अबको विकल्प आधुनिक कृषिः चुनौती र अवसर

प्रकाश देवकोटा

नेपाल एक कृषिप्रधान देश हो । अहिले पनि यहाँको कुल जनसंख्याको ६५ प्रतिशत सर्वसाधारण खेतीपाती तथा पशुपालनमा संलग्न छन् । नेपाल सरकारको भूमि विभागकाअनुसार देशभर कुल खेतीयोग्य जमिन ३१ लाख ९५ हजार १ सय ७३ हेक्टरको भूभागमा फैलिएको छ ।

दैनिक उपभोग्य वस्तुहरु अर्थात् भान्सामा प्रयोग हुने वस्तुहरुका साथै अन्य कृषिजन्य वस्तुहरु जस्तै, फलफूलहरु पनि भारतसहित तेस्रो मुलुकबाट आयात हुन्छन् । कृषि वस्तुको न्यून उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो धक्का परेको अवस्था छ ।

सामान्य खाद्यवस्तुको पनि पर्याप्त आन्तरिक उत्पादन गर्न नसक्नुले हाम्रो परनिर्भरतालाई झन ठूलो स्थान दिएको छ । जसका कारण हामी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हेपिन पुगेका छौं । आजभन्दा केही समय अघिसम्म पनि हामिसँग कृषिमा केवल आत्मनिर्भरता मात्र हैन निर्यात गरेको इतिहास पनि छ । १९६० को दशकमा कोरियामा भोकमरी हुँदा हामीले चामल सहयोग गरेका थियौं ।

जतिजति हाम्रो समाज आधुनिकतातिर बढ्दै गएको छ, त्यति–त्यति परनिर्भरता पनि बढ्दै गएको देखिन्छ । ठूलो मात्रामा जनशक्ति र भूमि यस क्षेत्रमा संलग्न हुँदाहुँदै पनि अपेक्षा गरेअनुरुप सफलता हासिल गर्न सकेको अवस्था छैन । हाम्रो कृषि क्षेत्रमा हाल देखिएका केही समस्या, चुनौती अनि समाधानका विषयमा चर्चा गर्दैछौं ।

समस्याहरु

नेपालको कृषि क्षेत्रमा समुचित विकास हुन नसक्नुको मुल कारण उपयुक्त योजना नहुनु हो । हुन त विभिन्न कालखण्डमा योजनाहरु पनि नआएका होइनन्, तर ती योजना कार्यान्वयनमा चुस्त सुशासन, स्पष्ट नीति र पारदर्शी कार्यक्रम जस्ता अपरिहार्य पक्षले उचित स्थान पाउन सकेनन् ।

कृषि क्षेत्रको समुचित विकास, प्रवद्र्धन र संरक्षणका लागि स्थापना भएका संस्थानहरु जस्तै कृषि विकास बैंक, राष्ट्रिय कृषि अनुसन्धान केन्द्रहरु पनि अध्ययन अनुसन्धानमा कम बरु बढी आफैंमा अनुचित कार्यमा उद्दत देखिएकाले यस्ता संरचनाको औचित्यमाथि नै प्रश्न उठेको छ ।

सरकारले सहुलियत ऋणको व्यवस्था गरे पनि त्यसको प्रक्रिया नै झन्झटिलो भएकाले सामान्य तथा गरिब किसानको खेतबारीसम्म पुग्न सकेको छैन । अझ प्रचारप्रसारको कमिले कतिपय किसानले सरकारको नीतिबारे नै अनविज्ञ छन् । जसकारण किसानहरु साहुमहाजनबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य छन् ।

उनीहरुको पेशाको उचित मूल्यांकन गर्ने संस्कारको विकास नभइसकेको कारणले पनि त्यस पेशाबाट मानिसहरु बिस्तारै निरुत्साहित भइरहेको अवस्था छ । त्यसकारण यस क्षेत्रमा पर्याप्त लगानीको पनि अभाव छ, यदि लगानी भइहाले पनि नाफा हुने हुँदैन ।

