नरैनापुरमै ५६ जना कोरोना संक्रमित

बाँके– एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो ।

यो संख्यासहित बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा सोमबार सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएकाको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जेठ ४ गते आइतबार नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो । सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार सोमबार सङ्क्रमण फेला परेका सबै यसअघि भेटिएका आठ सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ सङ्क्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिबार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट सङ्कलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

नरैनापुर २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं। ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब स‌कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताए ।

नरैनापुरबाट सङ्कलित २७४ मध्ये अझै केही स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा‍‍‍‍. प्रकाश थापाले बताए । एकैपटक ठूलो संख्यामा सङ्क्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको थियो ।


Facebook Comment


No ads found for this position