तत्काल पर्यटन माथि उस्कने सम्भावना देख्दिनँ, तर…….

काठमाडौं–कोरोना कहर भएको ६ महिना पुगिसक्यो । यतिबेलासमम पनि यो महामारी नियन्त्रणमा आउने कुनै छाँटकाँट देखिँदैन । विश्वभरका मानिसहरु यो महामारीसँग जुँध्न अनेक प्रयास गरिरहेका छन् ।

तर, पनि हालसम्म कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउन सकिरहेका छैनन् । यो लकडाउनका कारण विश्व अर्थतन्त्र नै तहसनहस बनेको छ । नेपालमा पनि यसको प्रभाव विकराल बन्दै गएको देखिन्छ ।

नेपाली पर्यटन क्षेत्र त अझ बढी प्रभावित बनेको छ । सबै व्यवसायीहरु आफ्नो व्यवसायमा ताला लगाएर बसेका छन् । कामदार बेरोजगार बनेका छन् । उनीहरुलाई कसरी पारिश्रमिक दिने भन्ने चिन्ता अहिले व्यवसायीलाई एकातिर छ भने, अर्कोतिर लाखौं भाडा र बैंकको ब्याज कसरी तिर्ने भन्ने हो ।

लकडाउन भए पनि यसबीचमा हामीलाई केही नयाँ काम गर्ने अवसर पनि दिएको छ । विगतमा हुन नसकेका काम यतिखेर सरकारले अगाडि हात बढाउन सक्यो भने, धेरै नयाँ कामहरु हुन्छन् । जसबाट बेरोजगार बनेका पर्यटन मजदुरले एक÷दुई महिनाकै लागि भए पनि रोजगारी पाउन सकछन् ।

हामीले लामो समयदेखि लकडाउन र यसले नेपाली पर्यटन क्षेत्रमा पारेको असरका बारेमा बहस गर्दै आएका छौं । आजको श्रृखलामा अबको नेपाली पर्यटनको भविष्य र यसलाई माथि उकास्न कस्ता कामहरु गर्नुपर्छ भनेर सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा सगकुराकानी गरेका छौं ।

नयाँ मार्ग खोजी र संरचना निर्माण

अस्तिको सिजन त सकिसक्यो । अहिले हामीसँग काम गर्ने कुनै मौका छैन । तर, सरकारले चाह्यो भने धेरै कामहरु यो लकडाउनमा पनि हुनसक्छन् । जुन जुलाईमा गाह्रो हुन्छ । बर्षात हुने हुँदा पर्यटकीय गतिविधि पनि हुँदैनन् ।

तर, दुई महिनापछि भने, पुनः सिजन सुरु हुन्छ । त्यतिबेला केही नयाँ कामहरु अवश्य गर्न सकिन्छ । एक÷डेढ महिनापछिबाट लकडाउन पनि सहजै होला । हामीले पर्यटन क्षेत्रमा लागेका मजदुरलाई राहत दिने कि भनेर पर्यटनन बोर्ड, विभागसँग प्रतिवेदन बुझाएका छौं ।

कुनै–कुनै हिमालहरु सरसफाई, सेल्टर निर्माण, पदमार्ग बनाउन सकिन्छ कि भन्ने हो । हाम्रो क्षेत्रमा लागेका कामदारलाई काम दिन सकिन्छ । यसरी पैसा दिएर होइन कि एक÷दुई महिना रोजगार दिन सकिन्छ कि भनेर प्रतिवेदनमा सरकारसँग आग्रह गरेका छौं ।

अब उहाँहरुले पनि तत्कालै अगाडि बढाउने कुरा पनि गर्नुभएको छ । ठूला ठूला हिमाल आरोहणमा विदेशी पर्यटक नै आउने हुन् । तर, कोरोनाका कारण अहिले तत्कालै विदेशी पर्यटक आउने सम्भावना पनि छैन ।

सेप्टेम्बर र अक्टुबरमा ठूला हिमाल सफाइको काम पनि गर्न सकिन्छ । त्यतिबेला पनि नयाँ रुट पत्ता लगाउने, सरसफाइ गर्न लगाउने भन्ने तयारी अनुसार पर्यटन बोर्ड, विभाग, पर्यटन एसोशियसन लगायतका संस्थाहरु अहिले योजना बनाउँदैछन् ।

