बजेटमार्फत सम्बोधन गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं–नेपालका पर्यटन व्यवसायीले सरकालाई बजेटतमार्फत पर्यटन व्यवसायमा परेको क्षतिको सम्बोधन गर्न माग गरेका छन् । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रलाई नीति तथा कार्यक्रमले समेट्न नसकेको भन्दै पर्यटन व्यवसायीहरुले बजेटमार्फत आफूहरुको समस्या सम्बोधन गर्न माग गरेका हुन् ।

सोमबार नेपाल एसोशिएसन अफ टुर एण्ड ट्रभल एजेन्ट्स, होटल एसोशिएसन नेपाल, ट्रेकिंग एजेन्सिज् एसोशिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, नेपाल एशोसिएसन अफ टुर अपरेटर, सोसाइटी अफ टभल एण्ड टुर अपरेटर्स नेपाल, पाटा च्याप्टर नेपाल, नेपाल माउन्टेरिङ एसोशिएसन, टुरिष्ट बस एसोशिएसन अफ नेपाल, नेपाल एसोशिएसन अफ याफ्टिङ एजेन्सिज्, रेष्टुरेन्ट एण्ड बार एसोशिएसन अफ नेपाल, र एक्सपिडिसन अपरेटर्स एसोशिएसनका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बजेटमार्फत समस्या सम्बोधन गर्न माग गरिएको हो ।

नेपाल सरकारसमक्ष पटक–पटक आग्रह गर्दा पनि नीति तथा कार्यक्रममा कुनै ठोस योजना नसमेटिएको भन्दै पर्यटन व्यवसायीले आगामी १५ गते आउने बजेटमार्फत सम्बोधन गर्न माग गरेका हुन् । भ्रमण वर्षलाई साध दिन व्यवसायीले खर्बौं लगानी गरेको र अहिले त्यो लगानी डुब्ने अवस्थामा रहेकाले सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको छ ।

‘नेपाल सरकारको सबै नीति नियमहरु पालना गर्दै, करोडौंको कर राज्यलाई नियमित रुपमा तिर्दै आइरहेका हामी पर्यटन व्यवसायीहरुलाई कोरोनाको महामारीले निम्त्याएको जरजर अवस्थाबाट जोगाउनु राज्यको प्रमुख दायित्व पनि हो’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना प्रभावको प्रारम्भमा नै क्षति व्यहोर्न पुगेको तथा पुनः सामान्य अवस्थामा फर्कनसमेत अन्य व्यवसाय भन्दा निकै लामो समय लाग्ने हुंदा पर्यटन व्यवसायलाई यो महासंकटबाट बचाउन हारगुहार गरिराखेका पर्यटन व्यवासयीहरुको बलियो सहारा बन्न राज्यले दायित्व लिन माग गरेका छन् ।


Facebook Comment


No ads found for this position