पर्यटकलाई काठमाडौंबाट लिने शुल्क बन्द गर्नुपर्छ

काठमाडौं–लकडाउनका कारण अहिले सबै नागरिकको जनजिवन अस्तव्यस्त बनेको छ । व्यवसायीहरु आफूले गरेको लगानी डुब्ने चिन्तामा छन् । कतिपयलाई त लोन कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।


कोराना महामारीपछि नेपालमा सुरु भएको लकडाउन करिब ढाइ महिना लामो भइसकेको छ । यस अवधिमा सबै कलकारखाना, कार्यालय बन्द भएका छन् । यहाँसम्म कि किसानले पनि खुलेर आफूले बाली लगाउन पाएका छैनन् ।


अझै केही समय यो लकडाउन थप्दै जाने हो र यसको मोडालिटी परिवर्तन नगर्ने हो भने, नेपालजस्तो सबै कुरामा आयतको भर पर्दै आएको देशलाई भोकमरीले छिट्टै चपेटामा लिने निश्चित छ । सरकारले नयाँ बजेट त त्याएको छ । तर, कोरोना प्रभावका कारण गत वर्षभन्दा बजेटको आकार केही घटेर आएको छ ।


तर, यति भए पनि कार्यान्वयन हुनसके प्रभावकारी हुनसक्थ्यो । विडम्वना नै भन्नुपर्छ अहिलेसम्मको इतिहासमा नेपालको बजेट सही, पूरा र पारदर्शी तरिकाले कार्यान्वयन भएको स्थिति छैन । आशा गरौं यसपाली सरकारले कोरोना कहरबाट परेको प्रभाव मूल्यांकन गर्दै बजेट कार्यान्वयनमा प्रभावकारीता अपनाउने छ र यो कहरबाट माथि उठ्न नेपाली जनता, व्यवसायी सबैलाई सहयोग गर्नेछ ।


कोरोनापछि सबैभन बढी प्रभावित बनेको नेपाली पर्यटन नै हो । २० लाख पर्यटक भित्र्याउने अपेक्षाका साथ सुरु गरिएको भ्रमण वर्ष २०२० पनि केही समयमै तुहिएको छ । पर्यटकीय गतिविधि बढाउँदै नेपाली अर्थतन्त्रमा सुधार ल्याउने सरकारको योजना कोरोनाले सफल हुन दिएन । त्यसको प्रत्यक्ष असर अहिले पर्यटन व्यवसायीले भोगिरहेका छन् ।


कारण हो, भ्रमण वर्षलाई लक्षित गर्दै गरिएको खर्बौं लगानी । २० लाख पर्यटक ल्याउने अभियान सुरु भएसँगै पर्यटकले ६ महिनासम्मका लागि नेपाली होटलहरु बुक गरिसकेका थिए । सोही आशाका साथ व्यवसायीले पनि पर्यटकीय गन्तव्यमा खर्बौं रुपैयाँ लगानी लोन लिएर गरे । अहिले उनीहरुलाई त्यो लोन कसरी तिर्ने र व्यवसायी कसरी जोगाउने भन्ने चिन्ता छ ।


हामीले आजको शृंखलामा नेपाली पर्यटनको विगत, वर्तमान अवस्था र भविष्यका विषयमा तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न नेपाल एशोसियसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोखरेलसँग कुराकानी गरेका छौं ।

आपसेआप चलेको थियो नेपाली पर्यटन

अहिले लकडाउनका कारण पर्यटन माथि उकास्ने विषयमा विभिन्न बहस भइरहेका छन् । तर, फेरि जुनसुकै बहस गर्दा पनि हिजोकै योजनाका बारेमा आउँछन् । विगत तीन दशकयता पर्यटनको स्थिति हेर्दा नेपाली पर्यटन उद्योग विकासक्रमसँगै विकसित भएको देखिन्छ ।


