तलब नपाएपछि गल्याङ अस्पतालमा तालाबन्दी

स्याङ्जा–विगत आठ महिनादेखि तलब नपाएको भन्दै गल्याङ नगर अस्पतालमा कार्यरत डेढ दर्जन कर्मचारीले बुधबार साँझ अस्पतालको मुख्य गेटमा ताला लगाएका छन् । गल्याङ नगरपालिकाद्धारा सञ्चालित अस्पतालमा कार्यरत प्रबन्धक, डाक्टरसहित १६ जना कर्मचारीले संयुक्त विज्ञप्ती जारी गर्दै सम्झौतामा उल्लेख भएअनुसार तलब सेवा सुविधाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

नेपाल सरकारको तलब स्केल अनुरुप २०७६ भदौ १ गतेदेखि सेवा सुविधा उपलब्ध गराउने भनिएता पनि उनीहरुले अहिलेसम्म नियुक्तीपत्र समेत नपाएको गुनासो उल्लेख छ । कोरोना भाइरसको त्रास रहँदारहँदै पनि तलव बीना काम गर्नु परेको जनाउदै कर्मचारीहरुले नै अस्पतालको मुल गेटमा नै तालाबन्दी गरेका हुन । बुधबार साँझ तालाबन्दी गरेका उनीहरुले शुक्रबारसम्म पनि आफ्ना मागबारे सम्बोधन नभए अस्पतालबाट सुचारु हुने सबै खाले सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

विश्वभर कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा आफूहरुले पनि कोरोनाको त्रासका बीच सेवा दिइरहँदा पनि नगरपालिकाले बेवास्ता गरेको कर्मचारीको गुनासो छ । नगरपालिकाको स्वामित्वमा आएको २०७६ भदौ १ गतेबाट नै तलब नपाएको उनीहरुको गुनासो छ ।

यसअघि गल्याङ सामुदायिक अस्पतालका नामबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । गल्याङ सामुदायिक अस्पतालको सम्पूर्ण व्यवस्थापन समितिमार्फत हुने गर्दथ्यो । स्थानीय निकायको निर्वाचनपछि अस्पतालको सम्पूर्ण जिम्मेवारी गल्याङ नगरपालिकामा सरेको हो ।

तत्कालिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालगोपाल अर्याल र नगरपालिकाका संयन्त्रबीच अस्पताललगायत सम्पूर्ण कर्मचारी तथा प्राविधिकको सेवा, सुविधा र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिनेगरी सम्झौता भएको उल्लेख छ ।

आठ महिनाबितिसक्दा पनि नगरपालिकाले अझैं नियुक्तीपत्र र तलब बिना कर्मचारीलाई काममा लदाउनु दुखद र लाजमर्दो रहेको कर्मचारीको भनाई छ ।

यसैबीच गल्याङ नगर अस्पताल संचालक समितिका अध्यक्ष एवं गल्याङ नगरप्रमुख प्रमुख भुपराज अधिकारीले समस्या जटिल नभएको बताउदै एक दुई दिनमा समाधान हुने जनाए । गल्याङमा रहेको एकमात्रै स्वास्थ्य संस्था तालाबन्दी भएपछि स्थानीयबासी भने चिन्तीत छन् ।


Facebook Comment


No ads found for this position