लप्सी फेदीदेखी नगरकोटसम्म……

जगबहादुर बुढा

शनिबारको दिन थियो, काठमाडौं बादलले लटरम्म डाकेको थियो । बिहानको खाजा–नास्तापछि करिब सात बजेतिर म सानो भर्याङबाट बाइकमा बौद्ध गेट पुगेँ, त्यहाँ केही साथीहरु कुरिरहेका थिए । हाम्रो पूर्व योजनाअनुरुप ८ बजे बौद्ध गेटमा जम्मा भएर जाने थियो । घडीले करिब ७ ः ५० बजाएको थियो । सबै साथीहरु जम्मा भएको थियौं । तर एक जना साथी आउनु भएको थियो ।
केही बेर कुरेपछि करिब ८ बजे तिर साथी पनि आइपुगे । त्यसपछि हामी जम्मा ८ जना भयौं ।

८ ः १५ बजे हामी एउटा स्कारपियोमा सवार भएर जोरपाटी, थली हुँदै साँखुका लागि हाम्रो गाडी गुड्यो । जोर पाटी कटेपछि होटेल नोर्लिङदेखि थली वरसम्म बीचबीचका बाटोहरु हिलाम्मे थियो । कुनै ठाउँमा बाटो बनाउनका लागि बाटोको छेउछाउमा बालुवा र गिट्टी थुपारेको थियो ।


सायद असारे विकास हो कि या कोभिडको प्रभावले निर्माणमा बाधा पु¥याएको हो ठ्याक्कै भन्न गाह्रो छ । प्रायजसो विकास निर्माणका कामहरु असार महिना मै हुने नेपालको पुरानै रोग हो । तर, पनि यो वर्ष त लकडाउन वा बन्दाबन्दीको कारणले पनि हुनसक्छ । केही बेर हिलाम्मे बाटो छिचोल्दै हाम्रो यात्रा थली हुँदै अगाडी बढिरहेको थियो ।

साथीहरुबीच सुरु भयो, काठमाडौंमा यति सारो बस्ती र जन घनत्व किन होला ? अब त विकेन्द्रीकरण पनि भैसक्यो । अझै पनि यस्तो उकुस मुकुस भन्दै एक जना साथी भन्दै हुनुहुन्थ्यो । अर्को साथीले थप्नुभयो, ‘काठमाडौं पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको राजधानी हो । मौसमको हिसाबले पनि संसारकै सर्वोकृष्ट हावापानी छ, भलै मानिसको चापले प्रदूषण नै भए पनि यहाँको मौसम एकदम राम्रो छ ।’


यस्तै गफगाफ गर्दै हामी साँखु पुग्यौं । साँखु काठमाडौं उपत्यकाको एउटा पुरानो ऐतिहासिक बस्ती हो । यो कुनै समयमा उपत्यकाको एउटा प्रमुख ब्यापारिक नाका पनि थियो । यही बाटो भएर तिब्बतबाट नुन आउने गर्दथियो । साखुँ बजारलाई पार गर्दै हामी लप्सी फेदी पुग्यौं । लप्सीफँेदीमा पुग्दा करिब ९ बजेको थियो । लप्सीफँेदिको पुलमा हामी गाडीबाट ओर्लियौं र हामी लप्सि फेदिको पुलको बाँया पट्टीबाट उकालो चड्यौं र त्यहाँबाट हाम्रो पदैल यात्रा सुरु भयो ।

लब्सी फेदीबाट लब्सी गाउँ बस्ती र खेतको आलीहरुको बाटो हुँदै हाम्रो यात्रा अगि बढिरहेको थियो । स्थानीय बासीहरु कोही रोपाइँ, त कोही घाँसका भारी बोकेका थिए, कोही वस्तुभाउ चराइ रहेका थिए । केही बेरको हिडाइपछि हामी झारसिङ पौवा पुग्यौं ।

झारसिङ पौवाबाट साँखु बजार निकै राम्रो देखिन्थ्यो । झार्सिङ पौवा बजारको बीचमै तीनतिर जाने चोक रहेछ, उत्तरतर्फ हुँदै हेलम्बु, दक्षिणतर्फबाट नगरकोट र पश्चिमतर्फको बाटो भएर साँखु बजार जाँदो रहेछ । तर, हामी भने झार्सिङ पौवाबजारको पश्चिमपट्टीको पैदलमार्ग जंगलको बाटोलाई पछ्याउँदै आहलचौर पुग्यौं ।

आहलचौर निकै राम्रो ठाउँ रहेछ, पिक्निक तथा रिफ्रेश हुनको लागि जाने निकै राम्रो ठाउँ रहेछ । त्यहाँ पुग्दा ११ बजेको थियो र हामी त्यहाँ खानाको लागि रोक्यौं । खानाको लागि केही बेर कुर्नुपर्यो र १२ बजेतिर हामी खाना खान थाल्यौं । लोकल खसीको मासु, लोकल गोलभेँडा दाउरामा पोलेर बनाएको अचार, अनि लोकल काँक्रोको स्वाद अदभूत थियो । खाना खाने होटेलको नाम पनि स्थानीय थियो र खाना पनि स्थानीय नै खुवाउँदो रहेछ ।

खाना खाएर करिब १२ः३० बजेतिर आहालचौरबाट हाम्रो यात्रा अगाडि लम्कियौं । आहालचौरबाट १५ मिनेटको उकालो र फेरि १५ मिनेट तेर्सो हिँडेपछि शिलादेवी विद्यालय, दोक्सान पुग्यौं । त्यहाँ एउटा विदेशी संस्थाले महाभूकम्पपछि पुनर्निर्माणको बेला बनाएको नमुना घरहरुको भौतिक संरचना निकै नै हेर्न लायकको थियो ।

केही बेरको अवलोकनपश्चात हामी फेरि सल्लाको जंगल पछ्याउदै प्रेम डाँडा पुग्यौं । प्रेम डाँडा निकै रमणिय ठाउँ रहेछ । त्यहाँबाट हिमालका दृष्यहरु पनि देखिन्थ्यो रे ! तर वर्षातमा लटरम्म बादलले ढाकेको हुँदा हामीले त्यो देख्न पाएनौं ।

त्यहाँबाट केही ओरालो अनि तेर्सो हिँडेपछि अर्को डाँडा पुग्यौं, त्यहाँ भिउ टावर बन्दै रहेछ । अनि फेरि केही ओरालो र त्यसपछि तेर्सो २० मिनेटपछि हामी कात्तिक्के पुग्यौं । कात्तिके एउटा सानो गाउँ रहेछ । यहाँबाट पनि वारीपारी राम्रो दृष्य देख्न सकिने रहेछ ।

कात्तिकेबाट घुमाउरो रोडको बाटो कतै सटकट (छोटो) बाटो पछ्याउदै करिब दिउँसोको २ बजेतिर हामी हाम्रो अन्तिम गन्तव्य नगरकोट फार्म हाउस पुग्यौं । फार्म हाउसमा केही बेरको बसाइमा चिया, कफि अनि लोकल आरुसँगै मिठो गफगाफपछि त्यहाँका कोठाहरु र वरिपरिको दृश्यावलोकन पछि हाम्रो गाडी ४ बजे आइपुग्यो र हामी त्यहाँबाट हिँड्यौं ।

हाम्रो एकदिने हाइकिङलाई व्यवस्थापन तथा सञ्चालन मेरा हितैसी मित्र तथा रेस्पोन्सिवल ट्रेक्सका सञ्चालक छेवाङ लामाले गर्नुभएको थियो ।


Facebook Comment