सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने

गोपीकृष्ण ढुंगाना

काठमाडौंः सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ । सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको हो ।

आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो (वेस्ट लाउन्ज) र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन् ।सहरी विकास तथा भवन निर्माण विभागले आठ दरबारको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न इन्जिनियरको समूहलाई जिम्मा दिएबमोजिम डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन महिना लगाएर प्रतिवेदन पेस गरेको थियो ।

प्रतिवेदन पाएलगत्तै सहरी विभागले मन्त्रालयलाई आवश्यक निर्णयका लागि भन्दै प्रतिवेदनसहित पत्राचार गरेको थियो । प्रतिवेदनलाई आधार मानेर भत्काएर नयाँ बनाउनुपर्ने आसयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विज्ञ र सरोकारवालासँग सोमबार सिंहदरबारमा राखेको बैठकले पुरातात्विक सौन्दर्य एवं महत्व गुमाउन नहुने निष्कर्ष निकालेको हो ।सरकारका कतिपय काम कर्मकाण्डी भएको र कतिपय निर्णय हचुवाका भरमा भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले बताए । नियत, संस्कार र क्षमतामा चुक्न नहुने र चुके जस्तोसुकै प्रयास पनि असफल हुने उनको भनाइ छ ।

सरकारी कर्मचारीको नियत सफा भए पनि क्षमतामा चुकेको र आठ दरबारलाई यथास्थितिमा राख्नुपर्ने उनले बताए । ‘विगतको अध्ययन र निष्कर्षलाई मनन गर्दै सरोकारवाला सातजना विज्ञको समूह गठन गर्ने र उनीहरूको सुझावअनुसार अघि बढ्नु उचित हुन्छ’, उनले भने ।डिभिजनका प्रमुख अरुणकुमार पण्डितले सिंहदरबारको पश्चिमी पाटो र ग्यालरी हल, श्रीमहल र जुद्धवारुण रहेको भवनलाई पूरै ध्वस्त बनाएर नयाँ बनाउनुपर्ने भनी प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदनमा केशरमहलको पश्चिम पाटोको दक्षिणी भाग ग्रेड ४ र बाँकी ग्रेड ३, बबरमहल ग्रेड ३, नक्साल भवनको पश्चिम र दक्षिण पाटो ग्रेड ४ र पुस्तकालय भवनलाई ग्रेड ३ मा राखिएको छ ।

मन्त्रालयको केन्द्रीय कार्यान्वयन इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार ग्रेड ५ को ट्याग लागेपछि भवन पूरै ध्वस्त पार्नुपर्छ । ४ सम्मलाई पुनर्निर्माण गर्न सकिने उनको भनाइ छ । यसअघि मुख्यसचिवको अध्यक्षतामा प्राविधिक सचिवहरूसमेत असारमा बसेको बैठकले आठवटै दरबार नयाँ बनाउनुपर्ने निष्कर्ष निकालेको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले बताए ।‘सुरुमै अन्तर्राष्ट्रियस्तरको अध्ययन गराएको भए हुन्थ्यो, जति पनि गरिए र गराइए कुनै पनि विश्वसनीय हुन सकेनन् । फराकिलो सोचले समयमा निर्णय गर्ने क्षमता नहुँदा काम यसरी नै लम्बिन्छ’, उनले भने ।

डिजिकनले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन विश्वसनीय हुन नसकेको र पुरातात्विक हिसाबले अध्ययन गरेको नपाइएको निष्कर्ष विज्ञहरूबाट आएपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले विज्ञहरूको समूह गठन गरी अन्तिम निर्णय लिने बताएका हुन् ।

विज्ञहरूले आठ दरबारले नेपालको इतिहास बचाउने, पुरातात्विक महत्व एवं सौन्दर्य कायम राख्ने भएकाले पुरानै स्वरूपमा तिनको पुनर्निर्माण गर्न सुझाएका छन् ।सबैजसो विज्ञले आठ दरबारले नेपालको इतिहास बचाउने र पुरातातत्विक महत्व एवं सौन्दर्य कायम राख्ने भएकाले पुरानै स्वरूप आउने गरी तिनको पुनर्निर्माण गर्न सुझाएका थिए ।

‘सिंहदरबार एसियाकै लामो र ठूलो दरबार हो, देशको प्रतिष्ठा हो’, पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले भने । अभिलेखालयका पूर्वप्रमुख भीम नेपालले डिजिकनले सिंहदरबारको अध्ययनलाई हल्का रूपमा लिएको बताए ।

‘बेलायती लेखकले सिंहदरबारको बैठक कक्षजस्तो भारतभर कहीँ नदेखेको लेखेका छन्, त्यसले यसको महत्व अझ प्रस्ट पार्छ’, उनले भने । यसअघि जेजस्ता निर्णय र अध्ययन भए पनि पुरातात्विक दृष्टिकोणले आठ दरबारलाई पुरानै संरचनामा पुनर्निर्माण गर्नुपर्नेमा विभागका महानिर्देशक भेषनारायण दाहालको जोड छ ।
युनेस्को नेपालकी प्रतिनिधि निपुणा श्रेष्ठले यस्ता सम्पदायुक्त दरबारमा युनेस्कोको चासो हुने बताइन् । ‘पुरातात्विक दृष्टिकोणलाई विचार नगरी प्रतिवेदन तयार पारिएको छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा अध्ययनका लागि युनेस्कोले विज्ञ पठाएर सहयोग गर्न सक्छ ।’साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position