भगवान भरोसामा कर्णाली

काठमाडौं–कोरोना भाइरसको चपेटामा परेर पूरै विश्व आक्रांन्त बनेको छ । विश्वभरका मै हुँ भन्ने देशहरु पनि कोरोना कहरले गलेका छन् । प्रविधि र विज्ञानको आविस्कारले उत्कर्षमा पुगेको देशहरुलाई पनि कोरोना भाइरसले आफ्नो औकात देखाइदिएको छ ।

पौन तीन लाख मानिसले यो भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमणको दर आधा करोड पुग्न लागिसकेको छ । चीनको वुहान सहरबाट सुरु भएको यो भाइरसको संक्रमण युरोप, अमेरिका हुँदै एसियामा प्रवेश गरेको थियो ।

डेढ महिनाअघि नेपालमा विदेशबाट आएका दुई जनाको संक्रमण देखिएपछि नेपालमा पनि लकडाउन जारी गरिएको छ । लकडाउनका कारण नेपाली जनताको जनजीवन अस्तव्यस्त बनेको छ । अन्तर्राष्ट्रिय उडान बन्द भए पनि सरकारले सीमा क्षेत्रबाट पैदल ओहोरदोहोर गर्नेलाई भने रोक्न सकेन ।

जोखिममा गाउँ

कर्णाली नेपालका सातै प्रदेशमध्ये स्वास्थ्य सुरक्षाका हिसाबले सबैभनदा जोखिम पूर्ण क्षेत्र हो । यहाँ सामान्य बिरामी हुँदा पनि उपचार पाउन सक्ने स्थिति छैन । बर्सेनि दर्जनौं महिला सुरक्षित सुत्केरी हुन नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन् ।

एक त व्यवस्थित स्वास्थ्य संस्था नै छैनन् । भएका अस्पतालमा पनि पर्याप्त विशेषज्ञ चिकित्सक, उपकरण र औषधिको अभाव छ । ज्वरो आउँदा पनि सिटामोलसमेत सहज रुपमा पाउँन सकिँदैन । यस्तो अवस्थामा कोरोना भाइरसको जोखिम झ्न बढी देखिएको छ ।

भएका अस्पतालमा पनि चिकित्सक र उपकरण छैनन् । कोरोना संक्रमण भएमा पनि अझै एकिन गर्नसक्ने क्षमता कर्णालीमा देखिँदैन । अहिले कारोना त्रासका कारण यत्रतत्र भयको वातावरण सिर्जना भएको छ ।

अहिलेसम्म कर्णालीमा कोरोनाका संक्रमित त भेटिएका छैनन् । तर, सुरक्षित छ भन्ने स्थिति पनि छैन । किनकी सबैको पीसीआर टेस्ट हुन सकेको छैन । बिरामी भएको खण्डमा पनि दुर्गम गाउँबाट सदरमुकामका अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउनुपर्ने स्थिति छ ।

उद्धारमा होडबाजी

सरकारले लकडाउन जारी गरेपछि देशभरी यातायात पूर्ण रुपमा ठप्प भयो । बसिरहेको ठाउँमा नागरिकले खान नपाएपछि हिँडेरै भए पनि घर पुग्ने सुर कसे । तर, आधा बाटोमा पुगेपछि सैयौं अलपत्र परे ।

उनीहरुले सरकार गुहारे । संघीय सरकारले केही गर्न नसकेपछि प्रदेश सरकारका मन्त्री र सांसदहरु आफैं उद्धारमा खटिए । उनीहरुले पहुँच र चिनजानका आधारमा आफू नजिकका मान्छेलाई रातारात गाडीको व्यवस्था गरी घरसम्म पु¥याए ।

अलपत्र परेका नागरिकको उद्धार गर्नु त राम्रै कुरा हो । तर, बाहिरबाट गाउँ गएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसम्म पनि भएन । उनीहरु घर पुगेका छन् । गाउँघरमा सबैसँग घुलमिल पनि भइसकेका छन् । परीक्षण नभएकै कारण गाउँमा संक्रमित छन् वा छैनन् भन्ने प्रदेश सरकारलाई जानकारी छैन ।

पहुँचका आधारमा उद्धार गरी घर पठाइएकाहरु पनि क्वारेन्टाइनमा बसेका छैनन् । मन्त्री र सांसद नजिकका मानिसहरु रातारात घर पुग्दैगर्दा हजारौं नागरिकले सैयौं माइलको दूरी पैदल नै पूरा गरेका छन् ।

भगवान भरोसा

अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिएपछि प्रदेश र स्थानीय सरकारका प्रमुखहरु कर्णाली सुरक्षित भएको बताइरहेका छन् । तर, परीक्षण नै नभएपछि नतिजा पनि किन देखियोस र ?

