पर्यटन उद्योगलाई पुनर्जीवन दिन बोर्डले गठन गर्‍यो कार्यदल

काठमाडौंः कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरेको छ।

सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताबीच थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सर्भाइभल र रिभाइभलको योजना अगाडि ल्याएको जनाएको छ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित संघसंस्था एवं अग्रज पर्यटन व्यवसायीसमेतलाई सल्लाहकारका रूपमा समेटी बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ।

महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायीलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डको भनाइ छ।

कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनी अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी आफ्ना सुझाव दिनेछ। सोअनुसार सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पुर्‍याउने जनाइएको छ।

उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निराश हुँदै गएका व्यवसायी तथा मजदुरलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने मार्ग पहिल्याउन सहयोग गर्नेछ। यस कार्यका निम्ति सम्पूर्ण पर्यटन क्षेत्रका व्यवसायी तथा सरोकारवालालाई सक्रिय भई सहयोग गर्नसमेत बोर्डले हार्दिक अपिल गरेको छ।


Facebook Comment


No ads found for this position