आइएमएफलले नेपाललाई साढे २५ अर्ब सहायता दिने

काठमाडौं–अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (साढे २५ अर्ब रुपैयाँ) सहायता घोषणा गरेको छ ।

द्रुत कर्जा सुविधा अन्तर्गत नेपाले पाउने शत प्रतिशत कोटाको सहयोग प्रदान गर्ने भएको हो । नेपाललाई तत्काल भुक्तानी सन्तुलनमा सहयोग गर्न र कोरोना भाइरस महामारी नियन्त्रणका लागि चालिएका बन्दाबन्दी जस्ता कारणले सरकारलाई उत्पन्न दायित्व सम्बोधनका लागि प्रयोग हुनेछ।

कोरोना भाइरस महामारीले नेपालको अर्थतन्त्रमा विभिन्न क्षेत्रमा एकसाथ गम्भीर असर पारेको छ । विप्रेषण आप्रवाह घटिरहेको छ, पर्यटक आगमन शून्य छ र भौतिक दूरी कायम गर्ने नियमका कारण आन्तरिक आर्थिक गतिविधिहरुमा ठूलो मार परेको छ।

सरकारले तत्काल मानवीय क्षति कम गर्ने र आर्थिक क्षति न्यूनीकरणलाई प्राथमिकता दिएको छ । सरकारी अधिकारीहरुका अनुसार, नेपालले स्वास्थ्य क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता छ । त्यस्तै चिकित्सा क्षेत्रमा अग्रपंक्तिमा काम गर्नेहरुलाई बीमा सुविधा बढाउनुपर्ने, थप स्वास्थ्य सामग्री आयत गर्नुपर्ने, क्वारेन्टीन केन्द्रहरु र अस्थायी अस्पतालहरु निर्माण गरेर महामारीसँग जुझ्न सरकारलाई स्रोतको दबाब रहेको उनीहरुले बताएका छन् ।

सरकारले सामाजिक सहयोग परिचालनमार्फत् जोखिममा रहेका समुदायलाई दैनिक खाद्य सामग्री वितरण गरिरहेको छ । न्यून आय हुने उपभोक्ताका लागि जनउपयोगी सेवाहरुको शुल्कमा सहुलियत दिइएको छ भने रोजगारी गुमाउनेलाई केही क्षतिपूर्ति प्रदान गर्ने योजना छ । यसका अतिरिक्त, कर्जाको पहुँच बढाउन र वित्तिय क्षेत्रमा पर्याप्त तरलताका लागि केही मौद्रिक उपायहरु अघि बढाइएका छन् ।


Facebook Comment


No ads found for this position