चार चरणमा प्रोटोकल बनाए मात्र कर्णाली तथा देशको कोरोना नियन्त्रणमा आउँछ

काठमाडौं–कोरोना महामारीले पूरै विश्व आक्रान्त छ । नेपालमा पनि यो महामारीले भयावह रुप लिँदैछ । सुरुमा दुई जनामा मात्रै देखिएको संक्रमण केही दिनमै नियन्त्रणमा आएको थियो । सरकारले नेपालमा लकडाउन त गर्नसक्यो । तर, भारत हुँदै नेपाल प्रवेश गरेकाहरुलाई व्यवस्थापन गर्न नसक्दा अहिले नेपालमा पनि कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ ।
सरकारले समयमै ध्यान नदिँदा अहिले दैनिक सैयौंको संख्यामा संक्रमित बढ्दै जान थालेका छन् । आखिर सरकार कहाँनिर चुक्यो त । सामान्य विरामी हुँदा पनि उपचार नपाउने नेपालजस्तो देशमा अहिले कोरोना संक्रमितले भरपर्दो उपचार पाउनेमा कुनै आशा छैन ।
अब कसरी कोरोनालाई जित्न सकिन्छ त ? कोरोना संक्रमणको दर उच्च बन्दै गएपछि कर्णालीका जिल्लामा विभिन्न उपकरण सहयोग गर्दै आएका समाजसेवी, कांग्रेस नेता तथा पूर्व सांसद राजीविक्रम शाहसँग आज हामीले कुराकानी गरेका छौं ।

विना योजना सरकार कुदिरहेको छ

दुई जनामा मात्रै संक्रमण देखिएपछि नेपालमा लकडाउन सुरु भयो । लकडाउनसँगै सरकारले नियन्त्रणको योजना पनि ल्याउनुपर्ने हो । तर अहिले ६ हजारको हाराहारीमा पुग्दा पनि सरकारसँग आरटिडी परीक्षण र गोठजस्ता क्वारेन्टाइनमा मान्छे कोच्नेबाहेक अन्य कुनै योजना छैन ।

यतिबेलै सत्ता र कुर्सीकै खेलमा हाम्रो नेतृत्व लीन छ । यतिबेला जनतालाई कसरी यो महामारीबाट बचाउने र उनीहरुको जीवनस्तर कसरी सामान्य बनाउने भन्ने कुनै योजना सरकारसँग छैन । अहिले पनि हामीले योजना अनुसार अगाडि बढ्न सकेनौं भने, पूरै विश्वमा कोरोना नियन्त्रणमा आएपछि पनि नेपालमा संक्रमण रहिरहनेछ ।

अन्य देशहरुले कस्तो अभ्यास गरेका छन् । विज्ञहरुसँग बसेर सरकारले पनि हाम्रो देशको अवस्था र नागरिकको स्थितिलाई बुझेर योजना बनाउने र कार्यान्वयनमा ल्याउनुपर्छ । हजारौं नागरिक अहिले महामारीको त्रासले त्राहीमाम छन् । उनीहरुलाई भरोसा दिन सक्नुपर्छ ।

चारवटा प्राटोकल बनाएर अगाडि जानुपर्छ

छिमेकी देश भारतकै कुरा गर्ने हो भने, पनि उनीहरुले अहिले विभिन्न चरणमा विभाजन गरेर प्रोटोकल लागू गरेको छ । हामीले पनि यसबाट केही सिक्न सक्छौं ।

भटाभट क्वारेन्टाइनमा बस्दा उपचार नपाएकै कारण नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ । सरकारले क्वारेन्टाइन ज्यानमारा होइन कि ज्यान जोगाउने स्थानका रुपमा व्यवस्थित बनाउनुपर्छ ।

मैले गरेको प्रोटोकलको कुरा चारवटा चरणमा विभाजन गरी लागू गर्न सकिन्छ । यसमध्ये पहिलो चरण भनेको होम क्वारेन्टाइन नै हो । अहिले भारतले पनि यसरी नै सुरु गरेको छ । सुरुमै परीक्षण गरेर पोजेटिभ देखिएपछि पहिलो ८ दिनमा घरमै केयर गरे बस्ने व्यवस्था मिलाउनुपर्छ ।

मानिसहरु घरमा बस्दा क्वारेन्टाइनमा भन्दा बढी सचेत पनि हुन्छन् । किनकी उनीहरुलाई घरमा अरुलाई संक्रमण सर्ने चिन्ताका कारण पनि घरमा बस्दा अरु परिवारा सदस्यको सम्पर्कमा आउँदैनन् । अधिकांश ठाउँमा सचेतना अपनाउँदा पहिलो ८ दिनमै निको भएको पनि केसहरु छन् ।

त्यसैले संक्रमण देखिए पनि ८ दिनसम्म आफ्नो घरमै बसेर घरेलु उपचार विधि अपनाउन लगाउनुपर्छ । सबैलाई क्वारेन्टाइन वा अस्पतालमा राख्न सम्भव पनि छैन । सबै संक्रमितलाई अस्पतालमा राख्दा अन्य बिरामीको उपचार हुन सम्भव हुँदैन ।

पहिलो ८ दिनमा पनि निको नभएकालाई मात्र क्वारेन्टाइनमा राखौं । त्यहाँ पनि एक कोठामा दुई जनाभन्दा बढी नराखौं । पहिलो चरणबाटै क्वारेन्टाइनमा जाने धेरै हुँदैनन् । यसो हुँदा अहिले भएका क्वारेन्टाइनमै राख्न सहज पनि हुनेछ ।

क्वारेन्टाइनमा पनि बिरामी भए भने, बल्ल आइसोलेसनमा राख्ने गरौं । मलाई लाग्छ क्वारेन्टाइनमा राम्रो हेरचाह पाए भने, अधिकांश त्यहीबाट निको भएर घर फर्किने चान्स धेरै हुन्छ । केही सिमित व्यक्ति मात्र आइसोलेसनमा जान सक्छन् । आइसोलेसनमा पनि थोरै बिरामी हुँदा चिकित्सकलाई पनि हेरचाह र उपचारको लागि सहज हुन्छ ।

अब अन्तिम भरण भनेको आइसोलेसनमा पनि सन्चो नभएकालाई मात्र भेन्टिलेटर वा आईसियुमा राख्ने गरौं । यी चारवटा प्रोटोकल अपनाउँदा पहिलो तीन चरणमै धेरै बिरामीले कोरोनामाथि जीत हासिल गर्नेछन् ।

चौथो चरणमा पुग्नेको संख्या निकै कम हुन्छ । र अस्पतालमा उपचार पनि सहज हुन्छ । अझै पनि केही ढिला भएको छैन । सबै बिग्रीसकेको छैन । भोली अनियन्त्रितको स्थिति आउनुअघि नै सरकारले विज्ञहरुसँग बसेर यो प्राटोकल अपनाउन सक्नुपर्छ ।

यसरी योजनाबद्ध तरिकाले अगाडि जाँदा सरकारले पूरै देशलाई नै लकडाउन गरी जनताको दैनिकी अस्तव्यस्त बनाउनुपर्ने स्थिति पनि आउँदैन । सामान्य नागरिकलाई काम गर्न दिउँ । काम गर्ने बानीले नै रोगसँग लड्ने शक्ति प्रदान गर्दछ । अहिले सबै प्रदेशका अस्पतालहरु व्यवस्थित नै छन् । तीनलाई केन्द्र मानेर प्रोटोकल लागू गरौं ।


Facebook Comment


No ads found for this position