यहाँ कसैले कुनै योजना कार्यान्वयन गरे बढेको देखिँदैन । किनकी हरेक वर्षको पर्यटक आगमनको स्थिति आँकलन गर्ने हो भने, विकाससँगै पर्यटकको वृद्धि भएको देखिन्छ । त्यसैले अब साँच्चीकै पर्यटक आकर्षण गर्ने हो भने, विशेष प्याकेजहरु ल्याइनुपर्छ । हामीले अरुसँग रिस गरेर हुँदै हाम्रो माटो, देश र परिवेश सुहाउँदो योजना बनाउनुपर्छ ।

अहिलेसम्म नेपालमा चलिआएको प्रचलन भनेको जुनसुकै क्षेत्र भ्रमणका लागि आए पनि प्रवेश शुल्क काठमाडौंमै अशुल्ने चलन छ ।

विचरा पर्यटकीय क्षेत्रका बासिन्दालाई त उनीकहाँ आउने त्यो पर्यटकले राज्यलाई कति बुझाएको छ भन्ने जानकारी नै हुँदैन

नेपालको सन्दर्भमा अहिलेसम्म हिजोको जुन पर्यटन थियो अहिले पनि केही परिवर्तन भएको छैन । मलाई लाग्छ भोली पनि खासै केही परिवर्तन हुनेवाला छ । यही रफ्तारमा अघि बढ्नेछ । उत्पादन, क्षमता यही हो । भोलीको दिनमा फर्केर आउँदा पर्यटकको अनुहार उही हुन्छ ।


सामाजिक दूरी, स्वास्थ्य सुरक्षा प्रोटोकलका कुराहरु छन् । यी सबै तत्कालीन भ्याक्सिन नआउँदासमम हो । तर, भ्याक्सिन बने पनि हामीकहाँ पुग्न त्यति सहज हुँदैन । केही समय लाग्नसक्छ । कोरोनाको कहर पूर्ण रुपमा निर्मुल भयो भने केही परिवर्तन अवश्य हुनसक्छ ।

विगतमा पनि पर्यटन चलिरहेको थियो

पर्यटन अहिले मात्रै चलिरहेको भने, होइन । यो हजारौं वर्षदेखि चलिरहेको थियो । मानिसहरु केही न केही कामले कुनै न कुनै ठाउँमा घुम्न निस्किरहेका थिए । उनीहरु कहीँ जाँदा त्यसको असर त्यहाँको व्यवसाय र आयमा पर्ने नै गथ्र्यो ।
तर, यसलाई नाम दिइएको थिएन । अहिले फरक यति हो हामीले नाम दिएका छौं । कुनै बेलाका शासकले पर्यटन आउनका लागि खोल्ने भने, अनि आए पनि त्यसरी नै चलेको थियो । आजको दिनमा पर्यटन स्थापीत भएर विकास गरेको चीज पनि होइन ।

बृहत छलफल गर्ने समय हो

अहिले लकडाउनका कारण सबै गतिविधि ठप्प छन् । यतिबेला हामीले अब हाम्रो अभियान कसरी अगाडि जाने भन्ने विषयमा बृहत बहस गर्नुपर्छ । हुन त यसअघि पनि विभिन्न समयमा छलफल र योजनाहरु नबनेका पनि होइनन् ।


अब तीन योजनाहरु कति कार्यान्वयनमा आए र तिनले कित असर गरे भन्ने विषयमा मूल्यांकन गर्ने बेला पनि हो । हामीले सँधै अरु देशको मोडेलबारे बहस गर्यौं आखिर ती मोडेलले कति सार्थकता दिलाए त अब त सोँच्नुपर्ने हो नि ।


पहिला–पहिला सबै पर्यटकले नेपालीको तारिफ गर्थे । किनकी हामीकहाँ मात्रै होला एक महिनाका लागि आएको पर्यटक यहीँ भिसा अवधि थपेर ६ महिनासम्म पनि बस्न मिल्ने प्रावधान भएको । अहिले यहाँ लिमिटेनसका कुरा पनि आएका छन् । कोही भन्छन्, भुटानजस्तो लिमिट गराऔं, कोही तिब्बतीयन मोडलमा जाऔं भन्छन् ।