विभिन्न प्राकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो, रोग किराको व्यवस्थापन हुन नसक्नुले पनि उत्पादनमा ह्रास आउनाले किसानहरु यस क्षेत्रबाट टाढा हुने अवस्था पैदा भएको छ । किसानले भनेको समयमा बिउ, मल, सिंचाइको व्यवस्था छैन, यसका बाबजुद उत्पादन भइहाले पनि बजारीकरणको उचित व्यवस्था हुन नसकेकाले यस क्षेत्रबाट खिन्न भइरहेका छन् ।

कतिपय यस्तो खाद्यवस्तु हुन्छन्, जसको समयमा नै भण्डारण, व्यवस्थापन र बिक्रीवितरण गर्न सकिएन भने नष्ट भएर जान्छन् । उत्पादन र बजारीकरण दुबै काम एकैसाथ किसानबाट सम्भब हुँदैन त्यसैले पनि यस्ता वस्तुहरुको उत्पादनबाट किसानहरु टाढा हुनथालेका छन् । फलस्वरुप यस्ता वस्तुको आयातको मात्रामा बृद्धि हुँदै गएको हो ।

जब देशको मेरुदण्ड अर्थात् कृषि क्षेत्रको उत्पादनमा नै ह्रास आउँछ तब राज्यको हरेक क्षेत्रहरुमा जस्तै राजनितिक, आर्थिक, समाजिक अनि सांस्कृतिक क्षेत्रमा पनि नकरात्मक असर पर्न थाल्छन् । त्यसैले यस क्षेत्रको समाधानमा जति ढिलो हुन्छ त्यति नै देश पछाडि धकेलिन्छ ।

चुनौतीहरु

विभिन्न खालका प्राकृतिक बिपत्तिहरु, साधारण किसानको उत्पादनले उचित मूल्य नपाउँदा यस क्षेत्रप्रतिको निरुत्साहन अनि विकर्षणका साथै राज्यको कृषिप्रतिको वेवास्ताकारी नीतिले पनि दक्ष जनशक्तिहरु विदेशिन बाध्य भएका हुन् ।

जसरी सामन्ती युगमा सामन्तहरुले किसानलाई नियन्त्रणमा राखि नाफाको अंशमा हुन दिँदैनथे । त्यसरी नै आजको समयमा पनि किसानहरुले उचित बजारीकरणको अभावले विचौलियालाई लागतभन्दा पनि कम मूल्यमा वितरण गर्न बाध्य छन् । अनि विचौलियाले बजारमा क्रयमूल्यको दोब्बर तेब्बरमा बेची बिना मिहेनत नाफा अशुलिरहेका छन् ।

न किसानले नाफामा सहभागी हुन पाएका छन्, न उपभोक्ताले उचित मूल्यमा खान पाई दुई पैसा बचाउन पाएका छन् । फलस्वरुप विचौलियाहरु नयाँ सामन्तको रुपमा स्थापित हुन थालेका छन् । मानिसहरुले आफ्नो आधारभूत आवश्यकतासँगै छोराछोरीको शिक्षा, स्वास्थ्य, रोजगारीका निमित्त पनि गाउँ छाड्न बाध्य छन् ।

त्यसैले पनि विशेषतः हिमाली तथा पहाडि क्षेत्रका अधिकांश खेतीयोग्य जमिन बाँझो हुन थालेका छन् । कतिपय स्थानमा खेती योग्य जमिन हुँदाहुँदै पनि सिंचाइ अभावले कृषि क्षेत्रको स्थान घट्दै गइरहेको छ । अझ सहरी क्षेत्रमा त वर्षै भरी खेती गर्दा पनि आम्दानी नहुने जति पुँजी घरभाडाबाट आउने हुनाले पनि धमाधम खेतीयोग्य जमिन घडेरीमा परिणत हुन थालेका छन् ।

कृषि क्षेत्र र पेशाको समयसापेक्ष प्रचार–प्रसार हुन नसक्नु, समयमा नै रोगकिरा र किटनाशक औषधिको व्यवस्थापन हुन नसक्नु, कृषि बिमाको व्यवस्था भए पनि अधिकांश सामान्य किसानहरुलाई थाहा नहुनाले साथै वैदेशिक रोजगारिको बृद्धिसँगै मानिसहरुको वस्तुहरुको क्रयशक्तिमा बृद्धि हुनु र परम्परागत जीवनशैलीमा परिवर्तन आउनुले पनि आयातमा बृद्धि हुन थालेको छ ।