पर्यटन बोर्डलाई एउटा योजना बनाएर अगाडि बढाउन अनुरोध गरेका छौं । छिटो गर्नुपर्यो भनेका छौं । कामदारलाई अहिले अलिकति समस्या भो । अहिलेसम्म त ठूलो समस्या छैन । तर, लकडाउन लम्बियो भने, समस्या आउन सक्छ ।

सबैको समन्वयमा छुटसहितको प्याकेज

लकडाउनपछि तत्कालै पर्यटन माथि उस्कने सम्भवना म देख्दिन । तर, हामीले पर्यटकको अवस्था बुझेर योजना बनाउन सक्यौं भने, तत्कालै पनि केही पर्यटकीय चहलपहल बढ्न सक्छ । तर, यसमा कुनै एक निकायले मात्रै गर्न सक्दैन ।

पर्यटन क्षेत्रमा आवद्ध सबै क्षेत्रको सहभागीतामा संयुक्त सहमति आवश्यक पर्छ । बरु कुन क्षेत्रमा कति सहुलियत दिने भन्ने कुरा निर्धारण गरौं । केही निश्चित समयका लागि राज्यले विदेशी पर्यटकबाट उठाउने रोयल्टी, होटलहरुले आफ्नो सेवा शुल्क र गाइडको पारिश्रमिकमा पनि केही हेरफर गर्न सकियो भने, सस्तो प्याकेज बन्छ ।

हामीले अहिले यो गर्न आवश्यक पनि छ । यदि सस्तो प्याकेजको अवधारणा कार्यान्वयनमा आउनसक्यो भने, लकडाउनपछि नै हामीले विदेशी पर्यटकलाई आकर्षण गर्न सक्छौं । अहिले आन्तरिक पर्यटनको कुरा पनि उठेको छ ।

तर, आन्तरिकबाट मात्रै पनि हाम्रो खस्केको पर्यटन मािथ उठ्दैन । तर, पनि केही राहत भने अवश्य हुनेछ । यसमा पनि गन्तव्य स्थलमा आन्तरिक पर्यटकका लागि विगतको भन्दा केही समयका लागि शेवा शुल्कहरुमा केही सहुलियत प्रदान गरौं ।

नेपालको धेरै आम्दानी हुने र लगानी भएको हिमाली पर्यटन नै हो । यसका लागि विशेष प्याकेजको आवश्यकता छ । अन्नपूर्ण, पोखरा लगायतका क्षेत्रमा आन्तरिक पर्यटकका लागि त्यति समस्या छैन । तर, खुम्बु क्षेत्रमा भने अलिकति महँगो पर्न जान्छ । अहिले केही समयका लागि सबैसँग समन्वय गर्ने हो भने, त्यसमा पनि हेरफर गर्न समस्या हुँदैन ।

आन्तरिक उत्पादनसँग जोडौं

अहिले नेपालको समृद्धिको आधार पर्यटनलाई भनिँदै आएको छ । तर, अवधारणाअनुसार काम भने भएको देखिँदैन । यो हाम्रो कमजोरी पनि हो । केही स्थानीय उत्पादनको महत्व बुझ्न नसक्नु र केही उत्पादनको परिमाण धेरै नहुनु पनि हो ।

अब अहिले कोरोनाका कारण सबै युवाहरु स्वेदश फर्किएका छन् । सरकारले आन्तरिक उत्पादनमा लगाउनुपर्छ । बरु दुई रुपैयाँ महँगो परे पनि अर्गानिक उत्पादन उपभोगमा प्ररित गर्नुपर्छ । यसमा हामी व्यवसायीले पनि भूमिका खेल्नुपर्छ ।
यहाँ कृषिमा प्रविधि नहुँदा आफ्नै हातले उत्पादन गर्दा उत्पादन लागत बढेको हुनसक्छ । त्यही कारण पनि नेपाली उत्पादन केही महँगो पर्न गएको हो । अहिले मानिसहरुलाई अर्गानिक खाना खाने बानी पनि पर्दै गएको छ ।

अब यो बानी सबैलाई पार्न हामीले हाम्रो उत्पादनमा बृद्धि गर्नु आवश्यक छ । कृषिमा विभिन्न कार्यक्रमहरु भए पनि प्रभावकारी बन्न सकेको छैन । साँच्चीकै सरकारले देशको आर्थिक समृद्धि चाहेको हो भने, कृषि र पर्यटनलाई एक आपसमा जोड्नुपर्छ । उत्पादनको मात्रा बढ्यो भने, बजारमा सस्तोमा पाउने र सबैको पहुँचमा पनि पुग्छ ।


Facebook Comment


No ads found for this position