तर हामीले आफू सुहाउँदो पोलिसी निर्माण गर्नुपर्छ । अब हामी भुटानको बाटो हिँड्न त सक्दैनौं । अब के गर्ने भन्ने हो भन्ने विषयमा बृहत छलफल गर्ने समय हो । केही गरौं त भन्ने हो भने, उपाय धेरै छन् । नत्र हिजो जसरी चलेको थियो, आगामी दिनमा पनि त्यसरी नै अघि बढ्छ ।


अबका उपाय के हुनसक्छन् त भन्ने विषयमा हिजो हामीले पर्यटक संख्यालाई मुख्य लक्ष्य बनाएका थियौं । के अब आम्दानीलाई मुख्य लक्ष्य मान्ये हो कि । यसो हो भने, सबैले आजदेखि काम गर्नुपर्छ । हामीले काम गर्न थाल्यौं भने एक महिनाभित्रै गर्नसक्छौं ।


तर, यहाँ सबैलाई अभ्यासमा भन्दा पनि कागजी काममा अभ्यस्तता बढी देखिन्छ । अहिलेसम्मको पर्यटकको आगमनको स्थिति हेर्दा नेपालको प्रचारप्रसारले आएका हुन् भन्ने त म मान्दिन । यदि प्रचारले हो भने, त प्रभावकारी उपलब्धी पनि त देखिनुपर्यो नि । अब प्रचारको शैली पनि बदल्नुपर्छ ।
अबको अवसर के हो त । भोलीको दिनमा कसरी नेपाली पर्यटनलाई अगागि लैजाने भन्ने विषयमा भोलीबाट काम गर्यो भने एक महिना छ । यो अवधिमा डिरेक्सन चेन्ज गर्नुपर्छ ।

अहिले उडान खुला गर्ने भन्ने पनि आएको छ । तर, एयरपोर्ट खोल्नेबित्तिकै पर्यटक आउँछन् भन्ने पनि हुँदैन । त्यसका लागि हामीले नेपाली गन्तव्यहरु सुरक्षित छन् भन्ने त सन्देश बाहिर फैलाउन सक्नुपर्छ ।

भाडा महँगो भएकै छैन

अहिले लकडाउनको अवधिमा सबैभन्दा धेरै उठेको विषय पर्यटकलाई हवाइ भाडाको विषय हो । म विगत तीन दशकदेखि यो क्षेत्रमा कार्यरत छु । अहिलेसम्म कुनै पर्यटकले भाडा महँगो भयो भन्ने गुनासो गर्नु भएको छैन ।


यो त पर्यटन मन्त्रीज्युलाई क्यानडा जाँदा कसैले भन्दिएको रे । यो अरुको कुरा सुनेर लिमिटेसन लागू गराउँदा हुन्छ ? यदि भाडा महँगो भएकै हो भन्ने हो भने, हवाइ कम्पनीहरुलाई प्रतिस्पर्धामा छाडिदिनुपर्छ ।


प्रतिस्पर्धा हुँदा धेरै महँगो पनि हुँदैन । कहिलेकाँही भने धेरै पनि हुनसक्छ । आफूले नियन्त्रण पनि गरेर मापदण्ड बनाउने अनि महँगो पनि भयो भन्ने त उचित होइनन नि ।


शुल्क अनुसारको सेवा प्रदान गर्नुपर्छ

नेपालमा आउने पर्यटकका लागि प्रवेश शुल्क महँगो भएको छैन । तर, गुनासो कहाँनिर हो भने, त्यो शुल्क अनुसारको सेवा नपाउँदा हो । हाम्रो देशमा पाँचतारे होटलहरु औंलामा गन्न सकिने छन् । त्यहाँ सेवा सुविधा भनेअनुसारको पाइँदैन ।