माथिका यावद पक्षमा आएको प्रभावले गर्दा पनि स्वदेशी उत्पादनप्रति विश्वास घट्दै गएको र उही प्रकृतिको वस्तुमा पनि आयातित खोज्ने संस्कारको सुरुवात हुनुले पनि हाम्रो देशको वर्तमान प्रणालीमा ठूलो चुनौती थपिएको छ ।

अहिले सम्पूर्ण विश्वका साथै हामी पनि लकडाउनको बसाइमा छौं । यो महासंकटको अवधि नै अत्यन्तै चुनौतीको विषय हो, यद्दपि हामी यसलाइ सहजै पराजित गर्नेछौं भन्ने कुरामा विश्वस्त छु । साथै भारतसँगको सीमा विवादको विषयले पनि हाम्रो परनिर्भरता माथि विशेष ध्यान दिनुपर्ने समय आएको छ । भनिन्छ नि कुनै पनि चिजको कमजोर पक्ष जहाँ हुन्छ, वास्तवमै पहिल्याउन सकियो भने सबैभन्दा बलियो पक्ष पनि त्यहीँ हुन्छ ।

चुनौती केवल एक्लै आएको हुदैन त्यसले आफूसँग केही अवसर पनि सिर्जना गरेको हुन्छ । त्यसलाइ कसरी पार लगाउने र अघि बढ्ने भन्ने शिक्षा पनि दिएर जान्छ । नेपालका विदेशिएका जनशक्तिहरु कोरोनाको साम्यसंगै स्वदेश फर्कने तरखरमा छन् ।

साथै स्वदेशमा भएका जनशक्तिहरु पनि परनिर्भरताबाट अघाइसकेका छन, यो एउटा चुनौती र अवसर दुवैको समय हो । यस्तो परिस्थितिको राज्यले उचित व्यवस्थापन गरेर लाभ उठाउन सक्यो भने हामी चाँडै नै समृद्ध मुलुकमा गनिने छौं । त्यसका लागि केहि निश्चित र उपयुक्त बाटो तय गर्नुपर्छ ।

अबको बाटो

हाम्रो आजको कृषि क्षेत्रको अवस्थाको रुपरेखालाई परिवर्तन गर्नको निमित्त चाहिने पहिलो शर्त दक्ष जनशक्ति हो । केही मात्रामा दक्ष जनशक्ति भएता पनि भविष्यसम्मको बाटो तय गर्नका लागि पर्याप्त छैन ।

जसका लागि सर्वप्रथम कृषिको व्यवसायीकरणबारे राम्रो दखल भएको, आधुनिक कृषि प्रणालीमा अधिकतम यन्त्रको प्रयोग र त्यसबाट प्रचुर मात्रामा उत्पादन गर्नका लागि दक्ष कृषि इन्जिनियर (जनशक्ति) को आवश्यकता पर्छ । यसलाई मध्यनजर गर्दै शैक्षिक संस्थामा पठनपाठन सुरु गर्नुपर्ने देखिन्छ ।

त्यस्तै, खाद्य प्रविधि, खाद्य सुरक्षा, जलवायुमैत्री कृषि पद्धतिका साथै स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन, ज्ञान, सीप, क्षमता र अनुभवको उपभोग गर्नसक्ने खालको प्रविधिको विकासमा जोड दिनु आवश्यक छ ।

भौगोलिक स्थिति र जैविक विविधतालाई मध्यनजर गर्दै नविन प्रविधिको प्रयोगमा नयाँ नयाँ खेतीपातीमा विशेष जोड दिनुपर्ने हुन्छ । सिंचाइको व्यवस्थापन र माटोको संरक्षणमा पनि विषेश ध्यान दिँदै रोगकिराको व्यवस्थापनका लागि विभिन्न किसिमको नविन प्रविधिको प्रयोग गर्न
सकिन्छ ।

