पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न सकेन : पर्यटन मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उहाँले आगामी वर्ष सरकराले अनुसन्धानलाई जोड दिने जानकारी दिनुभयो ।

पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबरा फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भन्नुभयो, “अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।”

उहाँले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवद्र्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्तावेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताविक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताउनुभयो ।

भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने उद्देश्य नरहेका प्रष्ट्याउँदै उहाँले पर्यटकको बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने तथा आर्थिक समृद्धिमा टेवा पु¥याउनेतर्फ सरकराको ध्यान रहेको बताउनुभयो ।

आगामी १० वर्षमा पर्यटन क्षेत्रको कुल गाह्र्रस्थ उत्पादनमा तीनबाट १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको जानकारी दिँदै उहाँले भ्रमण वर्षका क्रममा स्थपित पर्यटकीय गन्तव्य मात्रै नभई नयाँ पर्यटकीय क्षेत्रको विकास र पहिचान गर्न लागिएको उल्लेख गर्नुभयो । “पर्यटकहरु एकै ठाउँमा पटकपटक आउँदैन, उनीहरुको चाहना नयाँनयाँ ठाउँ र त्यसैले हामीले नयाँ गन्तव्य सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बुद्ध, रामायण, र शिव सर्किटको विषय छलफलको चरणमा रहेको उल्लेख गर्दै उहाँले यसले दक्षिण एशिया मात्रै नभई जोडिएका अन्य देशसँगसमेत सम्बन्ध विस्तारमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन विकासका लागि अन्तरराष्ट्रिय कनेक्टिभिटी अर्को महत्वपूर्ण कुरा रहेको बताउनुभयो । मन्त्री भट्टराईले सांस्कृतिक र ऐतिहासिकस्थललाई एक अर्कासँग जोडेर नयाँ सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लुम्बिनीसँग सम्बन्ध गाँसिएको देवदह, तिलौराकोटलगायत क्षेत्र जोडेर सरकारले ग्रेटर लुम्बिनीको परिकल्पनाअघि बढाएको जानकारी दिँदै उहाँले तराई क्षेत्रको सांस्कृतिक तथा धार्मिक क्षेत्रलाई पनि एकीकृत रुपमा विकास गर्न सके पर्यटकीय सम्भावना थपिने उल्लेख गर्नुभयो ।


Facebook Comment


No ads found for this position