फेरिएको डोल्पा…..

निर्मल कञ्चन भेरि नदीको काखमा रहेको सदरमुकाम दुनैमा भेरि नदीको डिलमा बसेर नदीमा रंगिचंगी कायकहरु मा सयर गर्दै आइरहेका विदेशी पर्यटकहरुलाई पच्छ्याउँदै बाटै बाटो कुद्नुको रमाइलो आज पनि ताजै छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको दिनको घोडा दौड होस् या जिल्ला स्तरीय भलिबल प्रतियोगिता, खोला पारी नगइकनै बारिबाट छर्लंगै हेरेको हिजो जस्तो लाग्छ । त्यतिखेर बजारको नदी छेउतिरका प्राय स्थान खाली थिए ताकी सजिलै भेरि नदीको छेउमा लुगा धुन होस् या त भाँडा माज्न होस या बर्खामासमा बगाएर ल्याउने काठका मुढाहरु छोप्नका लागि सजिलै जान सकिन्थ्यो तर अहिले समय बदलियो र यो बदलिएको समयसँगै दुनै सुन्दर हँुदै जानु पर्नेमा झन कुरुप हँुदै गइरहेको छ भन्दा अनुपयुक्त पक्कै नहोला ।


कन्चन अनि पवित्र भेरि नदी,जसमा हामि विभिन्न धार्मिक कार्यमा पवित्र भनेर फूल–प्रसाद चढाउने गर्दछौं त्यही नदी आज आफ्नो प्राकृतिक स्वरुपमा फकिर्न कहिले पाउँछु भनि कुरिरहेकोझै लाग्छ । हाम्रा दिवंगत आफ्न्तहरुको आत्माको चिर शान्तिको कामना गर्दै पृतिले पाउन भनेर पिण्ड बगाउने भेरिनदी अनि आफ्नो मनोकामना पूरा होस भनि स्वस्थानि व्रत समापन गरी फलफूल–प्रसाद चढाउने भेरि नदी, ऋषि पञ्चमिको व्रतमा दत्विनले दाँत माझि शान्तिको कामना गर्ने, अनि दशैँमा नव दुर्गाको मूर्ति विसर्जन गर्दै ब्रमाण्डको शान्तिको लागि माग गर्ने ठाँउ अनि हरेक व्यक्तिले कुनै न कुनै बेला पुज्ने भेरि नदी आज अपवित्र बन्दै गएको छ ।


डोल्पा जिल्लाकै सभ्यतासँग जोडिएको भेरि नदी आज यहि नदी वरिपरि बस्ने बासिन्दाको मलमुत्रबाट दुषित हुनु परिरहेको छ । कञ्चन भेरि नदी सदरमुकाम वरपर अनि बाटोमा जहाँ–जहाँ बस्ती छन् त्यहाँ का बासिन्दाको ढल सिधै खोलामा मिसिदा नदीको कञ्चन पानी अव अझै कञ्चन छ भन्न पक्कै हिच्किचाउनु पर्नेछ । दुनै बजारबाट खुलस्त देखिने हिमालहरु अहिले घरहरुले ढाकिसके, वीरेन्द्र चोक अब चोक भन्न लायकको रहेन । हिजो गाँउबाट ल्याएका स्याउ खान मन लागे वीरेन्द्र चोक जाँदा पाइने स्थिति अहिले चोकको औचित्य नै गायव भएको छ । बजारको केन्द्रबिन्दु हटाएर हामी बजार बढाइरहेका छौं ।


बजार जोगाउने नाममा भेरि नदीको बहाव र क्षेत्रलाई दुवै तिरबाट घेरेर राखेका छौं । समग्रमा भन्दा हिजोको दुनै, दुनै जस्तो रहेन । जब दुनैको स्वरुप पछिल्लो केहीवर्षमा बिग्रियो त्यसरी नै अब सहर बन्न उन्मुख त्रिपुराकोटको बगर होस या जुफाल एअरपोर्ट अहिले नै ध्यान नदिने हो भने भोलि यी ठाउँले पनि आफ्नो सौन्दर्य गुमाउने छन् र हामी उही कुरुप ठाउँका बासिन्दा बन्ने छौं । सदरमुकाम मात्र होइन हाम्रा ऐतिहासिक गाउँ पनि आधुनिकताको मारमा पर्न थालिसको भन्दा फरक नपर्ला ।


