लकडाउनले नराेकेकाे मेराे, तिचुरोङ हेरिटिज ट्रेल यात्रा (फाेटाे फिचर)

जगबहादुर बुढा

कोभिड–१९ को प्रभाव विश्वका धेरै मुलुकहरूमा परिसकेको थियो । तर नेपालमा खासै परेको थिएन । महामारिको प्रभाव पर्नसक्ने कुरालाई मध्यनजर राख्दै सरकारले लामो दूरीको यातायातहरू चैत्र ९ गते बन्द गरेको अवस्था थियो ।
लामो दूरीका यातायात बन्द गरे पनि आन्तरिक हवाइको आवतजावत भने यथावतै थियो । मेरो पूर्व योजना नै थियो चैत्र १० गते डोल्पा जाने र काइके गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू भ्रमण गर्ने ।

आफैं जन्मेको गाउँपालिका भए पनि सबै गाउँ बस्तीहरू घुम्न र डुल्न अवसर जुटेको थिएन । तर, यसपाली भने घुम्ने नै योजनाका साथ काठमाडौंबाट चैत्र १० गते यती एयरलाइन्सको जहाँजबाट नेपालगन्ज गएँ । नेपालगन्जमा जहाँजबाट ओर्लेर होटेलमा पुगेको केही क्षणमै नेपाल लकडाउन भन्ने समाचार आयो ।

धेचेनपलरी गुम्बा

भोलीपल्ट बिहान ६ बजेको डोल्पाको फ्लाईट थियो तर लकडाउनको कारणले आन्तरिक हवाइ तथा लामो दुरीको यातायात सबै बन्द हुने सरकारले घोषणा गरेपछि तीन दिन नेपालगन्जमा अड्किएँ ।

लगातार दुई–तीन दिनको ठाँउ–ठाँउमा फोनबाट गरेको निरन्तर पहल पश्चात हामी १०७ जनाको टोली ३ वटा गाडीहरूको साथ दुई दिन र दुइ रातको यात्रा गरी डोल्पाको दुनै पुग्यौं ।
दुनै पुगे पश्चात नेपाल सरकारले घोषणा गरेको मापदण्डअनुसार एक ठाउँबाट अर्को ठाउँ जाँदा क्वारेन्टिन बस्नुपर्ने प्रावधान अनुरुप १५ दिनको बसाइपछि आफ्नो गन्तव्य काइके गाउँपालिकाको मेरो जन्म गाउँ गुम्बातारा गएँ ।

करिब तीन हप्ताको लागि काइके गाउँपालिकाका गाउँहरू र धार्मिक तथा पर्यटकीय स्थल घुम्ने मेरो योजना अझै यथावत नै थियो । नेपाल सरकारले निर्धारण गरेको प्रावधान १४ दिन क्वारेन्टिन र ७ दिन होम क्वारेन्टिन भन्ने प्रावधानलाई आत्मसाथ गर्दै ७ दिन होम क्वारेन्टिन बसियो ।

त्यसपछि भने मेरो आफ्नो पूर्व निर्धारित योजना अनुरुप काइके गाउँपालिकाका गाउँ तथा धार्मिक तथा पर्यटकिय स्थलहरू घुम्न निस्केँ । मेरो साथमा थिए भान्जा सूर्य रोकाया । जसअनुसार सुरुमा टुप्पा तारा गयौं । त्यहाँ रहेको गुम्बा र देवताका थानहरूको अवलोकन गरियो ।

देवता थान, टुपातारा

त्यसपछि त्यसै गाउँको नजिकै रहेको दलितहरूको गाउँ रिवामा गएँ । त्यहाँ पनि देवताका थानहरूको दर्शन गरियो र हामी शहरतारा आयौं । शहरतारा मेरो मावली गाउँ हो । मेरो बाल्यकाल मावली मै बितेको थियो र अहिले जाँदा पनि शहरतारा मेरो आफ्नै गाउँ जस्तै लाग्छ ।

त्यसको भोलीपल्ट ताराकोट गएँ । ताराकोट एउटा यस्तो एतिहासिक गाउँ हो जुन गाउँ काइके भाषाको उत्पतीसँग जोडिएको छ । त्यहाँ केही घन्टाको बसाइपछि र मांघाङ गुम्बाको दर्शन गरेपछि फेरी शहरतारा मै फर्कियौं ।

