संरचना नबनाइ कर्णालीको पर्यटन माथि उठ्दैन

काठमाडौं–एकाएक सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई यसरी आतंकित बनाएको छ कि अब सामान्य अवस्थामा फर्किन दशकौं लाग्न सक्छ । तर, पनि मानव जातिको पहिचान नै संघर्ष र बलिदान हो ।

लकडाउन अन्त्यपछि सायद पहिलो अवस्थामा फर्किन धेरै समय लाग्ने छैन । तर, पनि विश्व अर्थतन्त्रले फड्को मार्न भने, केही समय अवश्य नै लाग्नेछ । विशेष गरि नेपालजस्ता विकासोन्मुख देशका लागि अझै सकस नै पर्नेछ ।

तर, पनि कोरोनाले अवसर पनि उत्पन्न गराएको छ । हिजोका दिनमा गर्न नसकेको काम र कमीकमजोरी औंल्याउँदै नयाँ मार्गबाट विकास निर्माणलाई अगाडि बढाउने र दिगो विकासको लक्ष्यतर्फ उन्मुख हुने अवसर कोरोनाले दिएको छ ।

कोरोनाको महामारी सुरु भएसँगै नेपालमा सबैभन्दा पहिले पर्यटन क्षेत्रमा प्रभाव पर्यो । हजारौं पर्यटकहरु साताव्यापी रुपमै आउने गरेकोमा एकाएक भएका पर्यटकहरु पनि आफ्नो देश फिर्ता भए । विस्तारै केही महिनाभित्रै नेपाली गन्तव्यस्थलहरु सुनसान बन्न थाले ।

भीडभाड हुने क्षेत्र सुनसान हुँदा केही क्षणका लागि शान्तिको अनुभूति पनि भयो होला । तर, समग्रमा पर्यटन क्षेत्रले ठूलै क्षति बेहोर्नुपर्यो । भएभरका होटल व्यवसायहरु बन्द भए, पर्यटकीय गतिविधि बन्द हुँदा पर्यटन मजदुरहरु बेरोजगार बने र अर्बौं लगानी गरेका व्यवसायीहरु आफ्नो व्यवसायमा ताला लगाउन बाध्य भए ।

हामीले आजको छलफलमा कर्णालीको पर्यटन र यसको भविष्यलाई लिएका छौं । नेपालका उपत्यका र पूर्वी क्षेत्रले पर्यटनको क्षेत्रमा फड्को मारिसक्दा पनि कर्णाली सँधै पर्यटककै पर्खाइमा रह्यो । सिमित मात्रामा जाने पर्यटकको पनि बसाइ लामो नहुने भएकाले सोँचेजति कर्णालीको पर्यटनले आफ्नो विकास गर्न सकेन ।

अब कर्णालीको पर्यटनलाई देशको अन्य क्षेत्रजसरी कसरी माथि उकास्न सकिन्छ त ? पर्यटनकै माध्यमबाट कर्णालीको समृद्धि हासिल कसरी गर्न सकिन्छ र त्यो लायक बनाउन के कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा विगत तिन दशक देखि पर्यटन व्यवसायीमा संग्लग्न एवं कर्णाली प्रदेशकाे हुम्लामा जन्मेका पर्यटन व्यवसायी तेन्जीड नोर्बु लामा सँग कुराकानी गरेका छौं ।

बाटो सुधार नभएसम्म पर्यटक आउँदैनन्

लामो समयदेखि कर्णालीलाई पर्यटनका माध्यमबाट माथि उकास्नुपर्छ र यहाँको जीवनस्तर सुधार गर्नुपर्छ भन्ने बहस चल्दै आएको हो । तर, त्यसका लागि हुनुपर्ने आधारभूत कुराहरु के हुन् र ती सुधार गर्नु कत्तिको आवश्यक छ भन्ने कुरा कसैले सोँचेनन् ।

कर्णालीको रोजगारीको ठूलो हिस्सा कालापहाड नै हो । बचेकुचेका युवाहर यार्सा संकलनबाटै जिविकोपार्जजन गर्दै आएका छन् । अहिलेसम्म पर्यटनसँग जोडिएर आफ्नो आर्थिक स्थिति सुधार गरेको एकाधबाहेक अन्य देखिएको छैन ।

तर, असम्भव भन्ने पनि होइन । यसका लाग कर्णालीलाई पर्यटनको मूल धारमा ल्याउन आधारभूत कुराहरु सुधार हुन आवश्यक छ । पहिलो कुरा त सडक नै हो ।

कर्णाली राजमार्ग सञ्चालनमा आएको करिब १४ वर्ष भइसकेको छ । तर, पनि अहिलेसम्म यसको सुधार हुन सकेको छैन ।

अहिले पनि स्थानीयहरु जीवनको अन्तिम श्वास हत्केलामा राखेर यात्रा गर्दै आएका छन् । राज्यले त एकपटक मार्ग खोल्नेबाहेक अरु खासै गरेको देखिँदैन । यतिबेला अब सबैतिर पर्यटन विकासको कुरा आएको छ ।

