हवाईभाडा १ हजार १ सय रूपैयासम्म घट्यो,तर….

२२ जेठ, काठमाडौं । लकडाउन र हवाई उडानमा लागेको प्रतिवन्धकाबीच हवाई इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँ कम भइसकेको छ । तर, यसको फाइदा सेवा प्रदायक कम्पनीले लिन भने पाएका छैनन् । सरकारले जुन महिनाभर व्यवसायिक हवाई उडानमाथि प्रतिवन्ध लगाएको छ । व्यवसायीले भने लकडाउन र उडान प्रतिवन्धकै बीचमा हवाई भाडा घटाएका छन् ।

हवाई इन्धनको मूल्य आयल निगमले १ अप्रिलमा रु. १५ र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटाएपछि भाडा कटौती गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका एक अधिकारीका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम् ११०५ देखि न्यूनतम २२५ रुपैयाँसम्म हवाई भाडा घटेको छ । काठमाडौंबाट सबभन्दा बढी धनगढी र कम सिमरामा हुने गर्छ ।

कम्पनीले लकडाउनपछि उडान सूचारु गर्न पूर्वतयारीको कामलाई समेत तीव्रता दिएको बताएको छ।लकडाउनमा केही जहाज उडेपनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणको काम जारी रहेको कम्पनीले उल्लेख गरेको छ ।

कोभिड-१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाइडलाइन अनुसार कम्पनीले ‘सुरक्षा निर्देशिका’ बनाएको थियो । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्‍याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने उल्लेख रहेको छ । सुरक्षा निर्देशिकाअनुसार आफ्ना कर्मचारीहरुलाई आगामी साताबाट तालिम प्रदान गर्ने तयारीमा कम्पनी रहेको छ ।

कम्पनीका अनुसार अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ८६० रुपैयाँ सस्तो हुनेछ । भरतपुर, पोखरा र विराटनगरको भाडा क्रमशः २७०, ३९५ र ६०० रुपैयाँले कम भएको छ ।

जनकपुरमा ३२०, सिमरामा २२५, भैरहवामा ५१५, धनगढीमा ११०५ र नेपालगन्जमा ८१५ रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट भद्रपुरमा ७१५ रुपैयाँ कम भएको कम्पनीले जनाएको छ । बुद्धबाहेक अन्य कम्पनीले भने घटेको भाडादर अझै सार्वजनिक गरेका छैनन् ।


Facebook Comment


No ads found for this position