सररकारले लगानीको वातावरण सहज बनाउनुपर्छ

काठमाडौं–लामो समयदेखि लागू भएको लकडाउनका कारण नेपालका औद्योगिक क्षेत्रहरु पूरै ठप्प छन् । चार महिना लामो लकडाउन र कोरोना महामारीका कारण नेपाली औद्योगिक क्षेत्रले यो समयमा काम गर्न पाएनन् ।

जसका कारण उद्योगको २५ प्रतिशत पूँजीमा गिरावट आएको छ ।
केही उद्योगीहरुले पूरै धराशायी भयौं भने पनि विगतको आम्दानीको स्तर हेर्ने हो भने अहिले नेपाली औद्योगिक क्षेत्र मध्यमस्तरमा छ् । पहिलेकै आम्दानीले पनि ६ महिनाजति ब्याकअप धान्नसक्ने स्थितिमा अहिले भने छन् । तर, अझै पनि ६ महिनाजति यही स्थिति रहेमा भने एक वर्षपछिसम्म धकेलिने पनि निश्चित छ ।

अब नेपाली औद्योगिक क्षेत्र बाहिरबाट कच्चा पदार्थ ल्याएर नेपाली बजारका लागि मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन पठाउन नसकेसम्म नेपाली ओद्योगिक क्षेत्रले फड्को मार्ला भनेर भन्ने अवस्था छैन ।

अबको नेपाली औद्योगिक नीति, स्वदेशै रोजगारीका अवसर सिर्जना र आन्तरिक उत्पादनमा कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अध्यक्ष नन्दकिशोर बस्नेतसँग कुराकानी गरेका छौं ।

लगानीमैत्री नीति बनाउनुपर्छ

नेपालमा ओद्योगिक सम्भावना नभएको होइन । हामीसँग कच्चा पदार्थ पनि प्रशस्तै छ । तर, लगानीको वातावरण छैन । लगानी भएको पुँजीको पनि सुरक्षा छैन । जसकारण लगानीकर्ताहरु हौसिएर पैसा खन्याउने स्थितिमा पनि छैनन् ।

नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्नका लागि नीति साह्रै झन्झटिलो छ । सरकारले अब सहज बनाउनुपर्छ । अहिलेको अवस्थामा नेपालमा जति पनि विद्युत् उत्पादन हुँदैछ । अबको ६ महिनापछि खेर जाने स्थिति छ । विद्युत्को सबैभन्दा बढी उपयोग ठूला उद्योगहरुले नै गर्ने हो ।
तर, नेपालमा उद्योगहरु सिमित मात्रामा छन् । अब सरकारले नेपालमा सहजै तरिकाले उद्योग स्थापना गरी उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । जसबाट नेपालको विद्युत् पनि उपयोग हुन्छ र आन्तरिक आम्दानीमा पनि बृद्धि हुन्छ ।

अहिले कोरोना महामारीका कारण धेरै युवाहरु नेपाल फर्किएका छन् । यतै राम्रो रोजगारी पाएमा, उनीहरु पनि विदेश फर्किने मनशायमा छैनन् । लेवरको समस्या पनि हुँदैन । अब सरकारले उनीहरुलाई यतै रोजगारी दिन पनि औद्योगिक नीतिलाई केही सहज बनाउनुपर्छ । विद्युत्को हकमा पनि कम्तिमा १० वर्षसम्म सस्तोमा दिनुपर्छ । जसले गर्दा खेर जाने समस्या पनि हुँदैन र आन्तरिक उपयोग पनि बढ्छ ।

अन्तर्राष्ट्रिय बजारलाई हेर्नुपर्छ

अहिले जसले जति भने पनि नेपालको बजार १० प्रतिशत मात्रै हो । हामीले ९० प्रतिशत अन्तर्राष्ट्रिय बजार हेरेरै उत्पादन गर्ने हो । अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न इच्छुक छन् । तर, उनीहरु वातावरण सहज नभएको भन्दै अड्किएका छन् ।

नेपालमा सबैभन्दा मुख्य त नीति नै अप्ठ्यारो छ । त्यसपछि जग्गा प्राप्तीको मामलामा त झ्न दशक नै लाग्ने स्थिति छ । नेपालमा लगानी गर्न आउने बहुराष्ट्रिय कम्पनीहरुलाई र आन्तरिक कम्पनीलाई पनि सरकारले नै जग्गाको व्यवस्थापन गरिदिनुपर्छ

कामदारको कुरा रह्यो । नेपालमा जति सस्तो कामदार अन्त कतै पाउँदैन् । तर, नेपालमा अनावश्यक हडताल, आन्दोलन हुने प्रवृति बढी छ । कम्पनीलाई पनि कामदारको सेवासुविधासहित सबै सुक्षाको ज्ञारेन्टी गर्ने र सरकारले पनि कामदारले आन्दोलन, अनावश्यक विवाद ल्याउन काम नगर्ने नीति बनाउन सक्यो भने, नेपालमा उत्पादनको ठूलो सम्भावना छ ।

बाहिरका कम्पनीले पनि नेपालमा रह मेटेरियल धेरै भएकोले लगानी गर्न तयार भएको बताउँदै आएका छन् । उनीहरुको यो इच्छाशक्तिलाई हामीले क्याच गर्न सक्नुपर्छ । हामीले नेपालको मार्केट हेर्ने होइन, अन्तर्राष्ट्रिय बजार हेरेर उत्पादन गर्यौं भने, केही वर्षमै नेपालमै लाखौं रोजगारी र बाहिर जाने पैसा पनि रोकिन्छ ।

भियतनाम मोडेलमा जानुपर्छ

हामी भियतनामको उदाहरण लिन सक्छौं । केही वर्षअघिसम्म भियतनामको अवस्था पनि हाम्रै जस्तो थियो । तर, उनीहरुले अब सँधै यसरी त आत्मनिर्भर हुन सकिँदैन । केही फरक तरिका अपनाउनुपर्छ भन्ने उद्देश्यले बाह्य लगानीलाई भित्र्याए । देशभित्र सुरक्षित लगानीको वातावरण बनाए ।
अहिले उनीहरुको पनि ९० प्रतिशत बजार अन्तर्राष्ट्रिय बजार नै हो । हाम्रो सरकारले पनि खाली नारा लगाएर मात्रै हुँदैन । व्यवहारमै उतार्ने हो भने, लगानीमैत्री वातावरण बनाउनुपर्छ । केही झन्झटिला प्रक्रियाहरु छन्, तीनलाई सहज बनाउनुपर्छ । सहज भन्नाले आन्तरिक उद्योग धराशायी नै हुनेगरी पनि होइन । आन्तरिक लगानीलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।

तर, अहिले बाह्य लगानीको लागि मात्र होइन, आन्तरिक लगानीको लागि पनि प्रक्रिया झन्झटिलो छ । पावरमा हुनेले जग्गा सहजै पाउँछन् । तर, पहुँच नहुनेले लगानी गरौं भने पनि नेपालमा जग्गा पाउने स्थिति छैन । अब सबैलाई सहज हुनेगरी नीतिमा सुधार गरिनुपर्छ । नत्र हामी भाषण र नारामै सिमित हुन्छौं ।


Facebook Comment


No ads found for this position