यस्तै एउटा पर्यटकीय क्षेत्रमा जाँदा दुईसय देखि पाँचसय डलरसम्म तिर्ने पर्यटकका लागि त्यो शुल्कअनुसारको सेवा सुविधा पनि दिन सक्नुपर्छ । हो हामीले सुधार गर्नुपर्ने कुराहरु यहाँनिर छन् ।
अब सरकारले भन्दिनुपर्यो कि तिमीहरुले पाँच वर्षभित्र यो मापदण्डअनुसार सेवा सुधार गर । त्यति समयभित्रै पनि सुधार भएन भने, अनुमति नै क्यान्सिल गर्दा हुन्छ । तर, सरकार आफू नियन्त्रण पनि गर्न खोज्ने र त्यो अनुसारको सेवा सुविदा दिन पनि नसक्ने हुँदा कमजोरी भएको हो ।


यस्तै, अर्को महतवपूर्ण कुरा हो । पर्यटकलाई आवश्यक सवारी साधनको । विश्वमै नेपालमा आउने पर्यटकले मात्रै थोत्रा सवारी चढ्नुपरेको छ । यसमा सरकारकै कमजोरी छ । भारतमा एउटा ६ जनासम्म बोक्नमिल्ने कार ६ लाख रुपैयाँमा आउँछ । तर, यहाँ भने, त्यही कार कम्तिमा ४० लाख माथि पर्छ ।


यस्तै भारतमा ११ लाखमा आउने स्कारपियो गाडी यहाँ ७५ लाखसम्म तिर्नुपर्छ । यति महँगो भएपछि हामी पुरानै सवारी चलाउन बाध्य छौं । सरकारले पर्यटकीय क्षेत्रका लागि ल्याउने गाडीमा सहुलियत दिनुपर्छ । भन्सार शुल्ककै कारण नेपाली व्यवसाय महँगो पर्दै आएको छ । साँच्चीकै सरकारले पर्यटनबाट आम्दानी लिने अपेक्षा गरेकै हो भने, बाहिरबाट आउने वस्तुमा भन्सार छुट दिनुपर्छ ।

काठमाडौंबाटै शुल्क अशुल्ने काम बन्द गर्नुपर्छ

अहिलेसम्म नेपालमा चलिआएको प्रचलन भनेको जुनसुकै क्षेत्र भ्रमणका लागि आए पनि प्रवेश शुल्क काठमाडौंमै अशुल्ने चलन छ । विचरा पर्यटकीय क्षेत्रका बासिन्दालाई त उनीकहाँ आउने त्यो पर्यटकले राज्यलाई कति बुझाएको छ भन्ने जानकारी नै हुँदैन ।


शुक्लाफाँटा वा सोलुखुम्बु जान आएको पर्यटकले काठमाडौंमै शुल्क बुझाउनुपर्ने परपाटी अन्त्य गरौं । सम्बन्धित क्षेत्रकै विकासका लागि खर्चिनुपर्छ । अहिले त रकमान्तर गरेर कहाँ खर्च हुन्छ कसैलाई पत्तो छैन ।


धेरै गतिविधि हुने ठाउँको सबै शुल्क स्थानीय क्षेत्रकै सुधारका लागि खर्च गर्ने भन्ने पनि होइन । तर, आवश्यकताअनुसार उनीहरुले आफ्नो ठाउँमा आएको पर्यटकले तिरेको कर त पाउनुपर्छ नै । यस्ता कुरामा सुधार गर्नसक्यो भने, मात्रै नेपाली पर्यटनको भविष्य केही सुधार भएको देखिनेछ ।
नत्र भने, उही पुरानै तरिकाले अघि बढ्छ । व्यवसायीले सरकारलाई सराप्ने र सरकारले व्यवसायीलाई आरोप लगाउँदै आफ्नै गतिमा अघि बढ्छ ।


Facebook Comment


No ads found for this position