काठमाडौं उपत्यकामा चल्न‍ थाले साझा बस

काठमाडौँ — साझा यातायातले बिहीबारदेखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ । सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए । 

लकडाउन पश्चात सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयपछि बिहीबारदेखि ललितपुरको लगनखेलमा गुडेको साझा यातायात बस । तस्बिरः रासस

पाण्डेले साझा यातायात सञ्चालन हुँदै आएका रुटमा २६ वटा बस बिहान साढे ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन हुने बताए । साझाका बसहरु बेलुका ग्यारेजमा आएपछि पूर्ण रुपमा सफा गरिने र बिहान सडकमा निकाल्नु अघि निर्मलिकरण गरिने उनले बताए ।

बस चालक र सहचालकले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गरी सुरक्षा सावधानी अपनाउने पाण्डेले बताए ।

साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ । यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैंले गर्नुपर्ने पाण्डेले बताए । साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउने गरी बस सेवा सुचारु गरेको हो ।

साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सुर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।


Facebook Comment


No ads found for this position