मांघाङ गुम्बा, ताराकोट

सन १९६७ तिर मानवशास्त्री जेम्स फिसर यही बाटो भएर पोखरादेखि तिचुरोङ क्षेत्र जानु भएको थियो । टिचुरोङ को ताराङयानिकी शहरतारामा करिब एक वर्षको फिल्ड वर्क गरी उनले अनुसन्धात्मक किताब ‘ट्रान्स(हिमालयन ट्रेड’ भन्ने पुस्तक प्रकाशनमा ल्याए ।

डोल्पा तेर्छुरोङ्गडुप्दे ध्यान केन्द्र, साम्तिलिङ

सन १९६७ तिर मानवशास्त्री जेम्स फिसर यही बाटो भएर पोखरादेखि तिचुरोङ क्षेत्र जानु भएको थियो । तिचुरोङको ताराङयानिकी शहरतारामा करिब एक वर्षको फिल्ड वर्क गरी उनले अनुसन्धात्मक किताब ‘ट्रान्स हिमालयन ट्रेड’ भन्ने पुस्तक प्रकाशनमा ल्याए ।

त्यसैगरी सन १९७७ मा अमेरिकी लेखक पिटर म्याथियासन र जिवविज्ञान शास्त्री जोर्जबी.स्यालरले डोल्पो क्षेत्रमा हिमचितुवाको खोजी गर्न जाँदा त्यही पोखरा बेनी अनि ढोरपाटन सम्तिलिङ हुँदै तिचुरोङ हुँदै गएका थिए । अहिले पनि बर्षेनी करिब ४–५ समूह विदेशी पदयात्रीहरू यही बाटो हुँदै डोल्पामा पदयात्रा गर्ने गर्दछन् ।

सामतिलिङ गाउँमा २ घन्टाको बसाइ निकै रमाइलो रह्यो । त्यस दौरानमा आदरणिय दाइ बुद्दी झाँक्रीको स्याउ फाराम र त्यहाँ रहेको डोल्पा तेर्छुरोङ्गडुप्दे ध्यान केन्द्र र दुइवटा पौराणिक गुम्बाहरू साम्तिलिङ गुम्बा र रिक्वा गुम्बाहरूको अवलोकन पश्चात हामी त्यस्को भोली पल्ट गुम्बातारा फर्कियौं ।
गुम्बातारामा केही दिन बस्नुपर्यो, किनभने गुम्बातारामा चैती शुरु हुन लागेको थियो । चैती चैत्र महिनामा मनाउने तराली मगरहरूको एक बिशेष महत्व भएको पर्व हो ।
तराली मगरहरूको कुलदेव चोहोपताको भक्तीभावमा समर्पित यस पर्वमा बिशेष गरी ठूलो गाउँ हुनेहरूमा दुई घर नयाँ रुङ्मा र दुइ घर पुरानो रुङमा, अनि सानो गाउँहरूमा एउटा घर पुरानो रुङ्मा र एउटा घर नयाँ रुङ्मा गरेर मनाउने चलन छ ।

नयाँ रुङ्मा वालाहरु बहुमूल्य गरगहना तथा लत्ताकपडामा सजिएका स्थानिय दिदी बहीनीहरू

रुङ्माको दिन बेलुकीपख नयाँ रुङ्मावालाका सबै घरपरिवारहरू पुरानो बहुमूल्य गरगहना तथा लत्ताकपडामा सजिएर पुरानो रुङ्माको छटमा जाने चलन छ । त्यहाँ सबै गाउँलेहरू पनि जम्मा भएर छ्याङ खाने चलन छ । त्यसपछिको दुइ दिन नयाँ रुङमा र पुरानो रुङमाहरूले सबै गाउँलेहरूलाई बोलाएर भोज खुवाउने चलन पनि छ ।

