याक, खच्चड र भरियाको ज्यालामा भ्याट हटाउन माग

काठमाडौं — ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा र हिमाल आरोहणमा भारी बोक्ने याक, खच्चड, भरिया, गाइड र आरोहण गर्ने शेर्पा समुदायको ज्यालाबाट सरकारले असुल्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाउन माग गरेको छ ।

ट्रेकिङ व्यवसायी तथा श्रमिकहरूको संगठन टानले बजेट बनाउँदै गरेको सरकारलाई यी क्षेत्रमा भ्याट नलिन आग्रह गर्दै पत्राचार गरेको हो । कोरोना भाइरसका कारण यस सिजनमा मात्रै १५ अर्बको कारोबार गुमाएको दाबी टानको छ ।

अर्बौंको व्यापार गुम्दा सयौं व्यवसायी धराशायी भएको जनाउँदै टानका अध्यक्ष खुमबहादुर सुवेदीले उक्त भ्याट हटाउन सरकारसँग माग गरिएको बताए । ‘पदयात्रा र हिमाल आरोहणमा जाने भरिया, गाइड, याक र खच्चडले प्राप्त गर्ने दैनिक ज्यालामा अघिल्लो वर्षसम्म भ्याट छुटको व्यवस्था थियो,’ टानले सरकारलाई मंगलबार लेखेको पत्रमा उल्लेख छ, ‘हाल यसमा भ्याट लाग्ने गरेको छ, तसर्थ दुर्गम क्षेत्रहरूमा दुःख गर्ने यस्ता निमुखा वर्गहरूले पाउने दैनिक ज्यालामा आगामी आवदेखि भ्याट छुटको घोषणा बजेट वक्तव्यमार्फत गर्न जोडदार अपिल गर्दछौं ।’

त्यस्तै, भारत, चीन, मलेसिया, सिंगापुर, थाइल्यान्ड, हङकङ, पाकिस्तान, भुटानलगायत मुलुकमा पर्यटन व्यवसायमा भ्याट छुट रहेकाले नेपालले पनि १३ प्रतिशत कर अहिलेको परिस्थितिमा हटाउनुपर्नेमा उनीहरूको जोड छ । व्यवसायीहरूले यही करका कारण नेपालमा भ्रमण तथा आरोहण प्याकेज महँगो हुने गरेको बताएका छन् । टानले पर्यटन क्षेत्रलाई पुनस्स्थापना गर्न राहतका प्याकेजसमेत माग गरेको छ ।

पदयात्रा तथा पर्वतारोहण व्यवसायमा बैंकहरूले अनिवार्य रूपमा निश्चित प्रतिशत डिपप्राइभेट सेक्टरमा राखेर लगानी गर्नुपर्ने, बिनाधितो २० लाख सहुलियत ऋण २ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनुपर्ने टानले माग राखेको छ ।


Facebook Comment


No ads found for this position