यदि हाम्रो राजमार्ग मात्रै सुरक्षित हुने हो भने, कर्णालीमा आन्तरिक पर्यटकले नै व्यवसायले फड्को मार्न सक्थ्यो । जुम्ला, मुगु, कालिकोट लगायतका जिल्लामा बाह्रैमास गाडी जाने अवस्था छ । त्यहाँ पनि सडक सुरक्षित नहुँदा पर्यटकहर जान त्रसित भइरहेका छन् ।

यतिबेला कम्तिमा एकोहोरो नै भए पनि सुरक्षित यात्रा गर्न लायकको बनाउने हो भने, दशैं तिहारको अवधिमा दैनिक हजारौं पर्यटकहरु रारा यात्राका लागि जान सक्छन् । हुम्ला र डोल्पाको त कुरै नगरौं । सडकमार्गको पहुँच छैन । हवाइ यात्रा साह्रै महँगो छ ।

सुरक्षित बासको व्यवस्था

यदि सरकारले पदमार्ग मात्रै सुरक्षित बनाउन सक्ने हो भने, एड्भेन्टर टुरिजमका लागि कर्णाली जतिको उपयुक्त स्थान अरु हुँदैन । भौतिक संरचना सुधार भएपछि हामीले पर्यटकका लागि सुरक्षित बासको व्यवस्थापन गर्न सक्नुपर्छ ।

अहिले पनि रारा जाने पर्यटकले राम्रो बास बस्न नपाएको गुनासो गर्दै आएका छन् । यदि पर्यटकको संख्या बढ्दै जान थाल्यो भने राम्रो र गुणस्तरीय बासस्थानको जिम्मेवारी निजी क्षेत्रले लिनुपर्छ ।

छिमेकी पर्यटक लक्षित प्रचारप्रसार

कर्णालीमा आउने अधिकांश पर्यटक धार्मिक पर्यटक नै हुन् । रारा जाने पर्यटक मौसमी हुन् । चैत्र÷बैशाख र असोज कात्तिकबाहेक अरु सिजनमा रारामा आन्तरिक पर्यटकको खासै उपस्थिति हुँदैन ।

हुम्ला हुँदै चीनको मानसरोवर जाने यात्री नेपालगन्ज र सुर्खेत हुँदैन जान्छन् । उनीहरुका लागि लकडाउनपछि हाम्रो गन्तव्यस्थानहरु सुरक्षित छन् है भन्ने सन्देश दिन प्रचार प्रसारलाई व्यापक बनाउनुपर्छ ।

त्यसपछि अहिले हवाइ भाडा केही महँगो पनि छ, त्यसलाई केही हेरफेर गर्न सकिन्छ । मानसरोवर जाने यात्रीलाई त भारत सरकारले अनुदान पनि दिँदै आएको छ । उनीहरुको त्यो सुविधालाई मध्यनजर गर्दै हामीले लकडाउनपछि साता वा १० दिनसम्मको प्याकेज बनाउनुपर्छ ।

यस्तै, जुम्लाको चन्दननाथ पनि प्रख्यात धार्मिक पर्यटकीय स्थल हो । तर, अहिलेसम्म यसको महत्व उजागर गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । त्यहाँ मौकामा पुगेकाहरुले पूजाआजा गर्ने र दर्शन गर्न जानेबाहेक घुम्नकै लागि बाहिरबाट जाँदैनन् ।

अब हामीले यस्ता ठाउँमा पनि पर्यटक आकर्षणका लागि आकर्षक प्याकेजसहितको प्रचार गर्नुपर्दछ । यस्तै, बौद्ध धर्मावलम्वीहरु रहेको चीन र तिब्बतबाट पनि हामीले कर्णालीमा पर्यटक ल्याउन सक्छौं । उनीहरुको आस्थाका ऐतिहासिक गुम्बाहरु हामीसँग छन् ।

त्यहाँसम्म पुग्ने मार्ग र बस्ने बासस्थान सुरक्षित बनाउनेमात्रै हो भने पनि धार्मिक पर्यटकले नै कर्णालीको अहिलेको घाटा पूर्ति गर्न सक्छ ।

यस्तै, अब कर्णालीका पर्यटन व्यवसायीले काठमाडौंका ट्राभल एजेन्सीहरुसँग समन्वय गर्नसक्नुपर्दछ । पोखरा, चितवन र पूर्वी हिमाली क्षेत्र घुम्न आउनेलाई त्यहाँका एजेन्सीमार्फत कर्णालीको महत्व, यहाँका पुरातात्विक स्थान र अनुसन्धानका लागि उपयुक्त स्थानबारे जानकारी गराउनसक्यौं भने, उनीहरुको प्याकेजमा आएका पर्यटकहरु पनि एकपटक कर्णाली हेर्न अवश्य आउनेछन् ।


Facebook Comment


No ads found for this position