विल्कुल प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ बस्ती विकासका नाममा अव्यवस्थित रुपमा डोजर लगाई बाटो खन्दै गाउँ पूरै कुरुप अनि प्राकृतिक विनास को सिकार हुन बाध्य पारेका छौं । हिजो सरकारले हेरेन भनेर सधैँभरी दोष दिने हामीहरुले पनि समयसँगै आफ्ना कर्तव्य बिर्सँदै पक्कै गयौं र त अहिले पनि हाम्रो सोँच र स्तर उस्तै छ, अर्थात परजिवि जस्तै ।


यतिखेर देशमा ३ तह को सरकार छ, केन्द्र, प्रदेश र स्थानीय । अब पनि सरकारले हेरेन गरेन भनेर बस्ने दिन र समय छैन हामीसँग । कैयौं अधिकार स्थानीय सरकारलाई पर्याप्त मात्रामा छ । हिजो वर्षौंदेखि सही विकासको अनुभूति सिंगो डोल्पालीले गर्न पाएका छैनन् । हिजो चामलमा रुमलिएको विकास आज मोटरबाटो (ट्रयाक निर्माण कार्य)मा मात्र रुमल्लिरहेको छ । यस्तै रुमल्लिएको विकासकै कारण हाम्रा कैयौं प्राकृतिक क्षेत्रहरु जो पर्यटकहरुको पर्खाइमा कुरिरहेका छन् । विकासको नाममा भ्रष्टचारभन्दा केही छैन भन्दा पक्कै पनि अनुपयुक्त नहोला ।


आज पनि शे–फोक्सुण्डो ताल, धो–तराप उपत्यका, श्री बाला त्रिपुरासुन्दरी भगवती मन्दिर, छल मष्टा मन्दिर, गल्लि मष्टा मन्दिर, शे–गुम्बा, अनि काइके भाषाको उद्गमस्थल शहरतारा जस्ता कैयौं धरोहरहरु छन् । जसको विकास गरेमा कैयौं पर्यटकहरुको ओइरो लाग्न सक्छ तर विडम्बना हामीले आजसम्म देश विदेशमा हाम्रा यी सम्पदाहरुको प्रचार प्रसार, संरक्षण र विकासमा कहिल्यै ध्यान दिएनौं । यस्ता क्षेत्रमा पुग्न मोटरबाटो मात्र एक विकल्प भन्दै हिँडिरहेका छौं तर कहिल्यै बुझ्न सकेनौं कि यस्ता क्षेत्रमा मान्छेलाई पैदल २÷३ दिन लगाएर भए पनि पुग्न जति आन्नद आउँछ त्यो गाडिको यात्रामा पक्कै पाइँदैन भन्ने ।


हाल जसरी पैदल फोक्सुण्डो ताल जानको रमाइलो छ, चरा को चिरबिर, अनि फोक्सुण्डोे खोलाबाट आउने त्यो चिसो हावा, अनि हरिया अग्ला रुखको बिचमा सल्ला र अन्य रुखबाट खसेका पातमा हिँड्दा निस्कने आवाजसँगै जानुको रमाईलो जति छ त्यति रमाइलो भोलि त्यहाँ मोटर बाटो जाँदा यात्रीले पक्कै नपाउन सक्छन् । तसर्थ कति विकासका खाका कोर्दा भर्जिन ल्याण्डलाई भर्जिन नै रहनदिँदा सबैको भलाई ढिला चाडो पक्कै हुन्छ । सडक आजको आवश्यकता पक्कै हो तर सडक पुग्दैमा हाम्रो जीवनस्तर उकासिन्छ र हाम्रा पर्यटकिय क्षेत्रमा पर्यटकको ओइरो लाग्छ भन्ने भ्रम हाम्रा समुदायका नेतृत्वकर्तामा छ भने त्यो हटाए हुन्छ ।


सडकसँगै आउने विनाशको न्यूनीकरणका लागि नसोँचेर गाउँ–गाँउमा सडक पु¥याउन हतारो गर्दा भोलीका दिनमा हाम्रो जीवनस्तर त उकासिएला तर हाम्रा आउने भावि सन्ततिले प्राकृतिक स्रोत अनि सम्पदा देख्न पनि पाउने छैनन् । हामीले सदैव भन्ने गरेको सडक सञ्जालको अभावले हाम्रा किसानका बगैंचाका रुखमै कुहिएका स्याउ र ओखर अनि बिक्री नभएर थन्किएका स्थानीय अन्नहरुको निर्यातमा सहज हुनेछ, तर आज पनि हामीहरु उही परम्परागत कृषिमा आधाभन्दा बढि जनता निर्भर छौं । अनि बस्तीमाथिबाट सडक खनेर हामी उल्टो दिशातिर गइरहेको बुभ्mन अझै ढिला गर्ने हो भने भोलि सडकले हाम्रा स्याउ र ओखर निर्यात गर्ने टाढाको कुरो हाम्रो उठिबास पक्कै लगाउला ।


