मनै लाेभ्याउने नलाङ (फाेटाे फिचर)

भरतबन्धु थापा

राजधानीसँग जोडिएको विविधतापूर्ण भूगोल भएको जिल्ला हो, धादिङ । काठमाडौंबाट नजिकै रहेर पनि आफूसँग भएका पर्यटकीय आकर्षणका थुप्रै सम्भावना पस्कन नसकेको यो जिल्ला घुमघाम पारखीका लागि राम्रो गन्तव्य बन्न सक्छ । एउटा उदाहरण हो, नलाङ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाण्डे मार्गबाट ९ किलोमिटरको दूरीमा पर्ने नलाङबाट आँखै सामुन्ने गणेश हिमाल देखिन्छ ।

अग्लो भूभागमा रहेको नलाङ ‘किलर माउन्टेन’ का रुपमा चिनिने संसारका अग्ला १० हिमालमध्येको मनास्लु, अन्नपूर्ण हिमशृंखला र लाङटाङ हिमाल नियाल्ने उपयुक्त ठाउँ पनि हो ।

नलाङबाट देखिने मनास्लु 

काठमाडौंबाट पाँच घण्टाको ‘ड्राइभ’ मा पुग्न सकिने भए पनि पदयात्राका सौखिनहरुको पर्याप्त जानकारीमा नहुँदा नलाङ अपेक्षित चर्चामा भने छैन।

नलाङबाट पुगिने धादिङको अर्को आकर्षक गन्तव्य रुबी भ्याली हो, जहाँ आक्कलझुक्कल विदेशी पर्यटक पनि पुग्छन् ।

गणेश हिमाल नजिकको सुन्दर उपत्यका भए पनि अहिलेसम्म यो ‘हिडन भ्याली’ कै रुपमा रहेको छ । परम्परागत तामाङ र गुरुङ बस्ती तथा खेतका सुन्दर फाँट सहितको रुबी भ्याली पदयात्राका लागि समेत उत्तम मानिन्छ ।

कसरी पुग्ने ?
काठमाडौंबाट पाँच घण्टाको ‘ड्राइभ’ मा नलाङ पुगिन्छ । मलेखु हुँदै कालिकास्थान पुगेपछि त्यहाँबाट एक घण्टा कच्ची बाटोको यात्रा तय गरेर नलाङ पुग्न सकिन्छ ।

अझ महत्वपूर्ण त के भने नलाङ, रुबी भ्याली र गणेश हिमाल क्षेत्रको पदयात्राका लागि त्यहाँसम्म पुग्न हवाईजहाज चढ्नु पर्दैन । अर्थात्, पदयात्राका सौखिन आन्तरिक तथा बाह्य पर्यटकका निम्ति यो सुलभ गन्तव्य पनि हो ।

नलाङ गाउँ 
सूर्योदयका समय नलाङबाट देखिएको गणेश हिमाल 
ढुंगाले छाएको घर 

 


Facebook Comment


No ads found for this position