वस्तुहरु उत्पादन भइसकेपछि तीनको वर्गिकरण गरी कम समयमा नै नष्ट हुने प्रकृतिको वस्तुलाइ छिटो बजारीकरणको व्यवस्था गर्ने र केही लामो समय सम्मपनि स्थिर रहनसक्ने खालका वस्तुलाई भने तत्काल भण्डारण र आवश्यकताअनुसार बजारमा लैजान सकिने व्यवस्थाको लागि विभिन्न स्थानमा भण्डारणगृहको व्यवस्था गर्नुपर्छ ।

वस्तुको उत्पादन र बजारको व्यवस्थापन दुवै कार्य किसानले आफैं गर्न नसक्ने हुनाले, विचौलियाको स्थानलाई कटौति गर्न यसको सम्पूर्ण जिम्मेवारी स्थानीय, प्रदेश र अझ नभए संघीय सरकारले लिने वातावरणको सिर्जना गर्नुपर्छ ।

नेपालमा कृषि क्षेत्रको उत्थान, प्रवद्र्धन, संरक्षण र विकासका निमित्त पहिला पनि ठोस कार्यक्रम नभएका होइनन् । तर, पनि ती कार्यक्रमले वास्तविक विकासको मर्मलाई अंगिकार गरेर किसानको जीवनस्तर सुधार्न नसकेर कृषि वस्तुको आयातको आकारलाई घटाउन नसकेको कुरा
यथावत् नै छ ।

त्यसैले तपशिलको ज्ञान, सीप, क्षमता,र अनुभवलाई मध्यनजर गर्दै त्यहीअनुसारको सरल, स्पष्ट, र सामान्य किसानलाई एकत्रित गर्नसक्ने लक्ष्य, निती, रणनिती,आवधिक योजना र कार्ययोजना बनाउनु आवश्यक छ ।

विभिन्न नगदे बाली तथा नयाँ कृषिजन्य वस्तुको अनुसन्धानका लागि विषेश लगानीका साथै कृषिजन्य वस्तुको प्रवद्र्धन र विकासका निम्ति गठन भएका संस्थानको गुणस्तर अभिवृद्धिका लागि नविन प्रविधिको विकास, प्रयोग र अनुगमनको दायरालाई फराकिलो पार्नुपर्छ ।

ती संस्थान तथा अन्य कुनै पनि क्षेत्रमा गरिएको अध्ययन अनुसन्धानलाई सामान्य किसानको खेतबारीसम्म पु¥याएर अधिकतम मुनाफाका लागि एउटा संयन्त्र नै खडा गर्न सकिन्छ ।
नेपालमा कृषि क्षेत्रमा पर्याप्त लगानी नहुनुका साथै पुरातनवादी र गुजारामुखि खेतीप्रणालीले गर्दा वास्तविक किसानको र सिंगो राष्ट्रको पनि जीवनस्तर उस्कन सकेको छैन ।

राज्यको आर्थिक विकास र समृद्धिका लागि कृषि क्षेत्रको औधोगिकरण र प्राकृतिक स्रोतको समुचित प्रयोगबाट हुने विकास अति नै महत्वपूर्ण छ । कृषिमा विकास र ग्रामीण जीवनस्तरको रुपान्तरणबिना देशले आर्थिक विकास र समृद्धि हासिल गर्न अति नै कठिन छ ।

तसर्थ हामी सम्पूर्ण नागरिकले यो बसाइको समयको उच्चतम प्रयोग गर्दै आफ्नो ज्ञानको दायरालाई बढायौं र यो महासंकट पश्चात् विवेकपूर्ण ढंगबाट प्रयोग गर्न सकियो भने हाम्रो कृषिजन्य वस्तुको निर्यात गर्ने दिनको र समृद्धिको ढोका टाढा छैन ।

प्रकाश देवकोटा
रत्नराज्य लक्ष्मि क्याम्पस
राजनीति शास्त्र बिए प्रथम वर्षमा अध्ययनरत


Facebook Comment


No ads found for this position