लकडाउनयता पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो, अझै ७ अर्ब नोक्सानी थपिने

काठमाडौं, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउनयता पर्यटन, होटेल तथा हवाई उद्योगले करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको छ । त्यस्तै, आगामी साउन ७ गतेसम्ममा थप ७ अर्ब नोक्सानी थपिने पनि पर्यटन मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

शुक्रबार पर्यटन मन्त्रालयले लकडाउनयता मन्त्रालयको तर्फबाट भएको कामको विवरण सार्वजनिक गर्दै लकडाउनयता मार्च २४ देखि ३० जुनसम्म २१४ उडानबाट १६,६७२ जना नेपालीलाई उद्दार गरी नेपाल ल्याइएको जनाएको छ ।

त्यस्तै, नेपालबाट १२,४०८ व्यक्ति विदेश गएका र उक्त अवधिमा कुल २६१ उडान भएकोमा नेपाल एयरलाइन्सबाट मात्र ९८ उडान र हिमालय एयरलाइन्सबाट ६२ उडान भएका जानकारी गराएको छ ।

यसका साथै, बन्दाबन्दीको अवधिमा पनि राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कामहरूलाई निरन्तरता दिइएको जानकारी गराइएको छ ।

त्यस्तै, व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रका निश्चित गतिविधिहरू खुला राख्ने निर्णय पश्चात आवश्यक सुरक्षात्मक उपायहरू अबलम्बन गरी अन्य निकायहरूमा निर्माण कार्यलाई पनि निरन्तरता दिइएको जनाएको छ ।

स्वास्थ्य सामग्री अभाव भएको तत्कालीन अवस्थामा विशेष हवाई ढुवानीको व्यवस्था मिलाएर चीनलगायतका देशबाट तत्काल सामग्री आयात गर्न समन्वय गरेको पनि जनाएको छ ।


Facebook Comment


No ads found for this position