अहिले विभिन्न कार्यक्रमणमा गर्वका साथ प्रदेशका मन्त्रीहरुले भन्ने गरेको सुनिन्छ, ‘कर्णालीका मानिसहरुको इम्युनिटी पावर धेरै छ । त्यसैले कोरोना संक्रमणले असर गर्न सक्दैन ।’ स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनु त कहाँ हो कहाँ यस्ता भगवना भरोसे अभिव्यक्तिले हामीलाई कस्तो जोखिममा हाल्दैछन् भन्ने अनुमान गर्न पनि कठिन छ ।

दुई वर्षअघि हुम्लामा मौसमी फ्लूको संक्रमण भयो । सुरुवातीमा वास्ता नगर्दा एक दर्जनले दुई सातामा ज्यान गुमाए । मानिसहरु मरिसकेपछि मात्रै राज्यले उपचारको व्यवस्था मिलायो । कर्णालीको नियति नै मान्नुपर्छ महामारीले सैयौंको ज्यान गइसकेपछि मात्रै चिकित्सक र औषधोपचारको व्यवस्था गरिन्छ ।

कर्णालीका नागरिकको प्रमुख रोजगारीको गन्तव्य भनेकै भारत हो । अहिले रातारात भारतबाट नागरिक गाउँ फर्किएका छन् । यो सिजन खेतीपातिको पनि हो । त्यसैले घरभित्रै बस्न सक्दैनन् । खेतबारीको काम गर्न एक्लै सम्भव पनि छैन । गाउँका मानिसहरु समूहमा काम गर्ने परीपाटी छ ।
यस्तो अवस्थामा परीक्षण नगरी घर गएका तीन नागरिकको घुलमिल कसले रोक्ने ?

सुरुवाती चरणमा गएकाहरुमा संक्रमण देखिएको छैन । तर, पछिल्लो केही सातायता भारतबाट आएका हजारौं परीक्षणबिना नै गाउँ पुगेका छन् । तीनको परीक्षण पनि भएको छैन । तर, प्रदेश सरकारका मन्त्री र स्थानीय सरकारका प्रमुखहरुसँग भने संक्रमण फैलिहालेमा नियन्त्रण गर्ने कुनै योजना छैन ।

उनीहरु इम्युनिटी पावर र अर्गानिक खानाको बलमा संक्रमण नफैलिँने बताउँदै आएको सुनिन्छ । एक हिसाबले कर्णालीको खानपान अन्यत्र भन्दा शुद्ध र अर्गानिक छ । तर, संक्रमण भइहालेमा यसले रोक्न भने सक्दैन । आपतकालीन उपचार नै अन्तिम विकल्प हो । तर, उपचारका लागि स्वास्थ्य संस्था सीमित छन् ।

संक्रमण रोक्न सचेत छौं ः मन्त्री रावल


कर्णाली सरकारले पनि कर्णालीमा कोरोनाको संक्रमण फैलिन नदिनमा सचेत रहेको दाबी गर्दै आएको छ । पहिलो चरणमा आएका सबैको परीक्षण भएकाले उनीहरुबाट रोग फैलिने कुनै सम्भावना नभएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

‘पहिले गाउँ छिरेकाहरु सबै सुरक्षित छन्, स्थानीय सरकासँगको समन्वयमा हामीले निगरानी गरिरहेका छौं,’ उनले भने । गाउँ गाउँमा उपचार र संक्रमण फैलिएको अवस्थामा तत्काल नियन्त्रणमा लिने मन्त्रालयले चिकित्सकको २७ वटा टोली बनाएको उनले जानकारी दिए ।

‘आजसम्म हामी सुरक्षित नै छौं । संक्रमण देखिएमा पनि उपचारका लागि हामी तयारी अवस्थामा छौं । तीनै तहका सरकारबीच समन्वय भइरहेको छ,’ उनले भने, ‘नयाँ आउनेहरुको पनि चेकजाँच चलिरहेको छ । स्थानीय तहलाई बाहिरबाट गाउँ गएकाहरुको लगत संकलन गर्न भनेका छौं । उहाँहरुले पनि एक गाउँबाट अर्को गाउँ जान दिनुभएको छैन ।’

खेतीपातीको सिजन भएकाले सबैलाई समाजिक दूरी कायम गरी काम गर्न अनुरोध गरिएको मन्त्री रावलको भनाइ छ । पछिल्लो चरणमा प्रवेश गरेकाहरुबाट जोखिम देखिएकाले उनीहरुको लगत संकलन हुनेबित्तिकै चिकित्सकको टोली परिचालन हुने जानकारी दिए ।


Facebook Comment


No ads found for this position