विकाससँगै विनाश हुन्छ नै तर विनाशलाई कसरी कमी गर्दै विकाश बढाउने भन्ने कुरा सोँच्नुपर्ने छ र त्यस्का लागि समुदायका नेतृत्वकर्ता र सम्बन्धित पक्षले विज्ञहरुसँग छलफल गर्नु आजको आवश्यकता हो डोल्पाको ।
अब कुरा गरौं कुरुप हुँदै गइरहेको दुनै सदरमुकामको नदी छेउतिर अव्यवस्थित तरिकाले बनाइएका काठका टहराहरू के नगरपालिका अथवा गाविसको निर्णय बमोजिम नै बनेका हुन त ? त्यसरी अव्यवस्थित रुपमा टहरा बनाइनुले बजार क्षेत्र आफैंमा निसासिएको झै लाग्छ त्यहाँ पुग्ने जोकोहीलाई पनि । यदि ति टहराहरु सरकारी निर्णयको आदेश विपरित बनेका हुन् भने तिनिहरुलाई हटाउन कुन शक्तिले रोकेको छ ? त्यस्तै भेरि नदीको बहावलाई तारजालिले पर धकेलेर नदीमाथि घर बनाउनेलाई कारबाही गर्न सकिँदैन ? भोलि केही गरि भेरि नदीले आफ्नो क्षेत्र खोज्दै उर्लेर आए र जनधनको क्षति ग¥यो भने के राज्यलाई फेरि दोष लगाउने ? हामी नागरिकको कुनै जिम्मेवारी पर्दैन ? नगरपालिकाले पनि नगरबासीबाट कर मात्र उठाउने कि फोहोर तथा ढल व्यवस्थापनमा पनि ध्यान दिने ?


यि यस्तै यावत समस्या जुन हाम्रा नेता र व्यवस्थापकको आखाँमा परेको छैन, जुन व्यवस्थाका कारण भोलि ठूलो समस्या नआउला भन्न पक्कै सकिन्न । त्यस्तै भर्खरै सदरमुकाम दुनैसम्ममा मोटर बाटोको ट्रयाक खन्ने कार्य पूरा हुन पुगेको छ, मोटर बाटोसँगै खेतियोग्य जग्गा मासेर अव्यवस्थित तरिकाले घर बनाउने क्रम बढ्दै जाने कार्य जारी छ । तसर्थ बेलैमा स्थानीय सरकारले नियम कानुन बनाएर त्यसरी खेतियोग्य जमिन मासेर घर बनाउने कार्यलाई निरुत्साहित गरिनुपर्छ । ठूलीभेरि नगरपालिकाका जनप्रतिनिधिहरुसँग यदि जनताका लागि काम गर्नुपर्छ भन्ने छ भने पहिलो काम भेरि नदीमाथि घर बनाउनेलाई कारबाही अनि त्यस्ता घरहरु हटाउन लगाउन सक्नुपर्छ ।


अनि अव्यवस्थित तरिकाले दुनै बजारकै शोभा बिगार्नेगरि बनेका काठका टहरा हटाउन लगाइनुपर्छ । भेरि नदीमा सिधै मिसाइएका ढल तथा फाल्ने गरिएको फोहोर व्यवस्थापनको लागि ठोस निर्णय ल्याउनुपर्छ अथवा घर र भान्साबाट उत्पादन हुने फोहोर लाई कम्पोष्ट मल बनाउनका लागि स्थानीय बासिहरुलाई सहयोग गरिनुपर्छ । त्यस्तै जिल्लाका हरेक गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्र सरसफाई राख्न अनि व्यवस्थित बासस्थानका साथै त्यहाँका जैविक सुन्दरता जोगाई राख्न बेलैमा ध्यान दिनुपर्दछ ।

अखण्ड उपाध्याय
ठूलीभेरि नगरपालिका ३ डोल्पा
हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान


Facebook Comment


No ads found for this position