भारतले नेपाली भुमी लिपुलेकमा निर्माण गरेको सडकले नेपालको पर्यटन क्षेत्रमै गम्भीर असर पर्ने

भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जोड्ने सडक सञ्चालनमा ल्याए नेपालको पर्यटन क्षेत्रमै गम्भीर असर पर्ने देखिएको छ । वार्षिक ४५ हजार भारतीय तीर्थयात्री नेपालको बाटो हुँदै मानसरोवर जान्छन् ।  भारतको सिक्किम र चीनबीचको सिमाना नथुला पासबाट मानसरोवर जाने रुट भए पनि भारतीय तीर्थयात्री नेपालको बाटो हुँदै जाने गरेका छन् । नथुला पास कठिन बाटो मानिन्छ र हाल अस्थायी रुपमा बन्द छ ।  

वैशाखको अन्तिमदेखि भदौसम्म बर्सेनि ४५ हजारभन्दा बढी भारतीयहरू नेपाल हुँदै मानसरोवर जाने गरेको तथ्यांक छ । ती पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ, पोखरा र जनकपुर पनि घुम्ने गर्छन् । 

भारतबाट वार्षिक ३ लाख पर्यटक नेपाल आउँछन् । तीमध्ये ७० प्रतिशत तीर्थयात्री हुन्छन् । त्यसैले मानसरोवर जाने पर्यटक रोकिए मात्र अन्य क्षेत्रमा आउने पर्यटकसमेत प्रभावित हुने कैलाश यात्रा सञ्चालक संघका महासचिव कृष्णप्रसाद ढकालको भनाइ छ । ‘भारतले बनाइरहेको सडकबाट मानसरोवर जाने पर्यटक भारतीयसमेत घट्ने देखिन्छ,’ ढकालले भने ।

नेपालगन्जदेखि हिल्सासम्मको लगानी जोखिममा

नेपालमा आएको विनाशकारी भूकम्पका कारण चीन सरकारले तातोपानी नाका बन्द गरेको थियो । त्यसपछि मानसरोवर जाने भारतीयलाई नेपालगन्ज, सिमिकोट हुँदै हिल्सामार्फत लैजाने नयाँ रुटको सुरुवात गरिएको हो । दुई वर्षयता चीनले रसुवा नाकाबाट पनि मानसरोवर जान खुला गरेको छ । हिल्सा रुटबाट भारतीय पर्यटन जान थालेपछि नेपालगन्जदेखि हिल्सासम्म सयौँ होटेल खुलेका छन् । दैनिक १ सयभन्दा बढी उडानसमेत हुने गरेका छन् । 

मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटक बढेकाले सिमिकोट विमानस्थल निकै व्यस्त हुन्छ । नेपालगन्जदेखि सिमिकोटसम्म तारा, सीता, मकालु, समिट, सिम्रिक एयरलगायतका निजी विमान कम्पनी र सिमिकोटदेखि चीनसँग सीमा जोडिएका हिल्सासम्म साना हेलिकोप्टरले दिनमा १ सयभन्दा बढी उडान भर्ने गरेका छन् । हेलिकोप्टरले सिमिकोटबाट हिल्सा १८ सय डलरमा चार्टर्डसमेत गर्छन् ।  

‘नेपालको अफ सिजनमा काठमाडौंका तारेदेखि हिल्सासम्मका होटेलहरू मानसरोवर जाने पर्यटकले भरिभराउ हुन्छन्,’ ढकालले भने । गत वर्ष पनि हिल्सा रुटबाट ४० हजार भारतीयहरू मानसरोवर गएका थिए । ५ हजार भारतीय रसुवातिरबाट गएका थिए । 

नेपाल हुँदै कैलाश मानसरोवर जाने यात्रुहरू रसुवागढी नाका हुँदै सडकमार्गबाट पनि जाने गरेका छन् । यो यात्रा करीब ११ दिनको हुने गरेको छ । त्यस्तै, काठमाडौंबाट हवाइमार्ग हुँदै ल्हासा जाने र त्यहाँबाट सडकमार्गबाट कैलास मानसरोवर जाने तीर्थयात्री पनि हुन्छन् । 

मानसरोवर खर्चिलो मानिन्छ । एक तीर्थयात्रीले कम्तीमा ३ लाख रुपैयाँ खर्च गर्छन् । नेपालमा ७ देखि १० हिमाल आरोहणपछि मानसरोवर घुम्ने पर्यटकले सबैभन्दा बढी खर्च गर्छन् । मानसरोवर जाने भारतीय पर्यटकबाट मात्रै १३ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने गरेको पर्यटन व्यवसायीको दाबी छ । केदार दाहाल/नयाँपत्रीका


Facebook Comment


No ads found for this position