पर्यटकीय नगर पोखरा क्षेत्रमा चहल पहल सुरु

दीननाथ बराल

पोखरा क्षेत्रमा पनि बिहीबारदेखि चहल पहल सुरु भएको छ । कोरोना भाइरसको प्रभावले गर्दा पोखरा क्षेत्रको व्यपार व्यावसाय प्रभावित भएको अवस्थामा ६ महिनापछि लामो दूरीका सार्वजनिक यातायात सेवा सञ्चालन भएसँगै पोखरा क्षेत्रमा समेत चहल पहल सुरु भएको व्यवसायीहरु बताउँछन् ।
सरकारले लामो दूरीका सार्वजनिक यातायात सेवा सञ्चालनको अनुमति दिएसँगै बिहीबारदेखि फाट्टफुट्ट मात्रमा लामो दूरीका सवारी साधन सञ्चालन भएसँगै पोखरामा पनि चहल पहल सुरु भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । उनले भने, “व्यवसायीको दवावमा परेर सरकारले लामो दूरीका सवारी साधन सञ्चालनको अनुमति दिएको छ, यद्यपी कुन कुन जिल्लामा जाँदा कस्तो रणनीति अपनाउने, आम सेवाग्राही र निजी क्षेत्रको भूमिका प्रस्ट आउनु पर्छ ।” सरकारले आवश्यक स्वास्थ्य सामग्रीको राम्रोसँग गुणस्तर मापन गरी आम उपभोक्ता र निजी क्षेत्रलाई विस्वस्त पार्नुपर्ने उनले बताए ।
आन्तरिक हवाई उडान, होटल तथा रेष्टुराँ र लामो दूरीका सार्वजनिक यातायात सेवा पूर्णरुपमा सञ्चालन नभएसम्म बजारमा सोचे अनुरुपको कारोबार नहुने अध्यक्ष अधिकारीले जनाए । अझै पनि केही व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको अध्यक्ष अधिकारीले बताए । पीसीआर परीक्षणको नतिजा छिटो छरितो र निजी अस्पतालमा पनि ल्याव सञ्चालन गर्न दिनु पर्ने उनले बताए । सरकारले अझै केही नीति स्पष्ट ल्याउन नसक्दा व्यवसायीहरु अन्योलमा परेको अध्यक्ष अधिकारीले बताए ।
असोज १ गते विश्वकर्मा पूजा समेत भएकोले बिहीबार बजारमा चहल पहल सुरु भएको थियो । बिहीबार करिब २० वटा यात्रु बाहक बस सेवा कास्की बाहिर गएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

उनले भने, “ आज हाम्रा धेरै व्यवसायीहरुले विश्वकर्मा पूजासहित केही मात्रमा सञ्चालनमा आए पनि शुक्रबारदेखि यात्रुको मागअनुसार बस सेवा सञ्चालन गर्नेछौं ।” पोखरादेखि महेन्द्रनगर, पोखरा धरान, पोखरा काकरभिट्टा, पोखरा धनगढी, पोखरा काठमाडौं, पोखरा चितवन, पोखरा बुटवललगायतका क्षेत्रमा सेवा सञ्चालन हुने उनले जनाए । चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क, न्यूनतम दुई मिटरको दूरी कायम गर्ने, ५० प्रतिशत भाडा दर बढाउने, ५० प्रतिशत सिटमा मात्र यात्रु बोक्ने, गाडीमा सेनिटाइजरको व्यवस्था गरिएको र गाडीको डिसइन्फेक्सनको व्यवस्थासमेत गरिएको अध्यक्ष केसीले जनाए ।
नेपाल सरकारले यसअघि असोज ५ गतेदेखि मात्र हवाई उडान सञ्चालनको अनुमति दिने पूर्व घोषणा गरे अनुसार एयरलायन्स कम्पनीहरुले त्यही अनुरुप बुकिङसहितको तयारीमा जुटेकाले असोज एक गते पोखरा क्षेत्रमा हवाई उडान हुन सकेन् । शुक्रबार पनि अन्यौलको अवस्था छ भने असोज ५ गतेदेखि नियमित रुपमा पोखराबाट हवाई उडान हुने पोखरा विमानस्थल कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा भरतपुर, पोखरा मुस्ताङलगायतका क्षेत्रमा बिहीबारदेखि नै हवाई सेवा सञ्चालनका लागि आफूहरुले पोखरा विमानस्थल र धावन मार्ग तयारी अवस्थामा राखेको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाकुमार गुरागाँइले बताए । पोखरा क्षेत्रमा बिहीबारदेखि पर्यटकीय गतिविधि सुरु भएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । होटल तथा रेष्टुरेण्ट सञ्चालन हुन थालेसँगै पोखरामा चहल पहल हुने भएको उनले बताए ।


Facebook Comment


No ads found for this position