने काम भइरहेको प्राध्यापक डाक्टर शिवकुमार राईले बताउनुभयो ।

यही असार २९ गते त्रिवि दिवसको अवसर पारेर गार्डेनको निर्माण कार्य प्रारम्भ हुने बताइएको छ । स्नातकोत्तर क्याम्पसका क्याम्पसप्रमुख डा राउतका अनुसार तत्कालीन वन तथा भूसंरक्षणमन्त्री महेश आर्चायमार्फत वन विभागले प्रक्रिया अगाडि बढाएको र हालका वनमन्त्री अग्निप्रसाद सापकोटासमेतले गार्डेन निर्माणमा पहल गरिरहनुभएको छ ।

गार्डेनमा औषधि उत्पादनमा प्रयोगमा आउने वनस्पति, हरित उद्यान, लोप हुने जीवजन्तु तथा वनस्पति राख्ने म्युजियम तथा सिड बैंकको व्यवस्था मिलाइने प्राध्यापक सङ्घका अध्यक्ष चक्रपाणि खनालले बताउनुभयो । पहिलो चरणमा आएको रकम थोरै भएपनि प्राध्यापकले सो रकमले निर्माण प्रक्रिया प्रारम्भ गर्ने र त्यसपछि तत्कालै थप रकम माग गर्ने उहाँले बताउनुभयोे ।


Facebook Comment


No ads found for this position