चार दिनको चैती बसाइपछि हामी यलाकोट्, लसी क्याप हुँदै सादुल गुम्बा तथा धार्मिक तिर्थ स्थलमा गयौं । सादुल क्षेत्र काइके गाउँपालिका (तिचुरोङ) क्षेत्रको एतिहासिक महत्व बोकेको पवित्र क्षेत्र हो । यस क्षेत्रमा १३ औं सताब्दीतिर लामा धारछ्योछ्योले तपस्या गरी सिद्दी प्राप्ती गरेको क्षेत्र हो ।

यहाँ बौद्ध तिर्थहरूको सारसंक्षेप पनि रहेको छ । करिब दुई घन्टाको परिक्रमा पश्चात हामी खानी गाउँतिर लाग्यौं । खानी मेरो ससुराल गाउँ हो । ससुराल गाउँमा दुई दिनको बसाइ पश्चात हामी बैजिबारा गयौँ ।

खानी देखी बैजीबारा कारीब २–३ घन्टा लाग्यो। खानीबाट बैजिबारा जाने बाटोबाट पारीपट्टि देखिने गाउँहरू, रुख, गुफा, गुम्बातारा, शहरतारा, साम्तिलिङ, ताराकोट, टुपातारा र रिवा अनि जंगला तथा पुथा हिमाल र धौलागिरी हिमशृंखलाको मनमोहक दृश्यहरू शब्दमा बर्णन गर्न नसकिने थियो । बैजीबारा गाउँ बोन धर्मालम्बीहरूको गाउँ हो ।

न्याचेन रिवोवाल्वार, बन्ठाडा

यस गाउँदेखि आधा घन्टा पर पूर्वतिर न्याचेन रिवोवाल्वार बोन धर्मालम्वीहरूको पवित्र तिर्थस्थल रहेको छ । पूर्वप्रधानपञ्च कर्णबहादुर बिस्टज्युले हामीलाई यसक्षेत्र परिक्रमा गर्न साथ दिनुभएको थियो । बाह्रौं सताब्दीतिर यस पवित्र क्षेत्रमा बोन लामा मेल्हा ध्यान तपस्या गरी सिद्दी प्राप्त गरेको बताइन्छ ।


बोन लामा मेल्हा र गुम्बातारामा आसिन काग्यु लामा नाक्पो जुम्नेबीच भएको शक्ती प्रदशर्नका ढुङ्गे छाप र निसानाहरू प्रष्ट रुपमा हेर्न पायौं । बोन रिवोवाल्वा र बारेस्विस मानवशास्त्री मारिएता किन्डले ‘द बोन ल्यान्ड स्क्याप अफ डोल्पो’ नामक शोध पुस्तकमा विस्तृत रुपमा प्रकाश पारेकी छिन् ।

करिब दुई घन्टाको परिक्रमा पश्चात अन्त्यमा युङ्डुङसुक्चाल बोन गुम्बाको दर्शन गर्यौं । त्यसपछि हामी सरीबार व्याँसी गाउँ पुग्यौं ।

व्याँसी गाउँको शिरमा रहेको सुर्बोछे गुम्बाको दर्शन गर्ने बिचार थियो तर समयको पावन्दीले हामी त्यहाँ जान सकेनौं र हामी ब्याँसी गाउँबाट बन्ठाडा झर्यौं ।

बन्ठाडामा एक रात बसाइपछि हामी भोलीपल्ट बिहान व्यास तपोभूमितिर लाग्यौं । व्यास तपोभूमि काइके गाउँपालिकाभित्र रहेको पवित्र हिन्दू तिर्थस्थल हो । व्यास तपोभूमी व्यासगाड त्रीवेणीको शीरमा रहेको छ ।

खानीबाट बैजिबारा जाने बाटो

यस तपोभूमिमा वेदव्यासले ऋगवेदको संहिता करण गरेको भन्ने तथ्य पाइन्छ । रिग्मो दह यानिकी फुक्सुम्डो तालसम्म वेदव्यास जाने, कन्दमुल र दाडिम खाएर जीवन गुजारेको भन्ने योगी नरहरीनाथले लेख्नु भएको पुस्तकमा भेटिन्छ ।

