शुक्लाफाँटमा बाघसग जम्काभेट भएपछि…. (फाेटाे/भिडियाे)

भरतबन्धु थापा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ठूलो संख्यामा बाह्रसिङ्गा हेर्न पाइने गन्तव्यका रूपमा प्रख्यात छ । दक्षिणएशियामै सबैभन्दा धेरै बाह्रसिङ्गा पाइने शुक्लाफाँटामा ठूलो बथान लस्करै चरिरहेको दृश्य चित्ताकर्षक देखिन्छ । निकुञ्जका प्रमुख लक्ष्मण पौडेल भन्छन्, “एकैसाथ एक हजारको हाराहारीमा बाह्रसिङ्गाको झुण्ड हेर्न पाइन्छ ।”

एकैपटक एक हजार वटासम्म देखिन सकिने बाह्रसिङ्गाको बथान ।

 

जीपबाट जंगल सफारीको मज्जा लिन सकिने शुक्लाफाँटामा समय र मौसमले साथ दिए अन्य जनावर पनि हेर्न सकिन्छ । हात्ती, गैंडा, खरायो र विभिन्न प्रजातिका चराचुरुङ्गी सहजै अवलोकन गर्न सकिने निकुञ्जमा दुर्लभ वन्यजन्तु बाघ पनि छ, तर देख्ने संयोग सितिमिति जुर्दैन ।

यो पंक्तिकारले यसअघि पनि शुक्लाफाँटाको भ्रमण नगरेको होइन, तर जीवनमै पहिलो पटक प्रत्यक्ष रूपमा बाघ देख्न पाएकाले यस पटकको यात्रा (६–७ फागुन २०७५) विशेष रह्यो । करीब २०० मिटरको दूरीबाट तस्वीर खिच्ने मौका पनि मिल्यो ।

३०५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा जैविक विविधता र प्राकृतिक सौन्दर्यसँगै थारु संस्कृतिका लागि पनि परिचित छ । निकुञ्जसँगै जोडिएको राना थारु समुदायको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा पर्छ । होमस्टेमा पाहुनालाई थारु खाना सहित परम्परागत नाचगानले स्वागत गरिन्छ ।

यसरी पुगन्न सकिन्छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (भिडियाेमा)

यसका साथै निकुञ्जकै छेउमा शुक्लाफाँटा जंगल कटेज र शुक्ला जंगल टेन्टेड क्याम्पमा पनि बासको व्यवस्था छ । निकुञ्जबाट ७ किलोमिटर दूरीमा रहेको महेन्द्रनगरमा डेढ दर्जन हाराहारीमा पर्यटकीय सुविधायुक्त होटल छन् ।

यस क्षेत्रका पर्यटन व्यवसायीले पश्चिम नेपाललाई चिनाउन शुक्लाफाँटा सहित रारा ताल र बर्दिया राष्ट्रिय निकुञ्जलाई समेटेर नयाँ त्रिकोणीय गन्तव्य ‘वाइल्ड–वेस्ट ट्र्याङ्गल’ रणनीति बनाएका छन् ।

कसरी पुग्ने ?
काठमाडौंबाट हवाईजहाजमा एक घण्टा १५ मिनेटको सफरपछि धनगढी र त्यहाँबाट बसमा करीब दुई घण्टाको यात्रापछि शुक्लाफाँटा निकुञ्ज पुगिन्छ । बसमा जाने हो भने काठमाडौंबाट १४ घण्टामा महेन्द्रनगर र ७ किलोमिटरको दूरीमा निकुञ्ज ।

७ फागुन २०७५ मा शुक्लाफाँटामा रोयल बंगाल टाइगर । 

नीलकण्ठ/ठेउवा (इण्डियन रोलर बर्ड) । 

 

राना थारु समुदायले चलाएको सामुदायिक होमस्टे । 

 

परम्परागत पहिरनमा राना थारु महिला ।


Facebook Comment


No ads found for this position