व्यास तपोभुमीमा स्रावन र भाद्रा पूर्णिमामा श्रद्धालु भक्तजनहरू विशेष गरी धामी झाँक्री मस्टोको घुइचो लाग्ने गर्दछ । करिब १ घन्टाको तेस्रो हिँडाइपश्चात नवनिर्मित धर्माशालामा पुग्यौं । त्यहाँबाट उकालो बाटो शुरु हुन्छ र करिब ३–४ घन्टा उकालो हिँडाइपछि व्यास तपोभूमी क्षेत्रमा पुग्यौं । व्यास तपोभूमिको भ्रमणमा हामीलाई त्यहाँ स्थानीय भाइ गणेष रोकायाले साथ दिए । व्यास क्षेत्रमा हामी जाँदा हिउँले टनक्क ढाकेको थियो ।

चारैतिर सेताम्मे हिमाल अनि बीचमा कैलाश पर्वत आकार त्यस्को मुनिपट्टी एउटा नवनिर्मित मन्दिर असाध्यै मनमोहक थियो । त्यस कैलाश आकारको व्यास हिमालको परिक्रमा गर्न करिब एक घण्टा लागेको थियो । चारैतिर हिउँले ढाकिएकोले गर्दा यात्रा कष्टकर भए पनि तर त्यहाँको मनमोहक दृश्य र धार्मिक तरङ्गले मनमा अदभूत खालको शान्तिको अनुभूति भयो ।

न्याचेन रिवोवाल्वार, बन्ठाडा

केहि बेर बसाइपछि मन्दिर दर्शन गरियो । त्यसपछि हामीले लिएको खाजा खायौं । खाजामा फापरको लगर र आलु अनि खुर्सानी थियो । खाजा खाएको केही बेरपछि हामी बन्ठाडा फर्कियौं । त्यसैको भोलीपल्ट धारापानी गाउँ अनि लावन हुँदै फेरी आफ्नो गाउँ गुम्बातारा फर्कियौं ।

काइके गाउँपालिकाको वडा नम्बर १ को कोलागाउँ र ताचीन गाउँ भने शुरुमा जान पाएको थिएन्, किन भने त्यस क्षेत्र कोरोनाको कारणले वडा शील गरिएको थियो । त्यहाँ अन्य गाउँ तथा वडाहरूबाट आवत जावत बन्द गरेको थियो । तर, जेठ ४ गतेदेखि भने उक्त वडा पनि खुला गरिएको थियो ।

त्यसै अनुरुप जेठ ९ गते हामी कोला र ताचीन गाउँ घुम्न गयौं । गुम्बाताराबाट करिब ३–४ घन्टाको पदयात्रा पश्चात हामी ताचिन गाउँ पुग्यौं । ताचिनमा हाम्रो बास मेरा हितैसी मित्र निमा छिरिङ बुढाजीकोमा भयो । त्यसको भोलीपल्ट सुन्दर र पवित्र धार्मिक स्थल न्याचेन धेचेनपलरी क्षेत्रको भ्रमण गर्यौं ।

ताचिन गाउँबाट ४५ मिनेटदेखि एक घण्टाको उकालो चडेपछि पुगिन्छ मनोरम फाँट अनि सुन्दर र पवित्र धेचेनपलरी क्षेत्र । यस क्षेत्रमा परापूर्वकाल १४ औं सताब्दीतिर आनी उर्गेन छुइकीले ध्यान साधना गर्नुभएको भन्ने तथ्यहरू पाइन्छ ।
टटु उर्गेन तेजिनले निर्माण गर्नुभएको गुम्बा गत २ वर्षअघि मित्र निमा छिरिङ बुढाको पहल र गाउँलेहरूको साथ सहयोगमा निर्माण भएको रहेछ । गुम्बाभित्र ‘ज्याम्पा बुद्ध’को ठूलो मूर्ति पनि रहेको थियो ।

केही बेरको पूजापाठ र दृश्यवलोकन पश्चात हामी ताचिन गाउँ फर्कियौं । खाना खाएको केही बेरपछि फेरि कोला गयौं । कोलामा रहेका गुम्बाहरूको दर्शन पश्चात फेरी त्यही दिन गुम्बातारा फर्कियौं । (लेखक कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष हुन् )

युङ्डुङसुक्चाल बोन गुम्बा
धेचेनपलरी
व्यास तपोभूमि


Facebook Comment


No ads found for this position